हिजो पुष १४ गते स्वर्गीय राजा बिरेन्द्रको जन्म जयन्तीको दिन । यदि नेपालको इतिहासमा २०५८ जेठ १९ को कहालिलाग्दो दिन नआएको भए आज राजा विरेन्द्र ७६ वर्ष पुरा गरेर ७७ वर्षमा लागेको दिन हुने थियो । २००२ साल पुषको १४ गते जन्मिएका राजा महेन्द्रको जेठो छोरा विरेन्द्रले २०२८ सालमा नेपालको राजगद्दि सम्हाले । राजा बनेको ३ दशक पछि अर्थात् २०५८ सालमा नेपालको इतिहासमा त्यो घटना घट्यो, जसको कसैले सपनामासम्म पनि कल्पना गरेको थिएनन् । नेपालको तत्कालिन राजा विरेन्द्रको परिवारको एक एक सदस्यलाई छानी छानी मृत्युको घाटमा उतारीयो । एउटै कोठामा रहेका अरु व्यक्तिहरुलाई खरोच सम्म पनि नआउँदा विरेन्द्रको परिवारको एकएक सदस्य गोलीको निशाना बने । दोष कसलाई लगाईयो उनै राजा विरेन्द्रको छोरा दिपेन्द्रलाई । नसालु पदार्थको सेवन गरेर आफ्नै परिवारको हत्या गरेको आरोप लगाइयो । कस्तो पत्याउनै नसकिने झुट । नसामा चुर भएको व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पनि एउटाको परिवारै सखाप हुने, अरुलाई चुईक्कसम्म पनि नहुने हुन्छ ? वाइयात कुरा । ल एकछिनलाई मानी दिऊँ दिपेन्द्रले नै आफ्नो बंश नास गरे । त्यसो भए स्वयम दिपेन्द्रको हत्या कस्ले ग¥यो ? यस्लाई पनि यसरी मानि दिऊँ आफ्नै परिवारको हत्या गरिसकेपछि पश्चातापमा डुवेर उनले आफैले आफैलाई सिध्याए । तर यदि त्यसो हो भने स्वयम् दिपेन्द्र नै नरहेपछि पनि रारामा हेलिकप्टरहरु कसरी डुब्यो ? यही एउटै कुराबाट पनि थाहा हुन्छ कि दरबार हत्या काण्ड दिपेन्द्रले घटाएको घटना हुँदै होइन । यो स्पष्ट रुपमा विदेशी शक्तिको इशारामा घटेको घटना हो । विदेशी शक्तिको इशारामा घटेको घटना यो मानेमा कि भलै त्यति बेला माओवादी विद्रोह चर्किएको अवस्था थियो । तर पनि हजारौं सैनिकको सुरक्षा घेरामा बसेको राजपरिवारलाई सिद्धयाउने आँट र हिम्मत कुनै नेपालीमा पनि थिएन त्यति तागत स्वयम माओवादीसंग पनि थिएन, तैपनि घटना घट्यो । नेपालको इतिहासमा तत्कालिन पुस्ताले विर्सनै नसक्ने एउटा कहाली लाग्दो घटना र ती घटनाको दस्तावेजहरु यसरी बन्द भए मानौं, विरेन्द्र राजा नभएर कुनै दुरदराजको एक आमनागरिक थिए । तत्कालिन एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रीत दाशढुङ्गामा जीव दुर्घटना भएर मृत्यू हुनु, ड्राईभर अमर लामा मात्र बाँच्नु र पछि उनको पनि रहस्मय हत्या हुनु, घटनाको स्पष्ट छानविन नहुनु, त्यसै त्यसै सेलाएर हराउनु । मदन भण्डारीको दुर्घटना र दरबार हत्या काण्ड यी दुवै उतिनै सुनियोजित तरिकाले कार्यान्वयन गरिएका नेपालको इतिहासका डरलाग्दा पाटाहरु हुन् । जसको वास्तविक रहस्य अब सायद कहिल्यै खुल्ने छैन ।
मैले यति कुरा भन्दै गर्दा मेरो आलेख पढ्ने पाठक बर्गलाई म राजसंस्था वादी रहेछु भन्ने भ्रम पनि पर्न सक्दछ । तर यथार्थ त्यो होइन । प्रत्येक नेपालीको मनमा भए जस्तै मेरो मनमा भएको जिज्ञासा र आफूलाई हो भन्ने लागेको कुरा मात्रै अभिव्यक्त गरेको हुँ र मलाई राजसंस्थाको पृष्ठभूमि जोड्न किन मात्रै लागेको हो भने, खै किन हो, आज मलाई तुलना गर्न मन लाग्यो, नेपालको वर्तमान शासन व्यवस्था र राजसंस्थाको रहँदाको शासन व्यवस्था बीच ।
दरबार हत्याकाण्ड पश्चात ज्ञानेन्द्र राजा बने । तर छोटो समयमा नै उनले शासनसत्ता जनतालाई सुम्पिदिए । त्यसपछि शुरु भयो नेपालमा गणतन्त्रको खेल । आजको मितिसम्म आईपुग्दा हामीले गणतान्त्रिक शासन व्यवस्थाको अभ्यास शुरु गरेको पनि डेढ दशक भै सकेको छ । तर अझैसम्म पनि यो शासन व्यवस्था सफल रुपमा स्थापित भै सकेको छैन । बरु उल्टै आमनागरिकमा गणतान्त्रिक शासन व्यवस्थाप्रति नै शंका उत्पन्न भैरहेको अवस्था छ । राजनीतिक लुछाचुडी र भागबण्डाको भुमरीमा नेपाल राज्य कहाँ छ भनेर खोज्नु पर्ने अवस्था आएको छ । कहिले काही मनमा प्रश्न आउँछ, के नेपालमा राजसंस्था रहिरहेको भए राजा विरेन्द्र आजसम्म पनि जिवितै भएको भए नेपालको यस्तै दुर्दशा हुन्थ्यो होला त ?
हामीले जुनसुकै शासन व्यवस्थाको अभ्यास किन नगरौं, तर इतिहासलाई भुल्ने गल्ति कहिल्यै गर्न हुँदैन । आज नेपालमा राजसंस्था नरहेपनि, हिजो राजसंस्था रहेको अवस्थामा प्रत्येक नेपालीको मनमा राजसंस्था र राजपरिवारप्रति सम्मान थियो । एउटा आस्था थियो, विश्वास थियो । राजा भनेको राज्यको अभिभावक हो भन्ने भावना थियो, भरोसा थियो । आजको शासन व्यवस्थाप्रति न त नागरिकको भरोसा छ, न त सम्मान । राजालाई फ्याकेर आफ्नो अभिभावकत्व सुम्पिएको नेताहरुलाई देखेर नाँक खुम्च्याउँछन् नागरिकहरु । सुन्दा अनौठो लाग्छ तर सुरक्षाकर्मि नलिई हिड्ने हो भने कति नेतालाई त जनताले छाला काढ्छन् । यस्तो छ, अवस्था । हिजो राजा हुँदै गर्दा हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ भन्दै नारा लगाउँथे नेपाली जनताहरु । आज कुनै नेताको लागि लगाउँछन् यस्तो नारा ? अहँ कसैको लागि लगाउँदैनन् । नारा होइन, मेसो मिले, जुत्ताको माला लगाईदिन चाही बेर लगाउँदैनन् । अब यसो सोंचौं न, आखिर नेपाली जनताले के पाए त राजा फालेर ? एउटा बढे राजा फालेर हजारौं छोटे राजाहरु पाइयो , त्यति नै होइन र ?
हिजो नेपालको राजा रानी विदेश भ्रमणमा जाँदा विदेशी राज्यप्रमुखहरु एयरपोर्टसम्मै लिन आउँथे । राजकीय सम्मानका साथ स्वागत गर्थे । कत्रो शान थियो नेपालको । आज छिमेकी भनिने मुलुकको जोगि र कलाकारहरु नेपालको मन्त्री भेट्न आउँछन् । लम्पसार पर्दछन्, नेपाली मन्त्रीहरु तिनको अगाडि । खोइ नेपालको त्यो शान, त्यो सम्मान, त्यो पहिचान जुन राजा हुँदा थियो । खोई कहाँ छ आज ? एकादेशको कथा भयो ।
राजा विरेन्द्र मारिनु, ज्ञानेन्द्रलाई गद्दी त्याग्न बाद्य पािरनु र गणतन्त्र घोषणा गरिनु अनि गणतन्त्रको नाउँमा यो मनपरी तन्त्र, लुट तन्त्र हो न हो, यी सबै कुनै विदेशी शक्तिको इशारामा भैरहेका घटनाहरु हुन्, जो नेपाललाई आफ्नो क्रिडा स्थल बनाउन चाहन्छन् । हाम्रो अहिलेको गणतान्त्रिक नेताहरुले जति नै गणतन्त्रको मन्त्र जपे पनि तिनै राजाले जोगाएर राखि दिएको देशलाई लुट्ने भन्दा बाहेक अरु के नै पो गरेका छन् र ? राजनीतिक शक्तिहरुले आजसम्म एउटा मिटिङ्ग गरेका छन्, देशलाई कसरी अगाडि बढाउने भनेर ? एउटा नयाँ दृष्टिकोण दिन सकेका छन् ? एउटा गतिलो अवधारणा अघि सारेका छन् ? एउटाले अर्कोलाई गालि गर्ने भन्दा बाहेक अरु के चाहिँ नापेका छन् त कुन चाही नेताले ? देशमा यदि राजा भैराखेको भए यिनीहरुले यसरी मनपरी सक्थे होला त ? देशको मायाँ यदि कसैलाई हुन्छ भने त्यो राजालाई मात्र हुन्छ भनेको साँच्चै नै हो रहेछ जस्तो लाग्न थालेको छ अचेल । सानो सानो कुरामा पनि झगडा ग¥याछ । निहूँ खोज्या छ, सबै बराबर हो भन्याछ । त्यति भएपछि कस्ले कस्लाई टेर्नु ? यदि राजा भएको भए त राजाले भनेपछि मानि पो हाल्थे कि !
अब अहिले तातिएको एमसीसीकै कुरा गरौं न । कोही जसरी पनि पास गर्नु पर्छ भनेर लागि परेका छन् । कोही हुँदैन भन्दै छन् । जनता एकहोरो विरोध गरिरहेका छन् । तै पनि नेताहरु सित्तैका पैसा छाड्नु हुन्न भन्न छाड्दैनन् । अमेरिकाले दिने त्यति पैसाको लागि हामीले यत्रो रोईलो गर्नु पर्ने हो त ? हाम्रो हैसियत यति तल गिरी सकेको हो त ? के अब नेपाल र नेपालीको हैसियत भनेको पचास मिलिएन डलर मात्रै हो ? के राजसंस्था रहि रहेको भए, राजाले पनि पचास मिलियन डलरको लागि यस्तै रोइलो गर्थे होला त ?
नेपालमा फेरी राजसंस्था फर्केला नफर्केला । गणतन्त्र सफल होला नहोला । त्यो भविष्यले नै बताउला । तर आजकै मितिसम्म हेर्दा राजसंस्था फालेर त्यस्तो ठूलो र गतिलो उपलब्धि केही हासिल गरे जस्तो लाग्दैन । अब त राजालाई सम्मान गरेर बोल्दा पनि कारवाहीम परिन्छ कि भन्ने डर भएको समाजमा छु अहिले । त्यसैले तिमी भन्न चाहें । विरेन्द्र २०५८ साल जेठको १९ गते तिमी नारायणहिटीमा हुनु नेपालको लागि दुर्भाग्यको आभाष भैरहेको छ । तिमी किन त्यो एक दिन कतै घुम्न निस्किएनौं । आज तिमी भैराखेको भए, सायद देश अर्कै अवस्थामा पो हुन्थ्यो कि ?