रमेश विकल
कोरोना संक्रमणसंग पाँच महिनादेखि जुधिरहेका नेपाली यतिबेला विभिन्न प्राकृतिक विपत्तिसंग पनि जुधिरहेका छन् ।
कोरोनाको बढ्दो संक्रमणले आम नेपालीको मनमा त्रासले घर गरेको छ । एकै दिन हजारभन्दा बढी संक्रमित थपिन थालेका र दोहोरो अंकको नजिक मृतकको संख्या आउन थालेपछि आम नेपाली नागरिकको मन अत्तालिएको छ । तर गत शुक्रबार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँ पालिका वडा नं २ लिदीमा गएको पहिरोको समाचारले आम नेपालीको मन झन अत्तालिएको छ । यसका दुइ कारणहरु छन् । पहिलो हो कोरोनाले महिनौ दिन लगाएर गरेको मानविय क्षति लिदीमा एक क्षणमा भएको छ । दोस्रो, आफुले चुनेर पठाएका प्रतिनिधिले बनेको सरकार आफ्ना दुःखमा साथ नरहने रैछ, हाम्रो जीवनको उनीहरुलाई कुनै मूल्य रहेनछ भन्ने नागरिकलाई अनुभूति भएकोे छ ।
२०७२ सालको भूकम्पका कारण आफ्नो वासस्थान असुरक्षित भएकाले अन्यत्र सार्ने व्यवस्था गर्न लिदी गाउँका वासिन्दाले सरकारलाई निवेदन दिएका थिए । उनीहरुको निवेदनमा कुनै सुनुवाई भएन र गत शुक्रबार आएको पहिरोले स्थानीय ३९ जनाको ज्यान लियो कयौं घर भत्किए । लिदीको यो विपत्ति त्यहाँ बिनासंकेत एकाएक आएको होइन । उक्त स्थानमा जुनसुकै बेला पहिरोले ठूलो विनाश निम्त्याउन सक्ने चेतावनी विज्ञहरूले पाँच वर्ष अगाडी नै दिएका थिए । जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न उनीहरूले सरकारलाई सुझाएका थिए । आफ्नो बस्ती सारिदिन स्थानीयवासीले पनि हारगुहार गरेका थिए । तर,सरकारी निकायलाई यो कुनै जिम्मेवारीको विषयजस्तो लागेन बरु अहिले आएर आपसमा आरोप– प्रत्यारोपमा उत्रेका छन् । घटनास्थल हेर्न जाने होड चलेको छ । दुर्घटना पश्चात उक्त स्थलमा उपस्थित हुन होडवाजी गर्नेहरुले उक्त स्थान मानव वस्तीका लागि उपयुक्त नभएको थाहा पाएर पनि किन वस्ती स्थानान्तरण गर्न र नागरिकको जीवन बचाउन चासो राखेनन् भन्ने जिज्ञासा आम मानिसमा उत्पन्न भएको छ ।
सरकारले प्रति परिवार एकलाख राहत र क्रियाखर्च २५ हजार दिने घोषणा त गरेको छ तर त्यो कहिले आउने हो भन्ने निश्चित छैन । दुःखद कुरा त के छ भने लिदीमा वाँचेका वासिन्दालाई राहत र क्रिया खर्च आफ्नो हात पर्ने कुरामा विश्वास छैन । पाँचवर्ष अगाडी वस्ती सार्न दिएको निवेदन कार्यान्वयन नभएको परिणाम भोगेका र जिल्ला प्रशासन कार्यालयवाट अस्थायी वसोवासका लागि प्राप्त टेन्ट, त्रिपाल र कम्बल जस्ता वस्तु गाउँ पालिकाले ल्याएर आफुहरुलाई नदिएको थाहा पाएका लिदी वासिमा राहत आफ्नो हात लाग्ने विश्वास नहुनु स्वाभाविकै हो । लिदीकै बसाईं सर्न सक्नेहरु त सुरक्षित स्थानमा सरेर गए तर जसको अन्यत्र जाने कुनै सम्भावना थिएन तिनले ज्यान गुमाए । अब प्रश्न उठेको छ, गरिब र विपन्नको हित रक्षक भन्ने सरकारले किन उनीहरुको स्थानान्तरण गर्न र जीवन बचाउन चाहेन ? जनधनको क्षति पछि राहत प्रदान गरेर पन्छने गैरजिम्मेबार र अमानविय व्यवहार सरकारमा रहनेहरुले कहिले त्याग्लान भन्ने प्रश्न पनि संगै उब्जेको छ । अहिले आएर बल्ल वस्ती स्थानान्तरण गर्ने प्रवन्ध गरिने आवश्वासन दिइएको छ । यी र यस्ता कर्मले लिदी वासिको सरकारमाथिको विश्वास गुमेको छ । लिदीको शुक्रबारको पहिरोसंगै सरकार माथिको विश्वास पनि बगेर गएको छ ।
लिदीको पहिरोसंगै सरकार माथिको विश्वास बग्यो
previous post