एउटा विद्यालयमा आवश्यक भौतिक सुविधाहरु के के हुन् ? सुविधा सम्पन्न भवन स्वच्छ पिउने पानीको व्यवस्था, सफा शौचालय, चमेना, कम्प्यूटर प्रयोगशाला, विज्ञान प्रयोगशाला आदि । गहन र विस्तृत रुपमा सूची बनाउँदै जाने हो भने विद्यालयमा आवश्यक भौतिक सुविधाको सूचि लामै बन्न जान्छ । प्राथमिकताको आधारमा कुन सुविधा कति आवश्यक भनेर बर्गिकरण गर्नु भने अलग कुरा हो । जस्तो कि दैनिक पठन पाठनको क्रियाकलाप सञ्चालनको लागि न्यूनतम सुविधासम्पन्न भएको कक्षाकोसम्म अभाव भएको विद्यालयमा कम्प्यूटर प्रयोगशाला, विज्ञान प्रयोगशालाका कुराहरु अतिरिक्त सुविधा अन्तरगत पर्न सक्दछन् । पानीकै हाहाकार भएको क्षेत्रमा जस्तो भएपनि पानी हुनु प्रथम आवश्यकता हुन सक्दछ, सफा र स्वच्छ त्यसपछि सोचिने कुरा हो । डेस्क बेञ्चसम्म पनि गतिलो नभएको विद्यालयहरुमा कमसेकम राम्रा डेस्कबेञ्चको व्यवस्था गर्नु पहिलो आवश्यकता । पंखाका कुराहरु, आधुनिक बसाई व्यवस्थापनका कुराहरु बल्ल त्यसपछि क्रमिक रुपमा सोचाईमा आउँछन् । जे होस् भनाईको तत्पर्य चाही के हो भने विद्यालयमा धेरै कुराहरुको आवश्यकता हुन्छ । कुन कति महत्वपूर्ण छ भन्ने कुरा चाहि विद्यालयको अवस्था परिवेश आदि सबै कुराको अध्ययन पश्चात निर्धारण गरिने कुरा हो । विद्यालयमा विद्यार्थीहरुको लागि आवश्यक सेवा सुविधाहरुको कुरा गर्दै गर्दा मैले यो आलेखमा उठान गर्न चाहेको विषयवस्तु चाही खेल मैदानको बारेमा हो । खेलमैदान विद्यालयमा आवश्यक मात्र होइन, अतिआवश्यक कुरा हो । तर आजको मितिसम्म पनि खेलमैदानलाई विद्यालयको आवश्यकताको रुपमा हेर्न सकिएको छैन । थप सुविधाको रुपमा हेर्ने गरिएको छ । के साँच्चैनै खेल मैदान आवश्यकता भन्दा पनि सुविधा मात्र हो त ? विद्यार्थीहरुको सर्वाङ्गीण विकाशको लागि खेल मैदान नभएपनि हुन्छ त ? खेल मैदान भनेको भएपनि हुने, नभएपनि हुने चल्ने आवश्यकता हो त ? एउटा विद्यालयमा सुविधा सम्पन्न भवन ! सफा सौचालय, स्वच्छ पिउने पानीको जति आवश्यकता छ, त्यति नै आवश्यकता खेलमैदानको छैन त ? यस पटक यही विषयमा केही तर्क गरौं । एक पटक मेरो आफ्नै विद्यालयमा एक जना प्राथमिक तहको विद्यार्थीले गरेको प्रश्नमा मैले अनुत्तरित हुनु प¥यो । हिउँदको समयको कुरा हो, साना कक्षाको (४, ५) केही विद्यार्थीहरु ५÷७ जनाको समूह बनाएर गुच्चा खेल्दै थिए । उनिहरु विद्यालय आउँदा पनि घरबाटै गुच्चा बोकेर आउथे र मौका मिल्ना साथ खेली हाल्थे । केही दिनदेखि मैले यो कुरा विचार गरिहेको थिएँ । तर बच्चाहरुको खेल्ने उमेर हो, खेलुन् न त ! भनेर केही भनिन । पछि पिरियड पिच्छे, दुई मिनेट शिक्षक आउन ढिला भयो कि, गुच्चा झिकि हाल्ने, मौका मिले कक्षा मै पनि खेली दिने गर्न थालेपछि, एक दिन मैले विद्यार्थीहरुलाई गुच्चा खेल्दा खेल्दै गुच्चा जफत गरीकन हप्काएँ । खल्तिमा गुच्चा लुकाएकाहरुको पनि मागें । गुच्चा फिर्त नहुने र अब खेलेको देखेमा जरिवाना लाग्छ भनेर भनें । अरु चुपचाप बसे । तर एकजना विद्यार्थीले सोध्यो कि त्यसो भए के खेल्ने त सर ? खेल्ने ठाउँ पनि गतिलो छैन, अरु खेल्ने कुरा पनि छैन, चुंगी खेल्दा पनि गालि गर्नुहुन्छ, गुच्चा खेल्दा पनि कराउनु हुन्छ । विद्यार्थीको यो प्रश्नबाट म अनुत्तरित भएँ । साँच्चै मसंग यो प्रश्नको उत्तर थिएन कि उनिहरुलाई ‘खेल’ भन्ने चाही के हो ? उनिहरुको खेलकूदको आवश्यकता पुरा गर्नलाई हामीले विद्यालयको तर्फबाट थप पहल त केही पनि गरेका थिएनौं । त्यसमाथि उनिहरुले नै सिर्जना गरेको खेल माथि पनि हामी बन्देज लगाउँदै छौं भने साँच्चै नै उनिहरुले खेल्ने चाही के हो त ? अनुत्तरित भैरहेकै अवस्थामा धेरै खेल्दा पढाई विगार्छ, ठिक्क मात्र खेल्नु भोलिबाट घरमा मात्रै गुच्चा खेल्नु, विद्यालयमा नल्याउनु भन्ने लाचार निर्देशन रुपी अपिल गरेर म त्यहाँबाट उम्किएँ । पछि मैले विद्यालयमा व्यवस्थापन समक्ष पनि यो कुरा उठाएको थिएँ । त्यहाँ पनि खेलकूदको कुरा आवश्यकता भन्दा पनि सुविधाको कोटिमा परेर हो या विद्यालयसंग प्रयाप्त बजेट नभएर हो, त्यो कुरा त्यसै सेलायो । आज पनि हाम्रा बाबुनानीको पाईन्टको खल्तीमा गुच्चाको छ्याइ छ्याई आवाज सुनिन्छ । खेल्दाखेरी उनिहरु लुकेझै गर्दछन् । म नदेखे झै गर्दछु ।
सुविधा सम्पन्न विद्यालयका शिक्षक अभिभावकहरुलाई यो कुरा सुन्दा हाँसो उठ्न पनि सक्दछ । तर अधिकाँशतः धेरै विद्यालयको वास्तविकता र बाद्यता हो यो । बर्षै पिच्छे जिल्लामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुन्छ । हाम्रो विद्यालयले सहभागिता जनाउन नसकेको कति बर्ष भयो गन्न पनि छाडि सकें, दौडको एक दुई विधा छोडेर कार्यक्रम हुँदा हेर्न जान्छु, वैराग लागेर आउँछ । सहभागि विद्यार्थीहरुको प्रस्तुती देख्दा उनिहरुमा अभ्यास र प्रयाप्त प्रशिक्षणको अभाव प्रष्टै देखिन्छ । जे जति गरे, त्यो पनि विद्यार्थीहरुको आफ्नै जोडबलले गर्दा मात्र हो भन्ने कुरा त्यहाँ हेर्न पुग्ने प्रायः सबैले महसुस गरेका हुन्छन् । यो बाबुलाई, नानीलाई गाईड गर्ने हो भने यस्ले केही गर्छ भनेर तारीखसम्म पनि गरिदिन्छन् । तर विद्यालयमा खेलकूदको अवस्था सुधार्नु पर्छ भनेर पहल गरिदिने चाही कोही पनि हुँदैन । न त आमअभिभावक, न त मञ्च आशिन अतिथिगण नै । कस्तो विडम्बना ।
हाईलेभल एथलेटिक्स, स्वीमिङ, साईकलिङ यी त अलि महंगो खेलहरु भए । यस्तो खेलको सुविधा उपलब्ध गराउनु हरेक विद्यालयको वसको कुरा नहुन सक्दछ । तर कटुसत्य के हो भने हाम्रो धेरै विद्यालयको नानी बाबुहरुले अझै पनि फुटबल, भलिबल भनेको किताबै खेलिरहेका छन् । घरतिर व्यवस्था गरेर खेल्नु अलग कुरा । तर स्कूलमा चाही किताबमै हो । एकाध विद्यालयमा स्पोर्टस वीक भनेर एक हप्ता छुट्टयाईन्छ, त्यसमा पनि घरैतिर खेलिराखेका टाठाबाठाले मौका पाईहाल्छन् । अरु त घाम ताप्यो, थपडी बजायो बस्यो । तीनसय पैसठ्ठी दिनमा एक हप्ता ेखेलायो, बर्षभरि चुपचाप । पढ्ने कुरा चाही २४ घण्टामा दैनिक १८ घण्टा घोटाउनु पर्ने हामीलाई, खेलकुदको कुरा चाही ना बाबा ना, पढाई विगार्छ । पढे नम्बर आउँछ, खेलेर पास भईन्छ ?
बालबलिकाहरुको सर्वाङ्गिण विकासको लागि खेलकूद अपरिहार्य कुरा हो, उनिहरुको शारीरिक मात्र होइन, मानसिक, सामाजिक र संवेगात्मक विकासमा पनि खेलकूदले धेरै महत्व राख्दछ । यो प्रमाािणत तथ्य हो । खेलकूदले पढाई विगार्दैन । बरु झनै सहयोग गर्दछ । नियम पूर्वक अभ्यास र सही निर्देशनको भने आवश्यकता पर्दछ । खेलकूदको महत्व बयान गरेरै सकिदैन । त्यसैले सम्बन्धित निकायहरु त्यो चाहे अभिभावक होस्, या शिक्षक, वडा होस् या नगरपालिका । जिल्ला होस्, प्रदेश होस्, या केन्द्र । सबैले विद्यालयमा खेलकूदको अवस्था सुधार्न अविलम्ब पहल गर्नु, आवश्यक छ । अझै पनि कैयौं ओलम्पियन दिपक विष्ट र संगिना वैद्यहरु आवश्यक मौकाको प्रतिक्षामा छन् । सही वातावरण सानैदेखि दिने हो भने नेपालबाटै गौरिका सिंहरु जन्मन्छन् ।
अझै पनि कैयौं वैकुण्ठ मानन्धरका पाईलाहरु प्रशिक्षणको अभावमा अड्कि रहेका छन् । उनिहरुलाई आवश्यक वातावरणको व्यवस्था नहुनु, उनिहरुको गल्ति होइन । राज्यको कमजोरी हो । किनभने त्यो व्यवस्था मिलाउने दायित्व राज्यको हो । एकै पटक सबै सम्भव नहोला तर कमसेकम योजना बनाएर पाँच बर्षमा सबै सामुदायिक विद्यालयमा खेलकूदको न्यूनतम यति सुविधाहरु उपलब्ध गराउने भनेर योजनै बनाएर अघि बढ्ने हो भने कसो केही नहोला ? सबै ठाउँमा एकै प्रकारले अगाडि बढ्न नसकिएला तर जिल्ला जिल्ला सर्वेक्षण गरेर कहाँ के गर्न सकिन्छ ? कुन विद्यालयको भौगोलिक अवस्था अनुसार कस्तो खालको प्रवन्ध गर्न सकिन्छ भनेर थालनी त गर्न सकिन्छ ? के थाहा भोलि साग र ओलम्पिकबाट स्वर्ण पदक जिती सबै नेपाल भित्र्याउने पुस्ता हाम्रै विद्यलयमा पो छन कि ? तिनलाई वातावरण त दिनु प¥यो । अतः राज्य यो कुरामा सम्बेदनशिल हुनु आवश्यक छ कि खेलकूद विद्यालयको आवश्यकता बनोस् । सुविधा होइन ।