ऋषिङ गाउँ पालिकाले स्वास्थ्य र पर्यटनकालागि खेलकुद भन्ने नाराका साथ पहिलो पटक पौष २७ मा म्याराथनको आयोजना गर्दैछ । पालिकाको वडा नं ८ गढी डाँडा देखि वडा नं ३ दुभुङसम्मको ४२.२ किमिलामो खुल्ला, गढीबाट ज्यामिरेमाई मन्दिरसम्मको १० किमिको स्थानीय र सोही स्थानबाट कोटदरबारसम्मको ४ किमिको महिला तर्फको गरी भिन्नाभिन्नै तीन प्रतियोगिता हुन लागेका हुन् । यो म्याराथनले ऐतिहासिक स्थल ऋषिङको गढी डाँडो, रानीपोखरी, अजम्बरी कुण्ड लगाएत अर्काे ऐतिहासिक महत्वको स्थान दुभुङलाई आम नेपाली माझ परिचित गराउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।
आम रुपमा कछार भनेर उपेक्षा भावले हेरिने ऋषिङले पछिल्लो समय खानेपानी, शिक्षा, सरसफाई, सडक, विद्युत लगाएत समग्र विषयमा गरको प्रगतिबारे यो अवसरमा छलफल र बहस त हुने छ नै साथसाथै मगर समुदायाको सांस्कृतिक नृत्य कौराको रसास्वादन पनि सहभागी र अवलोकनकर्ताले गर्न पाउने छन् । गढीबाट देखिने सूर्याेदयको अनुपम दृश्यका बारेमा पनि अवश्य चर्चा हुनेछ । समग्रमा म्याराथनले ऋषिङको समग्र सम्भावनाहरुको खोजीमा सहयोग पनि पुग्नेछ ।
गढी डाँडो र दुभुङको पर्यटन प्रवद्र्धनको कुरा गर्दै गर्दा स्थानीय आदिवासीले त्यसबाट लाभ लिन पाउने कुराको सुनिश्चिततामा भने सम्बन्धित पक्षले ध्यान दिनु जरुरी छ । ऋषिङे नेवारको पाक कलाको रसास्वादन गर्ने मौका पर्यटकले पाउने अवसर सृजना गर्नु त छँदैछ, मगर बहुल समग्र ऋषिङको मगर समुदायको सांस्कृतिक नृत्य कौरा, ब्राम्हण तथा क्षेत्री लगाएत समुदायको चुड्का र भजन, गुरुङ्ग समुदायका सांस्कृतिक नृत्य लगाएतको प्रचारमा समेत ध्यान पुग्नु जरुरी छ ।
ऋषिङ क्षेत्रको सम्यता, संस्कृति र पहिचान नगुम्नेगरी अनि स्थानीयलाई अपेक्षित लाभ हुनेगरी गरीने क्रियाकलापले मात्र हाम्रो विकास लक्ष्य र समृद्धिको आकांक्षालाई सहयोग पुग्नेछ । गढी, दुभुङ, कोटदरबार तथा ज्यामिरे माईको अतिक्रमण रोक्न र समग्र ऋषिङको विकासमा म्याराथनले सकारात्मक योगदान गर्ने गाउँ पालिकाको विश्वासलाई मुर्तरुप दिन सबैको सकारात्मक सहयोग आवश्यक छ । म्याराथनले ऋषिङको स्वास्थ्य र पर्यटनका लागि खेलकुद नाराले सार्थकता पाओस्, हाम्रो कामना !