पृष्ठभूमिः
नेपालका अदालतबाट हुने न्याय खर्चिलो, बर्षौ लाग्ने, झन्झटिलो भयो भन्ने व्यापक जनगुनासोका बीच मेलमिलाप पद्धतिको अवलम्बन भएसंगै मुद्धा फछ्र्यौटमा सिघ्रता आयो । यसैवीचमा मंगलबार दमौलीमा सर्वोच्च आदलतका न्यायाधीश एवं मेलमिलाप परिषदका अध्यक्ष इश्वरप्रसाद खतिवडाको उपस्थितिमा भएको मेलमिलाप कर्ताहरुको अभिमुखीकरण कार्यक्रमले निश्चित रुपमा केही सन्देश दिएको छ ।
मेलमिलापको वैधानिकताः
मेलमिलाप पद्धतिले नेपालमा संवैधानिक मान्यता प्राप्त गरेको छ । नेपालको संविधानको दुईवटा धाराको व्यवस्थाले मेलमिलापलाई संवैधानिक मान्यता प्रदान गरेको छ । संविधान भन्दछ ‘सामान्य प्रकृतिका विवाद समाधानका लागि मेलमिलाप, मध्यस्थता जस्ता वैकल्पिक उपायहरु अवलम्बन गर्ने’ राज्यको न्याय र दण्ड व्यवस्था सम्बन्धी नीति उल्लेख गरेको छ । अर्को धारामा ‘कानून बमोजिम मुद्दा हेर्न स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न आवश्यकता अनुसार अन्य निकाय गठन सकिने’ भनेर परिच्छेद ११ धारा १२७(२) मा उल्लेख गरिएको । संविधानको यो व्यवस्था अन्तरगत बनेका मेलमिलाप सम्बन्धी ऐन २०६८, मुलुकी देवानी कार्यविधि संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ समेतका जिल्लादेखि सर्वोच्च अदालत नियमावलीहरुले पनि व्यवस्था गरेको छ ।
अभिमुखीकरणमा उठेका सवालः
पालिका तहका प्रमुख, पुरै न्यायीक समिति समेतको सहभागिता रहेको सो कार्यक्रममा स्थानीय तहका न्यायीक समितिलाई डम्पीङ्ग साईड बनाएको, कानून अधिकृतको व्यवस्था हुनु पर्ने, बालबालिका र ज्येष्ठ नागरिकको हकमा जारी हुने संरक्षणत्मक आदेश कार्यान्वयन आधार र पूर्वाधार भएन, एकातिर अदालतमा सम्बन्ध विच्छेद मुद्धा चलिरहेको अवस्थामा फेरी अदालतमा उही पक्ष जोडिएर बहुविवाहको जाहेरी आउने गरेको, मेलमिलापकर्ताको योग्यता स्नातक तोकिदिंदा मेलमिलापकर्ता पाईएन, वेमौसमको बाजा आदी आदी ।
समाधानः
परिषद अध्यक्षबाट उठेका सवालको समाधान सुझाउनु भएको थियो । मेलमिलापको अवधारण रोजगारी सिर्जना गर्न आएको नभई आमनागरिकको मर्मलाई सम्बोधन गर्ने विकल्पको रुपमा आएको हुँदा सेवाको भावनाले मात्र मेलमिलाप पद्धति जीवन्त हुने बुझाइयो । कुसल मेलमिलाप कर्तालाई पारिश्रमिक होइन, इनाम आउँछ, त्यो पारिश्रमिक भन्दा मूल्यवान हुन्छ भनेर सबैलाई सेवाभावले काम गर्न उत्प्रेरित गरिएको थियो ।
निष्कर्षः
नेपाली परिवेशलाई मेलमिलाप पद्धति आवश्यक छ । तर मेलमिलापकर्ताको पहिचान हुन सकेको छैन । अवसरको खोजी गर्नेहरुलाई होइन, सेवा गर्न चाहनेहरुलाई मेलमिलापकर्ताको रुपमा भित्र्याउन सक्नु पर्दछ र क्षमता अभिबृद्धि गर्नुपर्दछ ।