मोफसलका कवि तथा सहित्यकारमा साधनाको अभाव छ, त्यसैले पठनिय कृति नै जन्मदैन भन्ने भ्रमलाई चिर्दै तनहुँकी कवयित्री नारायणी अधिकारीको कविता संग्रह “व्यास–वाटिका” बजारमा आएको छ । आइतबार लोकार्पित व्यास–वाटिकामा अधिकारीका ५१ वटा कविता संग्रहित छन् ।
अधिकारीले आत्म निवेदनमा भनेजस्तै संग्रहमा रहका कवितामा जीवनका भोगाइ, मन भित्रका उत्कण्ठा, केही कल्पना, केही आशा, सांसारिक अनित्यता र मिथ्या प्रपञ्च, विधि विधानप्रतिको निरीहता, जीवन यात्रा प्रसङ्गमा आइपरेका उल्झन, नेपाली लोक परम्परा, जीवनका कतिपय प्रगाढ छापहरू र केही सामाजिक विकृति र परिवेशलाई बिम्ब बनाउने प्रयास गरिएको छ ।
आमा साथ भइन् भने कहरमा सन्त्रासमा हुन्छ को ?
आमाकै पदचिन्ह पक्रन सके सत्मार्ग विर्सिन्छ को ?
आमा हुँदा साथमा शिर्षक कवितामा प्रस्तुत यो अंशले आमाको महत्व र मार्ग दर्शन प्रष्ट्याउँछ । विद्यमान विकृति र विसंगती प्रति दह्रो प्रहार गरेकी अधिकारीले कविता मार्फत विद्रोहको आवज बोलेकी छन् । उनी भन्छिन्, सारा दम्भ घमण्ड तोड्नु छ छिटै तोडिन्छ हामी जुटे ।
भत्केका जति शृङ्खला मुलुकका जोडिन्छ हामी जुटे ।।
नारी वेदना र महत्व पनि अधिकारीले सजिव चित्रण गरेकी छन् । नारी शिर्षक कवितामा भनिएको छ, नारी हुन् जननी विशाल घरणी गङ्गा स्वयम् निर्झरी ।
झेल्छन् उल्झन दुःख भार भुमरी लाखौं हरी हुन्डरी ।।
कविता, सरिता जस्तो हुनुपर्छ अर्थात नदीको वहाव जस्तै हुनु पर्छ र पाठकले पढ्दा सहजै बुझिने हुनुपर्छ भन्ने मान्यता राख्ने र छन्दोवद्ध कविताको रसास्वादन गर्न चाहने पाठकका लागि व्यास–वाटिका चाखलाग्दो कृति बनेको छ । समग्रमा व्यास–वाटिका मोफसलको पठनीय र संग्रह योग्य कृति रहेको छ । आकारमा सानो भएपनि २१५ रुपैयाँ तिर्न मनखत लाग्दैन ।