
पृष्ठभूमिः
तनहुँमा विचाराधिन जबरजस्ती करणी मुद्धाकी पीडित र जाहेरवालाले अनुसन्धान अधिकारी समक्ष गरेको बकपत्र भन्दा फरक बकपत्र (होस्टाईल) ले राष्ट्रिय चर्चा पाएको छ । सो चर्चासंगै आरोपीले सफाई पाउँछ अब ? भन्ने एउटा जिज्ञासा बढाएको छ भने अर्को पीडितलाई पनि कैद हुन्छ रे हो ? भन्ने पनि संगसंगै चलेको छ ।
दुई जिज्ञासाभित्रको अन्तर्यः
कानुनी व्यवस्था, अदालतले गर्ने गरेका विगतका फैसला र न्यायीक विवेचनाले फरक खालका अनुमानको पृष्ठभूमि तयार पारेको हो । होस्टाईल हुँदा कहिले पीडकले अर्थात प्रतिवादीले सफाई पाएको अवस्था पनि छ । कहिले फरक बकपत्र गर्ने पीडितलाई क्षतिपूर्ति दिलाउन नपर्ने गरी फैसला पनि भएको छ । कहिले बकपत्र फेर्ने पीडित वा जाहेरवालालाई तीन महिनासम्म कैद र पाँच हजार सम्म जरिवाना गरी आरोपिलाई क्षतिपूर्ति पनि दिलाउने गरी न्याय निरुपण भएको अवस्था पनि छ ।
कानुनमा के छ ?
फौजदारी कार्यविधि संहिताले आफू साक्षी भई नेपाल सरकार, प्रहरी कर्मचारी वा अन्य अधिकारीलाई विश्वास पर्ने किसिमको कुनै कुरा वा सवूद प्रमाण देखाई पोल वा उजुर गरेकोमा सोही आधारबाट अनुसन्धान भई अदालतमा मुद्धा चलि सकेपछि त्यस्तो कुरा वा सबूद वा प्रमाण झुट्टा वा बनावटी भएको कुरा उल्लेख गरी कसैको प्रतिवेदन, उजुरी परेमा वा बयान भएमा वा कुनै साक्षी वा जाहेरवालाको वकपत्र वा अन्य कुनै किसिमबाट देखिएमा अदालतले सोही मिसिलबाट प्रमाण बुझी कैद जरिवाना वा दुवै सजाय गर्न सक्ने व्यवस्था गरिएको छ । कैद गर्दा अधिकतम तीन महिनासम्म गर्न सक्ने व्यवस्था छ भने जरिवाना गर्दा पाँच हजारसम्म गर्न सक्ने व्यवस्था छ । यसरी कैद वा जरिवाना गर्दा कसूरदारलाई हुने सजायको आधा भन्दा बढी कैद वा जरिवाना गर्न नसकिने व्यवस्था छ । साथसाथै सफाई पाउने प्रतिवादीलाई जाहेरवाला वा त्यस्तो साक्षीबाट मनासिव क्षतिपूर्ति दिलाई दिनुपर्ने पनि व्यवस्था छ ।
अदालती अभ्यासः
विगतलाई हेर्दा पीडित वा जाहेरवालाको विपरित बकपत्रको आधारमा तनहुँ जिल्ला अदालतले प्रतिवादीलाई सफाई दिएको अवस्था छ भने चितवन काभ्रपलाञ्चोक र कास्की जिल्ला अदालतले प्रतिवादीलाई सफाई संगसगै जाहेरवाला वा पीडितलाई तीन महिना कैद र पाँच हजार जरिवाना समेत गरेको पाईन्छ ।
पलशाह प्रकरण परिवेशः
जाहेरवाला पीडितका पिता हुन् । दुवैको विपरित वकपत्र आउनु । दवावमा परेर त्यस्तो आरोप लगाएको पीडितको बकपत्र र अरुको उक्साहटमा जाहेरी दिएको जाहेरवाला पिताको विपरित बकपत्र । ख्यालठट्टा जस्तो छ ।
निष्कर्षः
फौजदारी कार्यविधि संहिताले तीन महिना कैद र पाँच हजार जरिवाना गर्न भनेको यस्तै परिवेशका पीडित र जाहेरवालालाई हो । साथसाथै क्षतिपूर्तिका हकदार पनि प्रतिवादी पल शाह हुन् । तर न्याय निरुपण हुनै बाँकी छ ।