नेपाली नागरिकले स्वतन्त्रताको स्वाद लिन थालको हिजो फागुन ७ बाट ६९ वर्ष पूरा भई ७० वर्ष लागेको छ । २००७ साल फागुनको ७ गते यस्तो दिनको जुन दिन एकसय चार वर्ष लामो जहानिया राणा साशनको अन्त्य भएर नेपाली नागरिकले स्वतन्त्रता पाएका थिए । सात सालको त्यो जनक्रान्तिले हामी नेपालीलाई रैतिबाट नागरिक बनाएको थियो । हामीले यसलाई प्रजातन्त्र नाम दियौं । प्रजातन्त्र प्राप्तीको लागि अझ भनौं हामीलाई नागरिक बनाउन धेरै व्यक्तिहरुले आफ्नो ज्यान अर्पण गरे । सहादत प्राप्त गरे । यो अवसरमा ति स्वतन्त्रता सेनानीहरु प्रति सम्मान र स्मरण गर्नु वाञ्छनिय हुन्छ ।
यस बीचका स्वतन्त्रता खोसियो, २०१७ पुष १ मा र २०५८ माघमा । ०१७ सालमा तत्कालिन राजा महेन्द्रले बीपी कोइरालाको नेतृत्वमा रहेको जननिर्वाचित सरकारलाई अपदस्त गरेर निर्दलिय पञ्चायती व्यवस्था लागू गरेका थिए । जसले ३० वर्ष नेपाली जनताका अधिकारलाई कुण्ठित तुल्यायो । फेरी नेपाली नागरिक , नागरिक हुनबाट वञ्चित भए तीन दशकका लागि । २०४६ सालमा भएको जनआन्दोलनले फेरी हामीलाई नागरिक नै बनायो तर स्वतन्त्रताको स्वाद लिन थालको एक दशक पुग्दा नपुग्दै हाम्रा स्वतन्त्रता खोसिन थाले । रैती बनाउने प्रयास थालियो । तर त्यो धेरै टिकेन । २०६२÷६३ आन्दोलनले तत्कालिन राजा ज्ञानेन्द्रको त्यो दुस्साहसलाई खारेज गर्दै फेरी हामीलाई नागरिक बनायो । देश गणतन्त्र उन्मुख भयो, दुइसय वर्ष लामो राजतन्त्र समाप्त भयो ।
र फेरी जननिर्वाचित सरकार नै नागरिक स्वतन्त्रता खोस्न उद्यत देखिएको छ । आलोचना गर्नैहरुमा माथि प्रधानमन्त्री नै आफ्ना कार्यकर्तालाई अरिंगाल बनेर आक्रमण गर्न निर्देशन दिन्छन् । सरकारको विरोध गर्नेलाई थला पर्नेगरी कुट्न सञ्चारमन्त्री कार्यकर्तालाई उक्साउँछन् । आधुनिक समाजको प्राण बनेको सामाजिक सञ्जालमा अंकुश लगाउने सरकारी प्रयत्न पनि स्वतन्त्रता खोस्ने पूर्वाभ्यास नै हो । आलोचना त प्रजातन्त्रको सबैभन्दा सुन्दर पक्ष होइन र ? फरक मानिस भएपछि विचार पनि फरक हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्न नसक्ने र मारधाडमा उत्रने राज्य संयन्त्रबाट स्वतन्त्रता रक्षाको आशा गर्नु सायद अनर्थ हुन्छ होला । तर के चाहिँ स्पष्ट छ भने स्वतन्त्रताको भरपुर उपभोग गरेको वर्तमान नेपाली पुस्ता त्यो खोसिएको सहन गर्ने अवस्थामा छैन । प्रजातन्त्र दिवसको शुभकामनासंगै लोकतन्त्रको निरन्तरताको कामना ।