
इन्टरनेट अर्थात वर्तमान मानव समाजको अनिवार्य अंश । सूचना तथा सञ्चारको नविनतम् र आधुनिकतम माध्यम । यस्तो लाग्छ इन्टरनेट विना अब मानिसको जीवन सम्भव नै छैन । जहाँ गएपनि हाम्रो पहिलो चासो हुन्छ, यहाँ वाइफाई छ कि छैन भए पासकोड कति हो ? अनि सुरु हुन्छौं समाजिक सञ्जालमा अपडेट हाल्न वा साथी भाइसंग गफिन वा गुगलमा गएर कुनै नयाँ सामग्री खोज्न अथावा युट्युव आदिमा गएर नयाँ भिडियोहरु हेर्न ।
तर पछिल्लो समय जसरी इन्टरनेटमा मानिसहरु आश्रित हुँदै गएका छन् त्यसले निम्त्याउन सक्ने समस्याका बारेमा विचार विमर्शहरु पनि हुन थालेका छन् । जसरी आगोलाई सही ढंगले चलाउन सक्दा हामी त्यसबाट खाना बनाउन वा अन्य काम गर्न सक्छौं र त्यो नभई हाम्रा काम बन्दैनन् तर त्यही आगोलाई राम्ररी चलाउन नजान्दा क्षण भरमै हाम्रो घर खरानी हुन बेर लाग्दैन । त्यसरी नै इन्टरनेटको प्रयोग पनि सहि भयो भने त्यसले हामीलाई राम्रो प्रतिफल दिने वा त्यसबाट फाईदा लिन सकिने हो तर बढी भयो भने चाहीँ यसले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पर्न थाल्दछ । जुनसुकै कुराका पनि सकारात्कम र नकारात्मक पक्षहरु हुन्छन् । त्यसलाई कसरी ग्रहण गर्ने भन्ने कुरा हो । इन्टरनेटको प्रयोगले खासगरी हाम्रो मानसिक स्वास्थ्यमा सकारात्मक र नकारात्मक दुवै प्रभाव वा असर पार्दछ जसको चर्चा यहाँ गर्न चाहन्छु ।
सबैभन्दा पहिले त हामी कुनै तनाबबाट गुज्रिरहेका छौं भने यसको प्रयोग मार्फत आफ्नो जस्तै तनाबबाट गुज्रेका र छुटकारा पाएका मानिसहरुको समूहमा हामी आबद्ध हुन सक्छौं ।आफुसंग समानुभूति राख्ने साथी र समूह भेट्न सक्छौं । यसले हामीलाई तनाबबाट मुक्त हुने विभिन्न उपायहरु मिल्न सक्छ र अवश्य पनि हाम्रो मानिसक स्वास्थ्यमा सकारात्मक असर पर्दछ । वर्तमान सन्दर्भमा मानिलिउँ म कोभिडबाट संक्रमित भएको छु र यसले मलाई तनाब दिएको छ भने म इन्टरनेटको माध्यमबाट कोभिड संक्रमिति र कोभिडको संक्रमण भएर उपचार पछि निको भएका विभिन्न मानिसहरुसंग सम्पर्कमा आउन सक्छु । उनीहरुसंगको कुराकानी र अनुभव आदान प्रदानले मलाई कोभिडसंग कसरी लड्ने र विजय प्राप्त गर्ने भन्ने विभिन्न उपायहरु प्राप्त हुन्छ । यसले आफुमात्र कोभिड संक्रमित नभएको र कोभिड संक्रमण हुनु भनेको जीवनको समाप्ती होइन भन्ने थाहा हुन्छ । अरुजस्तै मपनि कोभिडसंग लडेर विजय प्राप्त गर्न सक्छु भन्ने आत्म विश्वास पलाउँछ । यो भनेको मेरो मानसिक स्वास्थ्यमा पर्ने सकारात्मक असर हो ।
कुनै कुलतमा परेको मान्छे यसैको सहायताबाट कुलतबाट उम्केका मानिसहरुको सम्पर्कमा जान सक्छ र त्यसबाट उम्कने उपायहरुको बारेमा जानकारी पाउन सक्छ । कुलतबाट आफुलाई मुक्त बनाउन सफल व्यक्तिहरुको सफलताको कथाबाट उत्प्रेरित भएर आफु पनि कुलत मुक्त हुन सक्छ । जीवनका प्रति सकारात्मक भाव उत्पन्न हुन थाल्छ । यसको अर्थ उसमा रहेको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव परेको भन्ने नै हो । यस्ता अन्य थुप्रै उदाहरण हुन सक्छन्, इन्टरनेटको प्रयोगले मानिसको मानसिक स्वास्थ्यमा पारेको सकारात्मक प्रभाव बारेका ।
इन्टरनेटको प्रयोगबाट हामीले विभिन्न उत्प्रेरणा प्राप्त गर्ने श्रोतहरु प्राप्त गर्न सक्छौं । ठूलो भनिएको संसार इन्टरनेटका कारण सानो भएको छ । अझ भनौं संसार हाम्रो हातको औलामा सिमित भएको छ । हातका औला चलाएको भरमा इन्टरनेटको माध्यमबाट हामी संसार घुम्न, त्यहाँको भूगोल, भाषा, संस्कृति, सभ्यता, खानपान, रहनसहन, रितिरिवाज, भेषभुषा लगाएत सबै विषयमा जानकारी पाउन सक्छौं । यसले हाम्रो ज्ञानको भण्डारलाई भरिदिन्छ र जसरी हामी घरमा धानको भकारी भरिँदा सन्तुष्ट हुन्छौं त्यसरी नै हाम्रो ज्ञानको भण्डार भरिँदा मानसिक रुपमा स्वस्थ्य र फर्तिलो हुन्छौं आर्थत हाम्रो मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्दछ आजकल इन्टरनेटको माध्यमबाट युट्युवा वा लाईभका माध्यमबाट बाढी पहिरो, भूकम्प, आगलागी जस्ता कारणबाट घरबास गुमाएका, अभावका कारण खान नपाएका, घरको बहिष्करणमा परेर घर न गोठको भएका बृद्ध बृद्धा, जटिल रोग लागेका र उपाचार गर्ने पैसा नभएर नागकिय जीवन विताउन बाध्य भएकाहरुका लागि सहयोग जुटाउने र घर, गास, लुगा अनि स्वस्थ्य उपचार गराउनेहरु निकै भएका छन् । यसले एकातिर सहयोग जुटाउनेको मनमा आफुले राम्रो काम गर्न सकेको भनेर अत्मसन्तुष्टि हुुन्छ र उनीहरुको मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्छ भने घर,वास, लुगा र उपचार पाएकाको मानसिक स्वास्थ्यमा पनि उस्तै सकारात्मक असर पर्दछ । यसका साथै टिकटक बनाएर मानिसहरुले आफ्नो अभिनय भोक मेटाएका छन् । १५ सेकेण्डका छोटा भिडियो मार्फत आम मानिसले आफ्नो अभिनय भोक मात्र मेटाएका छैनन् बरु राम्रो कमाई पनि गरेका छन् । देशका नाम चलेका कलाकारमा गनिन पुगेका छन् ।
वर्षाैदेखि पर रहेका आफन्त, साथी भाई र परिवारका सदस्यसंग जोडिन पाउने इन्टरनेटको अर्काै फाईदा हो । इन्टरनेटको सहयोगमा सामाजिक सञ्जालहरुको माध्यमबाट हामी वर्षौै देखि सम्पर्कमा नरहेका वा सम्पर्कमा रहेर पनि भेटघाट गर्न नपाएका आफन्त, साथीसंगी र परिवारका सदस्यसंग भेटघाट, भलाकुसारी गर्न सक्छौं । सामाजिक सञ्जालमा उसले अभिव्यक्त गरेका विचारहरुमा वा पोष्ट गरेका तस्विरहरुमा लाईक, कमेन्ट र रियाक्ट गरेर हामीले उसंगै रहेको अनुभूति दिलाउन सक्छौं । अहिले त भिडियो कल गर्ने सुविधा पनि आएको छ । कोही सात समुन्द्र पारि छ, भेट नभएको वर्षाै भयो भन्नु पर्ने अवस्था अहिले छैन ।
यसरी पर रहेका आफन्त, साथीसंगी र परिवारका सदस्यलाई भेट्ने, कुराकानी गर्ने र सम्बन्धमा ताजापन ल्याउने वा पूनः ताजगी गर्ने अवसर इन्टरनेटले हामीलाई दिएको छ । यसले हामी र हाम्रा आफन्त, साथीभाई र परिवारका सदस्यको मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्दछ । कोभिडको समयमा विद्यालय उमेर समूहका बालकालिकामा पढाई छुटेका कारणले एकखाले तनाव उत्पन्न भएको थियो । ईन्टरनेटको सहायताले उनीहरु आफ्ना शिक्षकसंग जोडिन पाए र पढाई छुटेको तनाब कम त भयो नै नयाँ तरिकाले पढ्न र सिक्न पाएकोमा मानसिक रुपमा स्वस्थ्य भए ।