
दमौली/व्यास नगरपालिकाले आफ्नो क्षेत्रबाट प्रकाशन तथा प्रसारण हुने १४ सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराएको छ ।
सञ्चारमाध्यमहरुले व्यास नगरपालिकाले पाउँदै आएको आर्थिक सहयोग एक आर्थिक बर्ष भन्दा बढी काटेको नगरपालिकाले भदौबाट सो सहयोग पुनः सुचारु गरेको हो ।
सञ्चारगृह र व्यास नगरपालिका बीच सो लोककल्याणकारी विज्ञापन दिने लिने सम्झौता गर्न आव्हान गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले सञ्चार माध्यम स्वतन्त्र, निष्पक्ष र स्वाभिमानी हुनुपर्ने धारणा राखेका थिए । सञ्चार माध्यम र अदालत बलियो भयो भने लोकतन्त्र बलियो हुने विश्वासमा बन्दाबन्दीले आर्थिक संकटमा परेका सञ्चारगृहहरुलाई सानो सहयोग गरेको नगरप्रमुखले बताए ।
विगतलाई स्मरण गर्दै सञ्चार माध्यम र सञ्चारकर्मिको सवलीकरणबाटै सत्ता र शासकलाई करेक्शन गर्न सकिने विश्वास आफूले लिएको, प्रतिषोध नलिएको धारणा नगरप्रमुख न्यौपानेको थियो । व्यास नगरपालिकाको र समग्र जिल्लाको अवस्था, परिस्थिति र वस्तुस्थिति शब्दचित्रमा उतार्ने गरी खोज मुलुक अनुसन्धनात्मक समाचार सम्प्रेषण गर्न नगरप्रमुख न्यौपानेको विशेष आग्रह थियो । दमौलीबाट प्रकाशन तथा प्रशारण हुने सञ्चार गृहका प्रतिनिधि तथा सञ्चारकर्मिको सहभागिता रहेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सभापति ओमकार आचार्यले व्यास नगरपालिकाको भावनालाई कदर गर्ने धारणा राख्दै सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।