संसारका हरेक मानिसहरु कुनै न कुनै देशका नागरिक छन् । निश्चित उमेर पुगेपछि उक्त देशको वा भनौं राज्यको तत्कालिन प्रावधान अनुसार उक्त राज्यले वैधानिक नागरिक भएको प्रमाण–पत्र दिन्छ । कुनै पनि राज्यको वैधानिक नागरिक हुन पुरा गर्नुपर्ने सर्तहरु र कानुनी प्रक्रियाहरु राज्य अनुसार फरक फरक हुन्छ । हाम्रो देश नेपालको पनि नागरिकता प्राप्त गर्ने आफ्नै सर्त र प्रक्रियाहरु छन् । म पनि तिनै सर्त र प्रक्रियाहरुको परिधि भित्र रहेर नेपालको वैधानिक नागरिकता लिएको नेपाली नागरिक हूँ । कुनै पनि राज्यको नागरिक भैसकेपछि उसले उक्त राज्यबाट पाउने सेवा सुविधा अधिकारहरुको साथै उक्त राज्यप्रति उसको विभिन्न दायित्वहरु पनि हुन्छन् । यसर्थ एउटा नेपाली नागरिक भएको हैसियतले नेपाल राज्यप्रति मेरो पनि दायित्व र पुरा गर्नुपर्ने कर्तब्यहरु छन् । कर्तब्यहरु कुनै सामाजिक होलान्, कुनै आर्थिक होलान्, या कुनै भावनात्मक पनि होलान् । एउटा नगरिकले आफ्नो राज्यप्रति के कति दायित्व पुरा गर्नु पर्दछ, एउटा जिम्मेवार नागरिकको हैसियतले उसको कर्तब्यहरु के के हुन सक्दछन्, ति सूचिहरुको बारेमा कुनै दिन वार्तालाप गरौंला, यहाँनेर मैले उठान गर्न चाहेको विषय चाहि प्रत्येक नागरिकले आफ्नो नागरिकप्रति वहन गर्नुपर्ने एउटा साझा दायित्वहरु हो । त्यो हो देश प्रेम । एउटा नेपाली नागरिक भएर नेपाली भूमिमा बस्दै गर्दा नेपालप्रतिको मेरा अन्य दायित्व र कर्तब्यहरु मैले के कति पुरा गर्न सकें सकिन, त्यो आफ्नो ठाउँमा छ तर देशप्रेमको कुरा गर्दै गर्दा, कता कता आफैलाई आभाष हुन्छ, मैले यो देशलाई प्रेम गर्न सकेकै छैन ।
मैले यो देशलाई प्रेम गर्न सकेको छैन भन्नुको तात्पर्य म यो देशलाई प्रेम गर्दै गर्दिन भन्ने कदापि होइन । मेरो मन मष्तिष्कमा आज पनि देशको लागि उत्तिकै प्रेम छ, जति हिजो थियो र भोलि पनि रहिनै रहनेछ । तर पनि खोई कुन्नि किन हो, मैले गरेको देशप्रेम देखिएन । या त मैले उचित तरिकाले देश प्रेम देखाउन जानिन । या त मेरो देश प्रेमले ति सर्तहरु पुरा गर्न सकेनन् । जुन वास्तवमै देश प्रेम हुनको लागि अपरिहार्य छ । त्यसैले मलाई लाग्न थालेका हो, मैले यो देशलाई प्रेम गर्न सकेकै छैन ।
भक्ति थापा, अमरसिं थापा, बलभद्र कुँवर जस्ता नेपाल बीर योद्धाहरुको कथा पढेर सुनेर नै अरुको जस्तै मेरो पनि विद्यालय जिवन वितेको हो । दशरथ चन्द, धर्मभक्त माथेमा, सुक्रराज शास्त्री र गंगालाल श्रेष्ठ जस्ता अमर शहिदहरुको त्याग र बलीदानबाट अनभिज्ञ पनि म छैन । श्रीमान गम्भिर नेपाली, प्रचण्ड प्रतापि भूपति….. भन्दै राष्ट्रिय गान सिके देखि आज सयौं थुंगा पुलका हामी भनेर राष्ट्रिय गान गाउने भैसक्दा सम्म पुगनपुग करिब तीन दशकसम्म नेपालमा भएका राजनीतिक आर्थिक सामाजिक विभिन्न परिवर्तनहरुलाई नियाल्दै गर्दा बुझ्ने कोशिस गर्दैगर्दा अन्तर्आत्माबाट देशप्रेमको भावना जागृत नभएको होइन, भएकै हो तर आजको मितिसम्म पनि खोई किन हो, यस्तो लाग्छ, मैले यो देशलाई प्रेम गर्न सकेको छैन, या सायद उचित तरिकाले देखाउन सकेको छैन । आफ्नो देशलाई मायाँ गर्नु पर्छ है भन्नेसम्म पनि ज्ञान नभएको, त्यतिसाह्रो अज्ञानी मानिस हुँ जस्तो त लाग्दैन, त्यसैले कहिले काही विचार गर्दछु, आखिर कि मैले यो देशलाई प्रेम गर्न सकिन त ? अनगिन्ति कारणहरु आफ्नै दृष्टि अगाडि नृत्य गर्न थाल्छन् । आफैलाई ग्लानी महसुस हुन्छ । मैले मेरो देशलाई मायाँ गर्न नसक्नुको कारणहरु मध्ये एक रहेछ, राजनीति गर्न नसक्नु । यहाँ देशलाई मायाँ गरेको देखाउन राजनीति गर्न पर्ने रहेछ । राजनीति गरेर मात्र नहुने, ठूलो ओहोदाको नेता बन्न सक्नु पर्ने रहेछ । जब तपाई नेता बन्नु हुन्छ, अनि हजारौंको भिडमा अरुलाई सत्तासराप गरेर, आफ्नो चिल्लो र मिठो सपना बाँड्न सक्षम हुनुहुन्छ चाहे त्यो झुटो नै किन नहोस् । बल्ल मानिसले पत्याउँछन्, तपाई देशलाई कति मायाँ गर्नुहुन्छ भनेर । विदेशीले अनुदानम दिएको गाडि चढेर मञ्चसम्म पुगी त्यही मञ्चबाट जब तपाई भारत र चीनको विस्तारवादी नीतिको विरोध गर्नुहुन्छ, बल्ल तपाईले देशको मायाँ गरेको ठहरिन्छ । चाहे तपाई त्यही रात भारत र चिनको राजदूतसंग रात्रीभोज मै किन नरमाउनु होस् । जब तपाइ नेपाललाई स्वीजरल्याण्ड बनाउने मिथ्या गफ दिन जान्नुहुन्छ, तब बल्ल तपाई राजनेताको पदवी पाउने होडवाजीमा सम्लग्न हुन योग्य हुनुहुन्छ । तर दुःखको कुरा यी कुन पनि गुण म मा भएनन्, नत मैले आफूलाई ती गुणहरु विकशित गर्न तर्फ अग्रसर गराउन सके । मुखमा रामराम बगलीमा छुरा भन्ने कुरालाई व्यवहारमा उतार्न जानिन । मैले त एउटा नागरिक भएर राज्यको सेवा गर्न चाहें । त्यसैले मलाई लाग्छ, मैले यो देशलाई प्रेम गर्न सकेको छैन ।
मैले यो देशलाई प्रेम गर्न नसक्नुको आर्को कारण हो, देश छोड्न नसक्नु, मेरा संगैका सहपाठी साथीहरु कोही खाडी मुलुकमा पसिना बगाउँदै छन् । कोही अमेरिका युरोप र अष्ट्रेलियातिर सुन्दर भविष्यको खोजी गर्दैछन् । तर मैले उनिहरु जस्तै यो देश यहाँको सरकारलाई विश्वास नगरेर आफ्नो भविष्यको सुनिश्चित गराउनको लागि देश छोड्ने आँट गर्न सकिन । उनिहरु बर्षै पिच्छे करोडौं करोड रेमिट्यान्स नेपाल पठाउँछन् । नेपालको अर्थतन्त्रको ठूलो हिस्सा बनेका छन् । उनिहरुलाई लाखौं करोडौं रेमिट्यान्स नेपाल पठाउँदै गर्दा मैले राज्यलाई बुझाउने एक प्रतिशत आयकर समुन्द्रको अगाडि फेवाताल राखे सरह हुन्छ । अनि कसरी देखियोस् मेरो देशप्रेम । नेपालमा चाहे खडेरी परोस्, या बाढी आयोस् पहिलो जाओस् या भुईचालो, या कोरोना जस्तो भाईरसको आतंक नै किन नहोस्, आफ्नो कमाईबाट गास काटेर रकम पठाउने विदेशमा भएका नेपालीहरु, अनि जावो चाहि नेपालमै बसेर खोप पनि सरकारले नै दे, दालभात पनि सरकारले दे भनेर कराई रहने । अनि कसरी भनौं भयो, देशलाई मायाँ गर्दछु भनेर । अस्तितिर मात्र यो युरोप तिर भएको एउटा साथीसंग गफ भयो । बडोगर्वले उतैतिरको कार्ड लिएर उतैको नागरिक बनेको कुरा सुनायो । अब उ नेपाल आउँदा पनि पर्यटक बनेर आउने रे । नेपाल सरकारलाई राजस्व तिरेर । यो पो हो त देश प्रेम । देश छोडेर कहि जान सक्नु छैन । ाली जे को लागि पनि सरकार सरकार भन्या छ, कराको छ, गालि गरेको छ । म तिनै कराउने झुण्डहरुको एउटा सदस्य हूँ । त्यसैले पनि मलाई लागेको हो, मैले यो देशलाई प्रेम गर्न सकेको छैन ।
कुनै दिन नेपाल बनि हाल्छ कि भन्ने आसै शासमा देश त छोड्न सकिएन सकिएन, देश छोडेकाहरुले कमाएको पैसा मागेर बाँड्न पनि सकिएन । अनि कसरी भनु मैले यो देशलाई प्रेम गर्छु भनेर । देशमा आपत विपत पर्दा त विदेशमा रहेका, नेपाली दाजूभाई दिदी बहिनीसंग रोइकराई गरेर, हारगुहार गरिकन, दुईचार करोड जम्मा गरेर दुई चार बोरा दाल चामल बाँड्नु पर्दथ्यो । तर म त खाली सरकारलाई व्यूँझाउनको लागि कराउन मै व्यस्त रहे । सरकारले नै गरिदिनु पर्दछ, भन्दै सरकारको मुख ताकि रहेँ । न त मैले कुनै कार्यालयमा पुगेर प्रमुखलाई धम्क्याउने हिम्मत गर्न सकें, न त कसैको नालिबेली पर्दाफास गर्ने कोशिस नै गरें । म त खाली आफ्नै कर्ममा व्यस्त रहें अनि कसरी दावा गरौं मैले यो देशलाई मायाँ गर्दछु भनेर ? न त मैले राजनीतिमा छिर्ने आँट गर्न सकें, न विदेशतिर पलायन हुने आँट नै । न त कसैको कठालो समातेर कसैको काला कर्तुत पर्दाफास गर्न जाँगर नै चल्यो । नेपालको सन्दर्भमा आफूलाई देशभक्त र राष्ट्रप्रेमी देखाउन माथि उल्लेखित मध्ये कतै न कतै सम्लग्न हुनै पर्दछ, कमसेकम तत्कालिन परिस्थितिमा । तर आफू चाहि कतै संलग्न नभएको हुँदा, आफूले देशलाई मायाँ गर्ने प्रमाण देखाउने आधार नै केही पनि भएन मसंग । त्यसैले मैले आफैले भनेको हुँ, मैले यो देशलाई प्रेम गर्न सकेको छैन । खैर, कोही कसैलाई देखाउनु र अरुले भनिदिनु भन्दा पनि जरुरी छ कि म यो देशलाई साँच्चै नै मायाँ गरौं । आफ्नो कर्तब्य पुरा गरौं । दायित्वमा खरो उत्रौं । आफू जे जहाँ जस्तो अवस्थामा छ, त्यहीबाट राज्यको सेवा गर्नु पर्दछ, यो नै वास्तवमा सच्चा देश प्रेम हो । यही मान्यतालाई सिरोपर गरेर अगाडि बढी रहेको छु, तर दुःखको कुरा यो राज्यले मलाई राष्ट्र सेवक नै मान्दैन । मेरो दुःख परिश्रम र योगदानको कुनै कदर नै गर्दैन, किन कि म शिक्षक हूँ । सरकार सोंच्छ म त केबल काम गर्ने एउटा मजदूर हूँ । राज्यप्रति मेरो विशेष भूमिका केही छैन । त्यसैले मलाई लाग्छ, मैले यो देशलाई प्रेम गर्न सकेको छैन । सकेको भए सायद म पनि राष्ट्र सेवकमा गनिन्थें होला ।
मैले गर्न नसकेको देश प्रेम
previous post