- रमेश विकल
अक्षत र अक्षता दाजु बहिनी हुन् । अक्षत १२ वर्षको भयो अनि अक्षता १० वर्षकी । उनीहरुलाई कथा सुन्न निकै मनपर्छ । त्यसैले बेलुका सुत्ने बेला भयो कि हजुरआमा भएको ठाउँमा जान्छन् र कथा भन्न आग्रह गर्छन् । हजुरआमा उनीहरुलाई रमाइला र सन्देश मुलक कथाहरुसंगै भ्रमण अनुभवहरु सुनाउनु हुन्थ्यो । उहाँ कहिले गोनु झाको चुतु¥याईका कथा अनि कहिलेवीरबलले बाँसको टुप्पामा खिचडी पकाएको स्वाङ गरेर ब्राम्हणलाई कसरी न्याय दिए भनेर सुनाउनु
हुन्थ्यो । कहिले शिशिर र बसन्तका कथा सुनाउनु हुन्थ्यो अनि कहिले हात्ती र लाटोकोसेरोको मित्रताको कथा ,कहिले घरको आफ्नो तला मात्र भत्काउने आफन्तीका
कथा । अझ हजुरआमाका कथामा आफु भ्रमण जाँदा बुढा सुब्बाको मन्दिरमा पुगेर टुप्पो नभएका बाँसमा ध्वजा बाँधेर मनोकामना पूर्ण हुने आशामा फुरङ्ग परेको अनि इलामको चिया बगान श्रीअन्तु डाँडामा पुगेर त्यहाँको अनुपम सौन्दर्यमा हराउँदा साथीहरुबाट आफु छुटेको कुरा पनि मिसिएको हुन्थे ।
हजुरआमाले राजकुमार दिक्पालका कथा सुनाउँदा अक्षतलाई आफु राजकुमार भएको अुनभूतिमा लैजान्थ्यो र संकटको सामना कथाको राजकुमारले झै गर्ने विश्वास बढाउँथ्यो । झमककुमारी घिमिरेको जीवन काँडा कि फूलको प्रसङ्ग हजुरआमाले सुनाउँदा अक्षता आफुपनि झमक बन्ने कल्पना गर्थी र सोही कल्पनामा रमाउँदै गर्दा
निदाउँथी । स्वस्थानी कथामा ७ वर्षमा विहे भएकी गोमाको दुःख सुन्दा दाजु बहिनीका आंखा रसाउँथे । नवराजलाई राजा खोज्न आएको हात्तीले माला लगाईदिएको सुन्दा खुसीले फुरुङ्ग हुन्थे ।
रामायणमा कैकेयी र मन्थराको अनि महाभारतमा सकुनीको कपटका प्रसंग सुन्दा दुबैको उनीहरुका प्रति अनुहारमा घृणा भाव प्रकट हुन्थ्यो । कहिले काँही दाजु बहिनीनै कविता सुन्दा सुन्दै निदाउँथे अनि हजुर आमाले उनीहरुलाई मिलाएर सुताउनु हुन्थ्यो ।
हजुरआमाले यति धेरै कथाहरु कसरी जान्नु भयो होला ? भन्ने प्रश्न अक्षतको मनमा आउने गथ्र्यो तर सोधेकोे
थिएन । एकदिन उसले हजुरआमासंग सोध्यो । हजुरआमा “हजुरले यति धेरै कथाहरु र रमाइला कुराहरु कसरी जान्नु भयो ? ” हजुरआमाले दुबैलाई काखमा लिँद ैभन्नु भयो “ मैले यो सबै विद्यालय र क्याम्पसको पुस्तकालयमा भएका पुस्तकहरु पढेर जानेकी । तिमीहरु पनि विद्यालयमा फुर्सदको समयमा पुस्तकालय गएर पढ्यौ भने मैले भन्दा धेरै कथाहरु र रोचक कुराहरु थाहा पाउन
सक्छौं ।”
आज पनि खाना खाने वित्तिकै दुबै हजुरआमा भए ठाउँ गए र कथा भन्न आग्रह गरे । हजुरआमासंग कथा नभएका त होइनन् तर आज उहाँले कथा नभन्ने विचार गर्नुभयो । उहाँलाई आफ्ना नाती नातिनी भविष्यमा के बन्न चाहन्छन् भनेर जान्न मन लाग्यो । हजुरआमाले दुबैलाई आफु नजिकै राख्दै भन्नु भयो ‘आज मलाई कुनै पनि कथा सम्झना छैन त्यसैले गफ गर्ने हुन्छ ?’ हजुरआमाको बोली खस्न नभ्याउँदै अक्षताले भनि “ गफ त भोली पनि गर्न मिल्छ नि हजुरआमा, आज कथा सुनौं
न ।” बहिनीको हो मा हो मिलाउँदै अक्षतले थप्यो, हामीसंग के हुन्छ र गफ गर्ने कुरा ? बरु हजुर नै खुरुखुरु कथा भन्नु न । हजुरको कथा नसुनिकन त हामीलाई निन्द्रानै लाग्दैन क्या ।
७ कक्षामा पढ्दै गरको नाती र ५ कक्षामा पढ्दै गरेकी नातिनी आफ्नो भविष्य कस्तो बनाउन चाहन्छन् , त्यो विषयमा केही सोचेको छन् कि छैनन् भनेर जान्ने हजुरआमाको चाहना त्यसै रोकिने कुरा त भएन । उहाँले भन्नु भयो,“मेरा प्यारा नाती÷नातिनी ठूलो भएर के बन्न चाहन्छन् भनेर आज मलाई जान्न मन लागेको छ । ( अक्षता तर्फ फर्कंदै ) ल भन त सानु तिमी पढेर, ठूली भएपछि के बन्ने ? ”
“ला ! मैले त यस्तो कुरा केही सोचेकै छैन हजुरआमा । के बन्ने होला ? ” अक्षताले उल्टै प्रश्न सूचक दृष्टिले हजुरआमालाई हेरी । तर उसलाई सानै देखि नर्स बन्ने रहर थियो । एकछिन सोचे जस्तो गरेर बालसुलभ उत्तर दिई म त ठूली भएर नर्स बन्ने हो ।” “स्याबास मेरी नातिनी ठूली भएर नर्स बन्ने अनि बिरामीको सेवा गर्ने, अक्षत भन त तिमी के बन्छौ ?” बुबा–आमा, आफन्त , साथी–संगीसबैले भन्थे तिमी यो बन्नु पर्छ, तिमी त्यो बन्नु पर्छ । तर आजसम्म कसैले यी दाजु बहिनीलाई तिमी भविष्यमा के बन्ने भनेर सोधेको थिएन । प्रश्नले अक्षत केही क्षण अल्मलियो र भन्यो, हजुरआमा म त भविष्यमा असल शिक्षक बन्ने हो । दाजुको कुरा सकिन नपाउँदै अक्षताले भनि “तर हजुरआमा नर्स बन्न कति पढ्नु पर्छ मलाई त थाहा पनि छैन । साँच्ची कति पढ्नु पर्छ हजुरआमा ?” हजुरआमाले भन्नु भयो, १६ कक्षा । “१६ कक्षा ! ” अक्षताले जिब्रो काढी पहिले उसलाई त्यति धेरै पढ्न सक्दिन भन्ने लाग्यो तर तत्काल आत्म विश्वासका साथ भनी, म १६ कक्षासम्म नै पढ्छु र नर्स बन्छु । अक्षतलाई शिक्षक बन्न कति र कुन विषय पढ्नु पर्छ भन्ने अलिअलि ज्ञान त थियो तर पनि हजुरआमासंग सोध्यो । हजुरआमाले एम एड सम्मको अध्ययन सकेर शिक्षक बन्न राम्रो हुने भन्दै दुबैलाई प्रश्न गर्नु भयो । तर बाबा मम्मीले शिक्षक र नर्स बन्ने होइन अरु नै केही बन्नु पर्छ भन्नु भयो भने के गर्छाै ? दुबैले सहज उत्तर दिए, बाबा–मम्मीलाई सम्झाउने त हजुर हुँदै हुनुहुन्छ नि । अक्षतले अगाडी थप्यो हजुरले भनेर पनि मान्नु भएन भने म मामालाई भन्छु । मामाले भनेपछि बाबा–मम्मी मानिहाल्नु हुन्छ । अनि म शिक्षक बन्छु, बहिनी नर्स ।
अक्षतले भावुक हुँदै भन्यो “ तर हजुरआमा किन कसैका पनि अभिभावक आफ्नो सन्तान शिक्षक बनोस् भन्ने चाहँदैनन ? मेरो बाबा–मम्मीले मलाई शिक्षक बनाउन नचाहने , अरु अभिभावकले पनि यस्तै चााहना राख्ने हो भने भोली हाम्रा छोरा छोरीलाई कसले पढाउँछ ? ” उसको भावुकता सकिएको थिएन् र भन्यो, किन हजुरआमा हरेक अभिभावक आफ्ना सन्तान एउटा असल शिक्षकबाट दीक्षित होउन भन्ने चाहन्छन् तर आफ्नो सन्तान शिक्षक बनोस् भन्ने चाहँदैनन् ? सात कक्षा पढ्दै गरको चञ्चले र बालक नातिले यति गम्भीर कुरा गर्ला भन्ने हजुरआमालाई लागेकै थिएन । उहाँले दुबैको गलामा सुमसुम्याउँदै भन्नु भयो, म तिमीहरुको चाहना पुरा गर्न सकेको प्रयत्न गर्छु ।