प्रसंगवस कुरा गर्दा कहिलेकाही मेरो बुवा भन्ने गर्नुहुन्थ्यो– मेरो बुवाको दमालीहरु अहिले पनि भन्नुहुन्छ, हाम्रो पालामा बाटबाटै हिड्दा पनि तित्राका फूल कुल्चिइन्थे । सुन्दा रमाइलो लाग्थ्यो, संगसंगै सन्देह पनि हुन्थ्यो, बाटबाटै त त्यति साह्रो के पाईदो हो र ? अहिले विचार गरी ल्याउँदा लाग्छ, सायद तित्राका फूलहरु कुल्चिइन्थे पनि होला । आज भन्दा १२ ÷पन्ध्र बर्ष पहिले हाम्रै घर छेऊछाउमा तित्रा बासेको सुनन पाइन्थ्यो । अहिले तित्रा बासेको सुन्न पनि साईत कुर्नु पर्छ । १२÷१५ बर्षको समय अवधिमै तित्रा देख्न मुस्किल भै सक्यो भने, बुवाहरुको पालामा ३०÷३५ बर्ष पहिले सायद बाटबाटै तित्राका फूल पाइदा हुन् । जे होस् यति कुरा ढुक्कले अड्कल काट्न सकिन्छ, तित्राहरु छ्यापछ्याप्ती पाइन्थे ।
अलि सानै छँदा मलाई एउटा चरा असाध्यै मन पर्दथ्यो । त्यो चराको नाम ठ्याक्कै के हो त्यो मलाई थाहा भएन । तर स्थानीय भाषामा त्यसलाई ‘ठेउगा’ चरा भनिन्थ्यो । सम्पूर्ण प्वाँख नीलो रङको हुने त्यो चरा, आवाज अलि कर्कश भएपनि देख्दा चाहिं बडो राम्रो हुन्थ्यो, कमसेकम मलाई भने राम्रो लाग्थ्यो । मेरो बचपनको प्रिय ठेउगा चरी अहिले कहाँ होला ? धेरै बर्ष भयो, ठेउगा चरी देख्न नपाएको । धेरै लामो समय देख्न नपाएकोले होला सानामा निमीठो लाग्ने ठेउगा चरीको बोली पनि अहिले सम्झदा मीठो मीठो लाग्छ ।
डाङ्ग्रे चरीले घरको गारो र छाना जोडिने ठाउँमा गुड लगाएर अण्डा पारीवरी बच्चा कोरलेर आफ्ना स–साना बचेरालाई भुर्रभुर्र उड्न सिकाएको हेर्दा यति त मज्जा हुँदैनथ्यो । गौथलीले आफ्नो टुड्मा च्यापी च्यापी ल्याएको गिलो माटो बाट हेर्दाहेर्दै कति सुन्दर कलात्मक गुड बनाउँथ्यो । कता बसाई सरे कुन्नी ती डाङ्ग्रे र गौथलीहरु । अहिले त सिजनमै पनि फाट्टफुट्ट भन्दा देखिदैनन् ।
बचपना र किशोरावस्था चराचुरुङ्गी र बन्यजन्तुसंग सम्बन्धित धेरै रमाईला र डरलाग्दा अनुभवहरु सँगालियो । कति आफैले भोगियो । कति बुढापाकाबाट सुनियो । बाजेहरु बनमा घाँस काट्न जाँदा बाघले बाटो काटेर गएको देख्दा डराई डराई घाँस काटेको अनुभव सुनाउनु हुन्थ्यो । सानो छँदा हामी केही उत्सुक हुँदै केही डराउँदै त्यस्ता घटनाहरु सुन्थ्यौं । ठूलो भएपछि बन जाँदा पनि तिनै घटनाहरु सम्झिएर मन झिसिङ्ग हुन्थ्यो तर बाघले मेरो बाटो कहिल्यै काटेन । जंगलमा बाघ नै थिएन या बाघले बाटो काट्नु र मैले देख्ने संयोग कहिल्यै जुरेन । बाघ देखेको चिडिया घरमा मात्रै हो । यसै पनि बाघ मान्छेको नजिक पर्न नरुचाउने प्राणी हो । त्यसकारण जंगलसम्म हत्तपत्त बाघ देख्न पनि कहाँ सकिन्छ र ? जे होस् मेरो भनाईको आशय कति मात्र हो भने किशोरावस्था छँदाको ति अनुभवहरु केबल एक डेढ दशकको अन्तरालमै यस्तो थियो है भन्ने अवस्थामा पुगि सकेका छन् ।
हिजो नेपाली मिति अनुसार फागुन १९ गते, अन्तराष्ट्रिय वन्यजन्तु दिवसको रुपमा मनाइयो । पारिस्थितिक प्रणालीमा वन्यजन्तुको महत्वलाई आत्मसाथ गर्दै यसको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले नै अन्तराष्ट्रिय रुपमै वन्यजन्तु दिवस मनाउन शुरु गरिएको कुरामा विमती छैन । पारिस्थितिक प्रणालीको सन्तुलनकोे लागि साना भन्दा सानादेखि ठूला ठूला जीवजन्तु सबैको आ–आफ्नै महत्व रहेको कुरा घाम जत्तिकै छर्लङ्गछ । जसरी हाम्रो शरीर नङ, परेलादेखि मुटु कलेजो, सबैको आ–आफ्नै महत्व र आवश्यकता छ । त्यसरी नै प्रकृतिमा पाईने हरेक जीवजन्तुको आ–आफ्नै महत्व छ । मैले सुनेको थिएँ र पछि पढ्ने मौका पनि मिल्यो । यदि संसारभरबाट एकै पटक सम्पूर्ण मौरीहरुलाई नष्ट गरिदिने हो भने त्यसको केही बर्षमै संसारभरबाट करिब एकलाख भन्दा बढी प्रजातिका वनस्पतिहरु हराएर जानेछन् । यही तथ्य नै काफि छ, साना भन्दा साना प्राणीको पनि पारिस्थितिक प्रणालीको सन्तुलनका लागि कति महत्व छ भनेर बुझ्नका लागि । हामीले अनावश्यक ठानेका हजारौं जीवजन्तु चाहे ति कीरा भुसुना नै किन नहुन्, तिनको पनि प्राकृतिक सन्तुलनका लागि त्यति नै आवश्यकता छ । बन्यजन्तु भन्ने वित्तिकै हामी हात्ती गैंडा बाघ भालु, मृग जस्ता ठूला जनावरहरु मात्रै सम्झन्छौं । तर त्यही बनमा पाईने ससा किरा फट्याङ्ग पनि बन्यजन्तु नै हुन् । यहाँनेर मेरो प्रश्न चाही के हो भने प्राकृतिक सन्तुलनका लागि अहंभूमिका निभाउने यी बन्यजन्तुहरु जुन अवस्थामा हुनुपर्ने के तिनीहरु सही अवस्थामा छन् त ? मार्च ३ लाई अन्तराष्ट्रिय बन्यजन्तु दिवसको रुपमा मनाईदै गर्दा बन्यजन्तु संरक्षण सम्बन्धी विभिन्न राष्ट्रिय अन्तराष्ट्रियस्तरका कार्यक्रमहरु बनाएर सञ्चालन गरिदै गर्दा बन्यजन्तुको चोरी निकाशी रोक्न कडा भन्दा कडा कानुन बनाईदै गर्दा यी कुराहरुले उनिहरुको अस्तित्व रक्षा गर्न कत्तिको मद्दत पुगेको छ ? के यति प्रयाप्त छ त ?
इको सिस्टमको
(पारिस्थितिक प्रणाली) सन्तुलन विग्रनु, आहार श्रृङ्खलामा गडबड हुनु, प्राकृतिक सन्तुलन विग्रनु, यी सबै कुरा कसैको कारणले भएको छ भने त्यो मानिस नै हो । प्रकृतिको नियम र गतिलाई आत्मसाथ गर्दै स्वतन्त्र रुपमा आफ्नो जीवनलाई अगाडि बढाई रहेका बन्यजन्तु माथि पनि मावनीय क्रियाकलाप र गतिविधिले नराम्रो असर परेको छ । अझ उनिहरु माथि निर्मम प्रहार भएको छ भन्दा अत्युक्ति नहोला । मानवीय गतिविधिकै कारणले कतिपय बन्यजन्तुहरु लोपोन्मुख अवस्थामा पुगि सकेका छन् । कति त सायद लोप नै भैसके ।
बन्यजन्तुको संरक्षण सम्बन्धी कुरा गर्दा सबैभन्दा पहिले प्रायः चोरी सिकारीलाई कारणको रुपमा देखाईन्छ । यसलाई नियन्त्रण गर्न कडा भन्दा कडा कानुनी व्यवस्था गरिन्छ । अवश्य पनि चोरी सिकारी बन्यजन्तुहरुको संख्यामा कमि ल्याउने, बन्यजन्तुहरुलाई संकटापन्न अवस्थामा पु¥याउने कारणहरु मध्ये एक हो । के यही एउटा कारण मात्र प्रयाप्त छ त ? बन्यजन्तुहरुलाई संकटापन्न अवस्थामा पु¥याउन ? यदि त्यसो हुँदो हो त विशेष महत्व नभएका सामान्य पशुपंक्षीहरु लोपोन्मुख अवस्थामा नपुग्नु पर्ने ? हाम्रा गाउँघरतिरको ठेउगा र डाँग्रे चरीहरु यसरी वेपत्तै नहुनु पर्ने , फेरी पनि गौथली गुड लगाउन फर्कन पर्ने, सुनसान रातमा लाटो कोसेरो कराएको सुनिनु पर्ने । तर यी कुराहरु अहिले विरलै मात्र हुन्छन् । यसले के संकेत गर्दछ भने चोरी सिकारी मात्र बन्यजन्तु लोप हुनुको कारण होइन ।
बन्यजन्तु लोप हुँदै जानु, संकटापन्न अवस्थामा पुग्नुमा चोरी शिकारी मात्र नभई मानिसले गरेका विकासका गतिविधिहरु पनि उत्तिकै जिम्मेवार छन् । खेतीवालीमा प्रयोग गरिने राशायनीक विषादीहरुले कैयौं किरा फट्याङ्ग्रा, पुतली लगायतको अस्तित्व संकटमा परेको छ । ती किरा फट्याङ्ग्रा नहुँदा तिनमा आश्रीत चराचुरुङ्गी लोप
हुँदैछन् । बसाई सर्दैछन् । अध्ययनहरुले के देखाएको छ भने लामो दुरीमा बसाई सर्ने चराहरु बर्सेनी बाटो विराएको कारणले लाखौंको संख्यामा मर्दै छन् । त्यसको एक मात्र कारण भनेको छ्याप्ती विछ्याईएका मोवाई टावरबाट निस्कने विकिरण हुन् । हामीले आफ्नो सुविधाका लागि बनाएको चिज कसैको लागि मृत्यूको कारण बनि रहेको छ । हामीलाई लाग्न सक्दछ । एकथरीको चरा सकिदैमा के नै हुन्छ र ? तर चाहे त्यो चरा होस्, चाहे किरा फट्याङ्ग्रा । सबैको उत्तिकै आवश्यकता र महत्व हुन्छ । प्रकृतिक सन्तुलनको लागि ।
त्यसो भए के बन्य जन्तुको जीवनचक्रमा असर पर्छ भनेर विकासको गतिविधि उन्नती प्रगतिको कार्य नै नगर्ने त ? त्यसो होइन, यी सबै समयको आवश्यकता हुन् । गर्नु पर्दछ । तर प्रकृति मैत्री बन्य जन्तु मैत्री तरिकाले । अस्तिभरखर बर्दियामा बाघको आक्रमण भयो । अध्ययनले देखाए अनुसार राष्ट्रिय निकुञ्जको बीच भाग भएर राजमार्ग जाँदा बाघ बाटो काट्ने ठाउँ पर्न जाने र उसको क्षेत्र कम भएकोले आक्रमण गरेको हुन सक्ने तथ्य सार्वजनिक भयो । तसर्थ हामीले विकासका कार्यक्रमलाई अगाडि बढाउँदा केबल मानवीय माफईदा मात्र नहेरी सिंगो प्रकृतिक पद्धतिलाई फाईदा पुग्ने, असर नगर्ने गरी गर्ने हो कि ? प्रकृति संतुलित रहे त्यसको सबैभन्दा बढी फाईदा त हामी मानिसले नै लिने होइन र ? हामीले जतिनै प्रगति गरेपनि आखिर यो संसार नै नरहे, प्रकृति नै नष्ट भए कहाँ गएर बस्ने हो र ? बन्य जन्तुको संख्या घट्नुमा चोरी शिकारी जति प्रमुख कारण हो त्यो भन्दा पनि डरलाग्दो कारण हाम्रा विकास कार्यक्रमहरु प्रकृति र बन्यजन्तु मैत्री नहुनु हो । तसर्थ यस्तो कुरामा आगामि दिनमा सचेत हुने हो कि ? कतै हाम्रो तिरबाट हराएको (सायद बसाँई सरेको) ठेउगा चरी पनि फर्किन्थिन् कि । डाँग्रे र गौथलीहरु फेरी घर घरमा गुड लगाउन फर्कन्छन् कि, हामीले नकुल्चिए पनि हामी पछिका पुस्ताहरुले तित्राको फूल बाटबाटै कुल्चिने सौभाग्य पाउँछन् कि ?