मध्ये पुषको मुटु कमाउने जाडोमा सत्ताधारी दल नेकपाको नेपाल–दाहाल समूहका नेताहरु हातमा “हामी यहाँ छौं” लेखिएको प्लेकार्ड लिएर काठमाण्डौंको सडकमा बसेपछि “हामी यहाँ छौं” निकै प्रयोग र चर्चामा छ ।
एकथरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरु नेपाल–दाहाल समूहलाई व्यङ्ग्य गर्न यो स्लोगन प्रयोग गरिरहेका छन् भने केहीले कुनै नयाँ ठाउँ घुम्न गएका तस्विर राख्नुपर्दा हामी यहाँ छौं भनेर एक हिसाबले रमाइलोका लागि स्लोगनको प्रयोग गरिरहेका देखिन्छन् । कतिपयले भने यसलाई जिम्मेबार पदाधिकारीहरुलाई खबरदारी गर्ने औजारको रुपमा पनि यसलाई प्रयोग गरको पाईन्छ । चल्तीको भाषामा भन्नु पर्दा नेपाली समाजिक सञ्जाल प्रयोगकर्ता माझ “हामी यहाँ छौं ” भाइरल भएको छ । र सम्भवतः नेपाल–दाहाल गठबन्धनको यो क्रियाकलापको प्रसंशा कम र निन्दा वा खिसिट्युरी ज्यादा भएको छ । आफुलाई समस्या पर्दा हामी यहाँ छौं भनेर सडकमा निस्कन सक्ने नेताहरु किन आम नागरिक समस्यामा पर्दा सडकमा आउन नसकेका भनेर खिसिट्युरी गर्नेको संख्या समाजिक सञ्जाल, सार्वजनिक मञ्च वा पत्रपत्रिकामा धेरै छ ।
तिनवर्ष अगाडि फागुन ३, २०७४ मा केपी ओलीलाई विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्दा न त उनले संसद सदस्यको सपथ खाएका थिए न त उनी तत्कालिन एमालेको संसदिय दलको नेतामा निर्वाचित नै भएका थिए । अहिले ओलीले कानुन सम्मत काम गरेनन् भनेर सडकमा नारा उराल्ने माधव–प्रचण्डहरु त्यतिबेला कहाँ थिए भनेर नागरिकले किन प्रश्न नगर्ने ? ओलीको नियुक्ती विधिसम्मत भएन भनेर त्यतिबेला किन भन्न नसकेको ? दुुइवर्ष अगाडि कञ्चनपुरकी बालिका निर्मला पन्तको शव बलात्कार पछि निर्मम हत्या गरिएको अवस्थामा भेटियो । सरकारी संयन्त्र बलात्कारी हत्यारालाई कानुनको कठघरामा ल्याउनु साटो पिडितलाई पर्खाएर गलाउने रणनीतिमा लाग्यो । दण्डहिनता मौलायो र देशका लाखौै निर्मलाहरु निर्धक्क भएर सडकमा हिंड्न सक्ने अवस्थामा छैनन् । त्यतिबेला माधव–प्रचण्डहरु निर्मलाको न्यायका लागि सडकमा आएनन् । न त आफ्ना समर्थकहरुलाई निर्मलाहरुको न्यायका लागि सडकमा आउन र न्यायको आवाज बुलन्द पार्न आग्रह गरे । निर्मलाहरुको पिडाले उनीहरुलाई लेस मात्रपनि
छोएन ।
गत चैतमा देश कोरोनाको महामारीले आक्रान्त थियो । सरकारका मन्त्रीहरु कोरोना नियन्त्रणका लागि ल्याउन लागिएको औषधीमापनि भ्रष्टाचार गर्दै थिए तर सत्ताधारी दलको अध्यक्ष र वरिष्ठ नेताका हैसियतले गर्नसक्ने कुनै काम माधव–प्रचण्डले गरको
देखिएन । कहिल्यै उनीहरुले सदनमा, पार्टीको बैठकमा र सडकमा उनीहरुका समस्याका बारेमा कुरा गरको सुनिएन । सुनियो त केबल कुर्सीका लागि गरिएको कचकच र गनगन ।
कोरोनाका कारण रोजगारी गुमाएका र सांझ विहान हातमुख जोर्न समस्या भएका नागरिक काठमाण्डौंबाट हप्तौ लगाएर भोकै र नाङ्गो गाडाले सूदुरपश्चिमको बैतडी देखि पूर्बको काकरभिट्टासम्म हिंडेर पुगे । काठमाण्डौमा वस्ने सत्ताधारीहरु त्यसलाई नियोेजित भनेर नागरिकको घाउमा नुनचुक छर्दैरहे । त्यतिबेला पनि माधव–प्रचण्डहरु न त सडकमा देखिए न हप्तौ पैदल हिडेर गन्तव्यमा पुग्नेहरुलाई सघाउन आफ्नो तर्फबाट यातायातको व्यवस्था गर्न सके । न त रोजगारी गुमाएर भोकै भएकाहरुलाई एक छाक खानको व्यवस्था गर्न सके ।
अझ विडम्बना त के भने रत्नपार्क छेउ निःःशुल्क खाना खुवाउनेहरुलाई महानगरको वेइज्जत भयो भन्दै सरकारले लखट्ेयोे । नागरिक भोकभोकै मर्दा इज्जत नजाने तर सार्वजनिक स्थलमा खाना बाँडेर भोकको आगो निभाउनेहरुको कामले देशको इज्जत जान्छ भन्ने जस्तो कुतर्क पनि गरियो । तर माधव प्रचण्ड ति भोका पेटहरुको पक्षमा एक शव्द कतै बोलको सुनिएन । जनताको करबाट तलब भत्ता खाएर वालुवाटारमा विराजमान हुनेहरुको कुतर्कको प्रतिवाद गरेको र निरिह ति नागरिकको पक्षमा नेपाल–दाहाल बोलेको सुन्न पाइएन । तर अहिले आफुलाई पर्दा भने सयौं बस कार्यकर्ता ओसार्न र शक्ति प्रदर्शन गर्न प्रयोग गरिरहेका
छन् । आफ्नो स्वार्थमा प्रयोग भएकाहरुलाई लोकल कुखुराको फिलाले दाँत कोट्याउने र वियरले मुख कुल्ला गर्ने अवसर प्रदान गरिरहेका छन् ।
कोरोना कालकै कुरा गरौं । कोरोना संक्रमण बढेसंगै भारत र अन्य देशमा रहेका नेपाली नेपाल फर्कन चाहे । भारतबाट फर्कन चाहेका नेपालीहरु महाकाली पारी हप्तौं भोकै बसे घर फर्कन पाउने प्रतिक्षामा तर उनीहरुलाई नेपाल छिर्न दिइएन । बाध्य भएर ज्यानै जोखिममा राखेर केही नेपाली महाकाली नदी पौडेर नेपाल
आए । सामान्य मानवता समेत नभएको ओली सरकारले ति नागरिकलाई नाङ्गै सहर
डुलायो । कोरोनाकै अवधिमा धनमायाँ गुरुङले अस्पतालमा बेड नपाएर ट्याक्सीमै ज्यान गुमाउने अवस्था बन्यो । यी कुरासंग नेपाल–दाहाललाई कुनै सरोकार भएन । कहिल्यै एउटा नागरिकलाई नाङ्गै सहर डुलाएर दुव्र्यवहार गरेकोमा आपत्ति जनाएनन् । अन्य देशबाट हवाई मार्ग हुँदै नेपाल फर्कन चाहने नेपालीले तेब्बर बढी भाडा तिरेर मात्र आफ्नो मातृभूमि फर्कन पाए । जसको कमाईले देशको अर्थतन्त्र धानेको छ, तिनै माथि भएको यो हदसम्मको दुव्र्यवहारका बारेमा नेपाल–दाहालले कहिल्यै बोलको
सुनिएन । उखु किसानहरु हप्तौं मिलबाट आफुहरुले पाउनु पर्ने भुक्तानी माग गर्दै काठमाण्डौको चिसो सडकमा हप्तौं बसिरहे तर माधव–प्रचण्डहरु त्यतिबेला उनीहरुको न्यायका लागि सडकमा आएनन् । अहिले पनि तराईका लाखौ नागरिक सित लहरको मारमा छन् । तर नेपाल–दाहाललाई यो विषयमा कुनै सरोकार छैन ।
आम नागरिकका यावत समस्यामा बेखवर रहेन यी नेताहरुको स्वार्थ पूर्ति नहुँदा भने तिनै नागरिक सडकमा आईदिनु पर्ने ? नागकिरले गरेको प्रश्न के हो भने हाम्रा विषयमा कुरा गर्ने बेला पहिले कहाँ हुनुहुन्थ्यो र अहिले हामी यहाँ छौं, भन्नु भएको ? आफ्ना बारेका कुनै चासो नराख्ने तपाई नेताहरु जहाँ हुनुस्, एउटा नागरिकलाई अब किन चासो ?