विसं १९७२ कार्तिक २४ मा काठमाण्डौंका यटखाटोल निवासी ज्ञानमान सिंह र सुभद्रा कुमारीको कोखमा एक बालकको जन्म भयो । न्वारनमा उनको नाम हीराकाजी राखियो तर त्यही बालक पछि गएर नेपालको एक महान क्रान्तिकारी एवं प्रजातन्त्र सेनानी बन्न पुग्यो । उ २००७ सालको जनक्रान्तिमा राणाहरुको जहानिया शासन विरुद्ध मात्र लडेन २०४६ सालको प्रथम जनआन्दोलनको सर्वाेच्च कमाण्डर समेत बन्यो ।
प्रजातन्त्र प्राप्तीको आन्दोलनमा अनकौं कष्ट भोग्यो । जेल जीवन वितायो । तर शायद अहिले सुन्नेहरुलाई आश्चर्य लाग्छ, २०४६ सालको आन्दोलनको सफलता पश्चात तत्कालिन राजा विरेन्दले प्रधानमन्त्री बन्न आग्रह गर्दा आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई अगाडि सारेर त्यागको नमूना बन्यो । उ हामीबाट विदा भएको २५ वर्ष पूरा भएको छ, असोज २ मा तर लौहपुरुष, सर्वाेच्च नेता, सर्वाेच्च कमाण्डर अनेकौं नामले पुकार्दै नेपालीजन आज पर्यन्त उनको नाम श्रद्धाले लिन्छन् । हो यहाँ उनै त्यागका प्रतिमूर्ती गणेशमान सिंहको चर्चा गर्न लागिएको हो ।
८२ वर्षको उमेरमा विसं २०५४ साल असोज २ गते यस संसारबाट सदाका लागि विदा भएका गणेशमान सिंहको एउटा भनाई वर्तमान कांग्रेसको पार्टी जीवनका सन्दर्भमा अत्यन्त सान्दर्भिक रहेको छ । सिंहको भनाई थियो,“मनको अठोट, संकल्प र दृढ निश्चियले मानिसलाई निकै बलियो बनाउँदो रहेछ । अनिश्चय, आशंका र द्विविधा समाप्त भएपछि उसभित्र तागत एकत्रित भएर स्फुर्तिको सञ्चार हुँदो रहेछ । तर अहिलेको कांग्रेसको राजनैतिक जीवन अनिश्चय, आशंका र द्विविधाले भरिएको छ । त्यसैले सत्ता प्राप्ती एकमात्र ध्येय भएको छ र त्यसका लागि जोकोहीसंग साँठगाँठ गर्न तयार छ । सात दशकभन्दा बढीदेखि नेपाली नागरिकको मायाले बाँचिरहेको दलमा आज तिनै नागरिक प्रति विश्वास छैन ।
बीपी र गणेशमान समाकालिन नेताहरु थिए । संगै काम गर्दा कहिले काहिँ विभिन्न विषयमा मतभेद समेत हुन्थे । तर गणेशमान भन्छन्, मतभेदका बीचपनि बीपीले मलाई छोड्न सक्नु भएन । परस्पर अथाह आदर र सम्मान थियो , यी दुइ नेताको बीचमा । गणेशमानमा बीपीका प्रति कस्तो भाव थियो भनि बुझ्न उनको यो अभिव्यक्ति पढे पुग्छ । सिंह बीपीका सन्दर्भमा भन्थे, “यस्ता महापुरुषहरु मानवसमाजमा बहुत कम पैदा हुन्छन्, तिनले समाजलाई नयाँ चेतना र प्रवाह दिन्छन्, मानिसहरुलाई कर्तव्यप्रति प्रेरित गर्छन् । बीपी कोइराला त्यस्तै एक युगपुरुष हुुनुहुन्थ्यो, जो हामीलाई सदासर्वदा कर्तव्यरत रहन प्रेरणा दिइरहनु हुनेछ ।”
यस्ता महान पुरुषको आदर्शलाई वर्तमान कांग्रेस कसरी अनुसरण गरिरहेको छ ? भन्ने विषयमा यस पटक चर्चा गर्ने जमार्काे गरेको छु ।
२०४६ सालको प्रथम जनआन्दोलनको सफलता पछिको सन्दर्भ जसमा राजा विरेन्द्रले उनलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए, सम्झँदै गणेशमानले घनेन्द्रपुरुष ढकालसंगको अन्तर्वार्तामा भनेका छन्, “मैले राजालाई भनें– सरकार हाम्रो पार्टीमा मभन्दा एकसे एक योग्य र विद्वान व्यक्तिहरु हुनुहुन्छ । हाम्रो साथी कृष्णप्रसाद भट्टराईलाई बीपीले पनि भन्नुहुन्थ्यो, भट्टराईजी भन्दा योग्य मान्छे विरलै हुन्छन् । त्यस्तै म पनि उहाँलाई असाध्यै योग्य मान्छु । त्यसकारण म प्रधानमन्त्री पदमा उहाँलाई नै नियुक्ति गर्न बिन्ती चढाउँछु । राजाबाट मेरो प्रस्ताव स्विकारी बक्स्यो र कृष्णप्रसादजी प्रधानमन्त्री बन्नुभो ।
गणेशमान हाम्रा आदर्श हुन भन्न अहिलेका कांग्रेस नेता कार्यकर्तालाई हरौं त औंलामा गन्न सकिन केही बाहक कोही कसैमा यस्ता त्यागको भावना छ ? सहकर्मीको योगदानको कदर गर्नसक्ने विशाल हृदय छ ? छैन । सभापति समेत रहेका शेरबहादुर देउवाकै कुरा गरौं । उनी पाँच पटक प्रधानमन्त्री भैसकेका छन् । यो पाँच कार्यकालको समिक्षा गर्ने हो भने एक दुइ कामलाई छोडेर अरु सबै काम विर्सन लाएक छन् । अरु साथीहरुलाई पालो दिन्छु भन्ने विचार छैन । उनकै सिको तल्ला तहका कार्यकर्ताले गर्ने नै भए र त कोही पनि एक पटक पाएको पद त्यागेर सहज विहिर्गमनका लागि तयार छैन ।
नेता सिंहले एक सन्दर्भमा भनेका छन्, कांग्रेस दुबो हो, काट्नुस् या फाल्नुस् यो पलाउँछ । गणेशमानको पुस्ताले दुबोजस्तो बनाएको कांग्रेस अब दुबो जस्ता छैन बरु नेताहरुले यसलाई आकाशेबेली जस्ता ठानेका छन्, जो आफ्नो बुतामा अस्तित्वमा रहन सक्दैन । जसलाई हुर्कन बढ्न असुरो र सिमलीहरुको आवश्यकता पर्दछ । कांग्रेस नेताहरुलाई पनि यतिबेला आफ्नै बुतामा अडिन सकिन्छ भन्ने लागेको छैन ।
प्रजातान्त्रिक आदर्शका सम्बन्धमा सिंहले भनेका छन्, “गरीब, भोका र विपन्न वर्गका मानिसले पनि अवसरको समानता पाउन्, राज्यले आफ्ना नागरिकलाई विनाभेदभाव व्यक्तित्व विकासको अवसर प्रदान गरोस् ।” अब एकछिन् हिसाब गरौं त के अहिलेको राज्यसत्ता गणेशमानले भनेझैं छ ? यहाँ गरीब, भोका र विपन्न वर्गका मानिसले पनि अवसरको समानता पाएका छन् ? पटक्कै छैनन्। किसानका नाममा आएको अनुदान कुनै विचौलियाले खान्छ । पहुँच नभएकाहरुले स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गरिने भनेको औषधी समेत पाउँदैनन् । जागिर खानको त कुरै छोडौं सरुवा हुन समेत घुस खुवाउनु पर्ने अवस्था
छ । राज्यबाट प्राप्तहुने सुविधा पाउने कुरा गरीब, विपन्न र भोकाको हातमा पुग्नै पाउँदैन, बीचमै टाठाबाठाहरुले कुम्ल्याई सक्छन् । पुग्यो नै भनेपनि सानो अंश मात्र पुग्छ ।
समाजलाई जुन रुपले रुपान्तरण गर्ने, जुन स्तरको जनजीवन बनाउने सपनाका साथ बीपी, गणेशमान, सुवर्ण समशेर, पुष्पलाल, मनमोहन, मंगलादेवी र सहाना प्रधानहरुले संघर्ष गरेका थिए । त्यो सपना अझै अधुरै छ । यी नामहरु दलहरुका लागि केवल सत्ता सोपान मात्र भएका छन् । उनीहरुका सपनासंग कुनै साइनो भएजस्तो देखिँदैन । लौहपुरुषको २५ औं स्मृति दिवसका अवसरमा उनका समकालिन नेताको सपना पूरा गर्ने तत्पराता वर्तमान नेताहरुल देखाउन भन्ने शुभाकांक्षा ।