ल्यापटप अगाडि बसेर यो साताका लागि के लेख्ने भनेर गम खाँदै थिए, म्यासेन्जरमा एउटा बालसखाको मेसेज आयो, के छ खबर ? दसैँ मान्न गाउँ जाने कि दमौली मै ? मेसेन्जरबाटै भिडियो कलमा जोडिएर केहि छिन् हामी गफियौं । धुले पाटीमा क, ख लेख्न सिकेका कुरादेखि खाजा खाने छुट्टीमा कहिले बेलौती त कहिले काफलको बोट अनि कहिले ऐसेलु घारी चाहारेको क्षण सम्झेर त्यही समयमा भएको अनुभूति संगाल्यौं । बाल्यकालका केही थप अनुभूति साटासाट गर्न अनि विजया दशमीको शुभकामना साटासाट गर्न बाँकी नै थियो, अघिल्लो साता काम चलाउ ढंगले बनाएको मोवाइल तात्यो र आँफै अफ भयो । कुराका बिट मर्नै पाइएन ।
शिसु कक्षादेखि ७ कक्षासम्म संगै पढेको र घर नजिक भएकाले दशैं, तिहार, तीज जस्ता चाडपर्व पनि झण्डै संगै मनाएको उसंग म दशैं, तिहारका रमाइला क्षणहरुको स्मरण गरेर रमाउन चाहन्थेँ । मेरो मोबाइल हामी बिच भिलेन बनेर आयो । लामो अन्तराल पछिको मेरो दमालीको मेसेजले एउटा काम भने ग¥यो । अब के लेख्ने भन्ने द्विविधा हट्यो र बाल्यकालको दशैंका बारेमा लेख्ने निधो गरें । बाल्यकालको दशैको मलाई धेरै सम्झना त छैन तर बुबाले चैतको अन्तिमतिर पात्रो लिएर आउनु हुँदा उहाँको हातबाट पात्रो खोसेर दसैँ कहिले रहेछ भनेर हेर्ने गरेको सम्झना भने ताजै छ । लामो बिदा हुने, खासै काम गर्न नपर्ने, गाउँलेसंग मिलेर सरसफाइका काम गर्ने, अग्रज र दामलीहरुसंग पिङ बनाउन बाबियो काट्न जाने, पूजा समाग्री लिएर मन्दिर जाने, यस्तै यस्तै काम हुन्थे दशै बिदाका, जुन रमाइलो लाग्ने खालका हुन्थे । बिदाका होमवर्क भने हामी धेरैले बिदाको पहिलो वा दोस्रो दिन नै घुँडा धसेर सकिसकेका हुन्थ्यौं ।
दसँैंको रमाइलो भने पिङ हाले पछि प्रारम्भ हुन्थ्यो । हाम्रो घर नजिकै रोटे पिङ, लिङ्गे पिङ र जाँते पिङ हाल्ने चलन थियो । यसका लागि कोही रोटे पिङ तथा जाँते पिङका लागि काठ काट्न जाने, काटेर ल्याउने लगाएतका काम गर्न जानुहुन्थ्यो । हामी बाबियो काट्न जान्थ्यौं अनि पिङ बाट्नेहरुलाई बाबियो केलाएर दिन्थ्यौं । पिङ समान उमेर समूहका युवा युवतीको भेटघाटको थलो बन्थ्यो । हाम्रो भने पिङ कसले पहिले खेल्ने, कसले घेरै बेर खेल्यो, कसले खेल्न पाएन् भन्ने कुरामा परस्पर रस्साकस्सी गर्दैमा तँ,तँ र म म गर्दैमा समय वित्थ्यो ।
कोजाग्रत पूर्णिमाका दिन गाउँमा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएकाले बेलुका खाना खाएपछि त्यसको तयारीका लागि विद्यालय वा गाउँमा खाली भएको घरमा जम्मा हुन्थे दाइदिदीहरु । हामी भारेभुरेलाई भित्र पसेर हेर्न दिँइदैनथ्यो तर झ्यालबाट चिहाउन पाइने वा मौका परे भित्र पसेर कसले कुन गीतमा नाचेको अभ्यास गरेको छ हेर्न पाइने आशाले बेलुकाको खानापछिको गन्तव्य हाम्रो पनि त्यतै हुन्थ्यो । झ्यालबाट चिहाएर हेर्नु अनि लुसुक्क भित्र पसेर हेर्नुको मज्जै बेग्लै ।
दैनिक दुर्गा मन्दिर गएर पुजाआजामा सहभागी हुनुका अतिरिक्त आमा दिदीहरुसँग सालका पात टिप्न जानु, खोटो बनाउन सालका बोक्रा लिन जानु, घर लिपपोत गर्न रातो माटो लिन जानु मेरो दैनिकी हुन्थ्यो । यी काम आमा बुबाको करले होइन बरु रहरले गर्थेँ । दशैंमा घर लिपपोतका लागि माटो लिन जाँदा ढिस्कोले पुरिएर ज्यान गएको समाचारले भने मन खिन्न बनाउँथ्यो ।
लामो समय सालका बोक्रा पकाएपछि खोटो तयार हुन्थ्यो । त्यसलाई हामी घरका झ्याल– ढोकामा लगाउँथ्यौं । खोटोले नै झ्यालको आकृति बनाउने चलन पनि थियो । रातै र कालै भएर भएपनि घरका कुनाकाप्चा सबैतिर लिपपोत गरेर घर चिटिक्क हुन्थ्यो र यस्तो काममा म सक्रिय भएर आमा–दिदीलाई सघाउँथें । फूलपातीको दिन बुबाले मलाई केरा, अनार, धान, बेसार, कर्कलो, हलेदो, बेल, अशोक र जयन्ती आदिको पात जम्मा गर्न लगाउनु हुन्थ्यो । काकाका छोराहरु र म मिलेर यी सबै नवपल्लवहरु जम्मा पाथ्र्याै । बेलुका हर्ष बढाईँका साथ गाउँले मिलेर देवी दुर्गाको मन्दिरमा विधिपूर्वक कालरात्रीको पूजा आराधना गरेर फूलपाती भित्र्याउने गरिन्थ्यो । फूलपातीको आसपास गाउँमा भारत लगाएत वैदेशिक रोजगारीमा रहेका र रोजगारीको सिलसिलामा गाउँ बाहिर रहेकाहरु गाउँ आइपुग्थे । यसले गाउँमा भिन्नै खालको चहलपहल ल्याउँथ्यो । खासगरी लाहुरे भनिनेहरुसँगै गाउँ भित्रिने टेपरेकर्डरमा बज्ने विभिन्न खाले गितले दसैं साँच्चै रमाइलो गराउँथ्यो । हाम्रो घरमा आजनै खसी काटिन्थ्यो प्रायः । काकाहरु, छिमेकका दाजुहरु खसी काट्न आउनु हुन्थ्यो । खसी काटेर मासु भित्र्याउने बेला ३÷४ धार्नीमात्र भागमा परेपछि म बुबासँग गुनासो गर्थें, बा मासु थोरै भएन र ? कमाइको कुनै स्थायी स्रोत नभएका बाको समस्यासँग सायद मलाई चासो थिएन । तर अरुबेलाभन्दा निकै धेरै मासु घरमा भित्रिन्थ्यो । र हामी पचाउन सजिलो होस् भनेर मासुसँगै दही, मही खान्थ्यौं । अष्टमीको दिन विहान घरघरमा महागौरीको पूजा सहित बोकाको बली दिइन्थ्यो । बोका नदिनेले कुभिण्डोको बली दिन्थे । नवमीको दिन सिद्धिदात्रीको पूजा गर्ने र खसी काट्ने काम हुन्थ्यो । दसैँको मुख्य दिन आउँथ्यो – दशमी । उठेर नुहाइधुवाई गरी पूजाका सरजाम लिएर दुर्गा मन्दिर जानु हामी छोराछोरी टोलीको दैनिकी सुरुवात हुन्थ्यो । बुबा गाईवस्तुलाई घाँस परालको व्यवस्था तिर लाग्नु हुन्थ्यो भने आमा घरको अन्य तयारीमा । मन्दिरबाट देवीको प्रसाद टिका लिएर आएर घरमा मुछि राखेको अक्षतामा मिसाएपछि मात्र लगाउने गरिन्थ्यो । टिका लगाउन र आशीर्वाद सँगै दक्षिणा लिन हामी नयाँ लुगा लगाएर तयार हुन्थ्यौं ।
बुबा टिका लगाईदिँदा आशीर्वचनको अर्थसमेत भन्ने गर्नुहुन्थ्यो । मेरो मनमा दिदी र बहिनीलाई टिका लगाईदिँदा वाचन गर्ने मन्त्र र मेरा लागि वाचन गरिने मन्त्र फरक पाउँथे । अलि बुझ्ने भएपछि सोधें, किन यस्तो बुबा ? बुबाले छोराहरुलाई आशीर्वाद दिने तर छोरीलाई देवी दुर्गाको स्वरुप मानिने भएकाले दुर्गाका भिन्न रुपको प्रार्थना गर्दै देवीको भक्ति स्वीकार गर्न आग्रह गरिने बताउनु भएको थियो । अरु मलाई याद छैन तर बुबाले निधाारभरी हुनेगरी रातो टिका लगाएर अर्थ सहित शत्रु क्षयम राघवे भनेर आशीर्वचन उच्चारण गर्दा म शत्रुलाई पराजित गर्नमा राम जस्तै बन्न सकुँ भन्ने कामना मनमनै गर्थें । घरमा बुबा, आमा, हजुरबा–आमा,काका–काकीहरुको हातबाट टिका लगाएपछि हामी गाउँका सबै मान्यजन कहाँ टिका लगाउन जान्थ्यौं । कतिपय घरमा टिका, आशीर्वाद, प्रसादसंगै दक्षिणा पनि पाइन्थ्यो । उहाँहरुले दिने सुका, मोहरले पनि हामीलाई खुसी बनाउँथ्यो । साथीहरुबिच कसको दक्षिणा धेरै भयो भनेर आ–आफ्नो दक्षिणा गनेर देखाउने होड र आफ्नो धेरै भए खुसीले उफ्रने हामी धेरै हुन्थ्यौ ।
मेरो सम्झनाको दशैं
previous post