हिन्दु धर्मालम्बीहरुको ठूलो पर्वहरु मध्ये दोस्रो ठूलो पर्वको रुपमा लिइने चाड तिहार शुरु भईसकेको छ । तिहार मुलतः ५ दिनसम्म मनाईन्छ । पहिलो दिन काग तिहारबाट शुरु हुने तिहार पाँचौ दिन भाईटिका लगाएर समाप्त हुन्छ । पहिलो दिन काग तिहार भएजस्तै दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार अथवा लक्ष्मी पुजा, चौथो दिन भाईटिका पर्दछ । तिहारको पाँचौ दिनको आ–आफ्नो महत्व छ । पहिलो दिन कागलाई सन्देश वाहक पन्छिको रुपमा पुजिन्छ । दोस्रो दिन कुकुरलाई हाम्रो रखवार गर्ने जनावर भएको कारणले पुजिन्छ । त्यस्तै तेस्रो दिन लक्ष्मी पुजा भएकोले र गाईलाई लक्ष्मीको रुपमा मानिने भएकोले गाईलाई पुजिन्छ । आफ्नो धनधान्य र श्रीको सधैं वृद्धि होस् । गरीबी आफ्नो निकट नआओस् । आफु सम्पन्न र समृद्ध हुन सकौं भन्ने कामना गर्दै बडो धुमधामका साथ लक्ष्मी पुजा मनाईन्छ । लक्ष्मी पुजाको दिनलाई दिपावलीको रुपमा पनि लिईन्छ । यस दिन घर भरी दिप प्रज्वलन गरी लक्ष्मीको आफ्नो निवासमा वास होस् भनि प्राथनाका साथ स्वागत गरीन्छ । लक्ष्मी पुजाको भोलीपल्ट अर्थात् चौथो दिन गोवद्र्धन अर्थात गोरुको पुजा गरीन्छ । धर्तीलाई जोतेर अन्न उब्जाउन मद्दत गर्ने जनावर भएकोले हुनुपर्छ गोरुलाई पुज्ने गरिएको । हुन त मानव जीवन केवल काग, कुकुर, गाई र गोरुको साहाराले मात्र चल्दैन । मानिसलाई प्रकृतिमा उपलब्ध हर प्रकारका जीवजन्तुको उत्तिकै आवश्यकता पर्दछ । साना भुसुना देखि भिमकाय गैडा हात्तिसम्मको आ–आफ्नो महत्व छ मानव जिवनमा । तैपनि यी चार जनावरको विशेष महत्व हुने भएर हो कि यी जनावरहरुलाई मात्र पुज्ने गरिएको ? यो वहस गर्न मिल्ने अर्को पाटो भयो अहिलेलाई पाँचौ दिन तर्फ लागौं । तिहारको पाँचौं तथा अन्तिम र सबैभन्दा महत्वपूर्ण दिन अर्थात्
भाईटिका । भाईटिकाका दिन दिदिवहिनीले आफ्नो दाजुभाईलाई सप्तरङ्गी टिका सँगै सयपत्री र मखमलीको माला लगाईदिएर, आफ्नो दाजुभाईको दीर्घायुको कामना गर्दछन् । दैलोमा ओखर फोरेर आफ्नो दाजुभाईको दैलो भित्र दुःख पस्न नसकोस् भनेर कामना गर्दछन् । दाजुभाईलाई मिठो मसिनो बनाएर खुवाउछन् । दाजुभाईले पनि आफ्नो दिदिबहिनिको प्रेमलाई सहृदय स्वीकार गरी आफूले सक्ने दानदक्षिणा, वस्त्र लगायत प्रदान गर्दछन् । एउटा दृष्टिकोणबाट हेर्ने हो भने तिहारलाई दाजुभाई र दिदिबहिनी बीचको सद्भाव र प्रेमको चाडको रुपमा लिदा अतिशायुक्ति नहोला पनि ।
तिहार पर्वलाई तिहार दिपावली भनेजस्तै अर्को एउटा नामले पनि चिनिन्छ । त्यो हो यमपञ्चक । पाँच दिनसम्म मनाईने, यमराजको सन्देशवाहक पशुपन्छिको पुजा गरीने र आशिर्वाद दिदा र कामना गर्दा दिर्घायुको कामना गरीने भएकोले नै सायद यो पाँच दिनलाई यमपञ्चक भनिएको हुनुपर्छ । तिहार र मृत्युका देव अर्थात यमराजको बारेमा सानै देखि एउटा मिथक सुन्दै आएको छु । जुन यसप्रकार छ ।
यसराजलाई मृत्युको देउताको रुपमा लिईन्छ । भनिन्छ सांसरिक प्राणिहरुको आयु सकिएपछि यमराजले ती प्राणिहरुको प्राण हर्छ । आयु सकिएपछि न मानिस न अन्य कुनै प्राणि चाहेर पनि संसारमा बाँच्न सक्दैन, पाउँदैन । सायद त्यसैले पनि होला बुढापाकाहरु भन्ने गर्छन् ,‘दिन नपुगेसम्म जान्छु भनेर नहुने, दिन पुगेपछि बस्छु भनेर नपाइने ।’ प्रत्येक दिन संसारमा ककस्को आयु सकियो, ककस्को प्राण हर्नुपर्यौ यो सबै मृत्युदेव अर्थात् यमराजको काम हो भनिन्छ । यसरी हेर्दा संसारमा जीवनजगतको शुरुवात भएदेखि नै यमराज व्यस्त, सधै व्यस्त, दिनहुँ व्यस्त । आफ्नो काम छोडेर कहिल्यै कहि कतै जान नपाउने । नातागोता, इष्टमित्र भेटघाट केहि गर्न नभ्याउने । हजारौं हजार वर्ष एकदिन पनि छुट्टी भन्न नपाई काममा घोटिनु परेको देख्दा यमराजको बहिनीलाई साह्रै न्यास्रो लागेछ । त्यसैले उनले दाईलाई केहिदिन कामबाट छुट्टि लिएर आफ्नो घर आउन भनिछन् । शुरुमा त यमराजले सांसरिक समयगतिको चक्र बिग्रेला भन्ने डरले भो भनेछन् तर बहिनिले साह्रै कर गरेपछि हुन्छ तनी भनेर प्रस्ताव स्वीकार गरेछन् र आफ्नो दुतहरुलाई ल अब पाँच दिनसम्म म बहिनीको घर गएर बस्छु । तिमिहरुलाई पनि यो पाँचदिन छुट्टि ।
यो पाँचदिनसम्म चाहिँ संसारमा कहि कसैको प्राण हरिदैन, पाँचदिनसम्म कोहि पनि मर्नु पर्दैन भनेर पाँच दिनको लागि आफ्नो कामबाट बिश्राम लिई बहिनीकोमा गएछन् । त्यहि बेलादेखि यी पाँच दिनलाई यमपञ्चकको रुपमा मनाउन थालिएको हो । विश्वास गरिन्छ कि यमपञ्चकको यो पाँच दिन भित्र कोहि कसैको मृत्यु हुँदैन । त्यसैको खुशियालीमा तिहार मनाउन थालिएको छ ।
तिहारको बारेमा अर्को एउटा मिथक यस्तो पनि छ । परापूर्वक कालमा बलि नाम गरेको एकजना अत्यन्तै प्रतापी राजा थिए । उनी शुरवीर र जनकल्याणकारी मात्र थिएनन् भविष्य पनि देख्न सक्थे । उनको यहि शक्तिले गर्दा उनले आफ्नो मृत्यु हुने दिनको बारेमा थाहा पाए र यो कुरा आफ्नो प्रजाहरुलाई पनि सुनाए । प्रजाहरु माझ उनी यति प्रिय थिए कि उनका प्रजाहरुले उनको मृत्युलाई सहजै स्वीकार्न सकेनन् र यो विपक्तिबाट कसरी मुक्त हुने भनेर चिन्ता गर्न थाले राजा बली अनि प्रजाहरुको संयुक्त छलफलबाट यो तय भयो कि यमराज बलिराजालाई लिन आउँदा उनलाई(यमराज) प्रसन्न गराउने र बलिराजाको जीवन दान माग्ने । समय भएपछि यमराज बलिराजालाई लिन आए । प्रजाहरुले पनि सल्लाह अनुसार नै यमराजलाई प्रसन्न गराउन नगर भरी दिपावली गरी झिलिमिलि बनाए । मिठो मिष्ठान्न भोजन तयार गरी यमराजलाई समर्पित गरे । यमराज उनीहरुको आतिथ्यताबाट प्रसन्न भई बरदान माग्न भन्दा उनीहरुले बलिराजाको प्राण मागे । वचनमा बाधिइसकेको हुनाले यमराजले पनि बलिराजालाई प्राणदान दिएर रित्तै हाम यमलोक फिरे । प्रजाहरु आफ्नो प्राणको रक्षा गरिदिएको हुनाले बलिराजा प्रसन्न भएर आफ्नो प्रजाहरुलाई जाउ कहि कतै गएर नाचगान गरी मागेर खाऊ रमाईलो गर भन्ने आदेश दिए । तिहारमा देउसी भैलो खेल्ने प्रचलन त्यतिबेलाबाट शुरु भएको हो भन्ने विश्वास गरिन्छ । सायद त्यसैले होला देउसी भैलो खेल्दा हामि त्यसै आएका होइनौं बलि राजाले पठाएको भनेर भन्ने गरिन्छ ।
तिहारको सन्दर्भमा भन्ने गरीएको यो दुई मिथकहरु फरक फरक भएपनि यसमा एउटा कुरा समान छ । मृत्युको कुरा । पहिलो मिथकमा यसराज स्वयम्ले राजी खुशिले प्राण नहर्ने कुरा प्रस्तुत गरीएको छ भने दोस्रोमा वचनमा बाधिएकोले प्राण हर्न नसकेको कुरा ।
जेहोस् समान कुरा चाहि के भने मृत्यु हुँदैन । त्यसो हो भने के सोच्दै यो पाँच दिन मृत्युदेव अर्थात् यमराजले आफ्नो कार्यबाट छुट्टी लिन्छन् त ?
मिथकका कुराहरु र बैज्ञानिक तथ्यहरु एक आपसमा मेल नखान पनि सक्छन् । अक्सर त खाँदैनन् पनि । मिथकलाई मान्ने हो भने यमपञ्चकको पाँचदिनसम्म कसैले पनि मृत्युवरण गर्नुपर्दैन तर वैज्ञानिक तथ्यले एक सेकेण्डमै संसारमा हजारौं लाखौं मानिस जन्मने र मर्ने कुरा बताउँछ । त्यसो भए मिथक पुरा कपोकल्पित हो त ? आजको समयमा त्यसको कुनै महत्व छैन त ? मिथकले केहि अर्थ राख्दैन त वर्तमान परिवेशमा ? अवश्य पनि मिथक काल्पनिक कथा हुन् तर मानव जीवनमा हिजो पनि त्यसको महत्व थियो । आजपनि छ र भोलीपनि हुनेछ । अब कुरा आउँछ यमपञ्चकमा मानिस पर्छन् या पर्दैनन् ? वैज्ञानिक दृष्टिकोणमा यो आधाहिन कुरा हो तर धार्मिक रुपमा मानिदै आएको यो कुरा अर्थात् तिहारमा यमराजले कामबाट छुट्टिलिन्छन् भन्ने कुरालाई सहि सावित गर्ने कि गलत भन्ने कुरा मात्र प्रमुख हुन्छ । त्यसको धार्मिक ऐतिहासिक महत्व छायाँमा परेको हुन्छ । तिहार पनि त्यस्तै रमाईलो गर्ने चाड मध्ये पर्छ । चाडबाडमा नखाए कहिले खाने भनेर अत्याधिक स्वास्थ्यलाई हानी गर्ने कुराहरुको सेवन गर्दा मानिसले ज्यान गुमाउनु परेको कुराको प्रमाण हाम्रै समाजमा छन् । चाड हो भन्दै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनामा ज्यान गुमाएको यथार्थ हामीबाट लुकेको छैन । रमाईलोको लागि भन्दै साथी साथी सँगै खाँदा खाँदै कुरा नमिलेर साथीले साथीको हत्या गरेको कुरा हामीले नसुनेको होइन । जुवातासको खालमै झैझगडा परी अप्रिय घटनाहरु नघटेका होइनन् ।
जुवामा सर्वस्व गुमाएर परीवारको विचल्लि परेको, मानसिक तनाब सहन गर्न नसकेर आत्महत्या गरेको घटनाहरु पनि हाम्रो समाजमा नघटेको होइनन् । त्यसैले हामी आफ्नै हातमा पनि धेरै कुरा भर पर्छ यो पाँच दिन साँच्चै यमराजलाई कामबाट छुट्टी दिने कि नाई भन्ने सन्दर्भमा । त्यसैले चाडपर्व मनाउँदा चाडबाडको धार्मिक र ऐतिहासिक महत्वलाई ख्याल गरी मनाउँ । न कि अनावश्यक फजुल खर्च र देखावटीपनाको लागी । तिहारको पाँचै दिन सहि यमराजलाई आफ्नो कामबाट छुट्टी दिऊँ । कमसेकम हामी आफ्नै कारणले गर्दा यमराजले काममा फर्किनु
नपरोस् । सबैमा तिहारको शुभकामना । आस्तु ।
मृत्युदेवले छुट्टी लिने ५ दिन
previous post