राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ । यो संगै देशका सबै जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र निर्माणका लागि विवरण भर्न र राष्ट्रिय परिचयपत्रको नम्बर प्राप्त गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको भिड बढेको छ । अवस्था यस्तोसम्म छ कि विहान ७ बजे परिचयपत्र सम्बन्धि विवरण भर्न लाममा बसेका बृद्धबृद्धा पालो नपाएर फर्केका छन् ।
दमौली आसपासका बृद्धबृद्धा त पालो नपाएर घर फर्के तर ऋषिङ, देवघाट वा घिरिङबाट आउने उनीहरुको हालत कस्तो भयो होला ? हामी अनुमान मात्र गर्न सक्छौं । राज्यले निःशुल्क दिने भनेको राष्ट्रिय परिचयपत्र पाउन उनीहरुले भोग्नु परेको सास्ती , खर्चनु परेको समय र रुपैयाँको हिसाब सायद गर्न सम्भव छैन । राज्य एकातिर जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा सिमान्तकृत नागरिकको सम्मान गर्ने भन्छ । अनि अर्काेतिर उनीहरुलाई सास्ती दिनुमा रमाउँछ । सरकारले निःशुल्क दिन्छु भनेको कार्ड बनाउन कम्प्युटर कपि चाहिने भनिएको छ र तनहुँ जिल्ला प्रशासन कार्यालय छेउमा खुल्लमखुल्ला एउटा फर्म भरेको दुइसय असुल गरिएको छ । तर विडम्बना हाम्रो राज्य संयन्त्र मौन छ, अझ लुटको साक्षी बनिरहेको छ ।
अझ दुःखद आश्चर्य के छ भने हामी जनताका प्रतिनिधि हौं भन्नेहरुको ध्यान घण्टौं घाममा उभिएर पनि पालो नपाएर फर्कने ति वृद्धामा गएन । मत माग्न गोडामा ढोग्न पनि तयार हुनेहरु न त भोकभोकै उभिँएका बृद्धबृद्धालाई ढाडस दिन पुगे, न भोकतिर्खा लागेको सोधे बरु एक अभियन्ता उनीहरुको भोक प्यास मेटाउन पुगे । हाम्रा राजनैतिक दलका नेताहरुलाई यसले थारै पनि लज्जित बनाएको देखिएन । बृद्धबृद्धाले भोग्नु परेको दुःखले उनीहरुलाई छोएको देखिएन । निर्वाचनका बेला आकाश पाताल जोडने गफ दिने नेताहरु अनसन चौतारी छेउ वा अन्त कतै आफ्नै दलका नेता वा अन्य दलका नेताको कुुरा काट्नमा मग्न भए । केही मिटर पर रहेको प्रशासन कार्यालय पुगेर आफ्ना बाबुआमा सरहका बृद्धबृद्धाको सास्ती कम गर्न अपनाउन सकिने उपाएका बारेमा प्रमुख जिल्ला अधिकारीसंग छलफल र परामर्श गर्ने फुर्सद निस्केन ।
मुखले हामी जेष्ठ नागरिकको सम्मान गर्छाै भनेर मात्र पुग्दैन साँच्चै उनीहरुको सम्मान गर्ने हो भने परिचयपत्र लिने कामलाई सहज बनाउनु जरुरी छ । उनीहरुले भोगेको दुःखमा समानुभूति जाग्न सकेमा सहज बनाउने अनेक उपायहरु निस्कने छन् । केवल खाँचो छ उनीहरुको दुःखमा समानुभूति राख्ने राजनैतिक र प्रशासनिक नेतृत्वको ।
वृद्धवृद्धा तथा अपाङ्गको दुःखमा समानुभूति राख -सम्पादकीय
previous post