पृष्ठभूमिः
नावालाकलाई संरक्षण गर्न सक्छ, हुन्छ भनेर परिवार, गाउँ समाजले पत्याएको व्यक्तिलाई ‘माथवर’ भनिन्छ । जनजिब्रोमा भिजेको शब्द अभिभावक हो । माथबर शब्दको अर्थ खोज्दै जाँदा कानुनी शब्दकोषमा पत्यार लाग्दो, भरपर्दो, विश्वास गर्न सकिने (भलाद्मी) भनेर भनिएको छ । अदालती व्याख्या खोज्दा खासै फेला पार्न सकिएन । संहिताले माथवरको परिभाषा नगरेतापनि संरक्षक बाहेक नवालाकको पालनपोषण, स्वास्थ्य, शिक्षा, हेरविचार तथा सम्पत्तिको संरक्षण गरिराखेको व्यक्ति भनेर गाउँ, समाजले पत्याएको संरक्षकलाई माथवर भन्न खोजेको छ । कानुनले माथवरको योग्यता, कर्तब्य र अधिकार समेतको व्यवस्था गरेको छ । त्यो हाम्रो सरोकारको विषय हो ।
माथवरको योग्यताः
संहिताले संरक्षक हुन अयोग्य व्यक्ति बाहेक अन्य व्यक्ति माथवर हुन सक्नेछ भनेको छ । यो व्यवस्थाले असक्षम र अर्धसक्षम व्यक्ति माथवर हुन सक्दैन । त्यसैगरी असक्षम र अर्धसक्षम व्यक्तिको हक वा हित विपरित काम गरेको प्रमाणित भएको व्यक्तिले पनि कसैको माथवरि लिन सक्दैन । अदालतको अन्तिम फैसला बमोजिम तीन बर्ष वा सो भन्दा बढी कैदको सजाय भएको व्यक्ति, अदालतबाट संरक्षक हुन अयोग्य देखिएको व्यक्ति माथवर हुन पनि अयोग्य नै हुन्छ ।
माथवरको कर्तव्यः
आफ्नो माथवरीमा रहेको व्यक्तिको सम्पत्तिको जिम्मा लिई सो को व्यवस्थापन र सञ्चालन गर्नु माथवर व्यक्तिको कर्तब्य हो । त्यस्तो जिम्मा लिएको सम्पत्तिबाट निज माथवरीमा रहेको व्यक्तिको आर्थिक हैसियत अनुसार पालनपोषण तथा शिक्षा, दिक्षा, औषधी उपचारको व्यवस्था गर्नुपर्नेछ । माथवरीमा रहेको व्यक्तिको, आफू जिम्मा रहेको सम्पत्तिको रेखदेख र संरक्षण विवेकपूर्ण र होशियारी पूर्वक गर्नु पनि माथवर व्यक्तिको कर्तव्य हो ।
माथवर व्यक्तिको अधिकारः
माथवरीमा रहेको व्यक्तिको सम्पत्तिबाट आर्जन भएको प्रतिफल त्यस्तो माथवरीमा रहने व्यक्तिको पालनपोषण, स्वास्थ्य तथा शिक्षादिक्षाको लागि पुरै खर्च गर्न सक्नेछ । माथवरीमा रहेको व्यक्तिको चल सम्पत्तीबाट पालनपोषण गर्दा, पढाईलेखाईमा लाग्ने खर्च, औषधी उपचारमा लाग्ने खर्च अपुग भएमा, नपुगेमा अदालतको अनुमति लिएर कुनै अंश विक्रि गर्न सक्दछ । यसरी विक्रि गर्दा माथवर व्यक्तिको दुराशय प्रष्टिएमा त्यस्तो हकहस्तान्तरण स्वतः बदर हुन्छ । माथवरले आफ्नो माथवरीमा रहेको व्यक्तिको सम्पत्तिको जिम्मा लिएको अवस्थामा माथवरलाई सो ठाउँ छोडि अन्यत्र जानु पर्ने अवस्था आएमा आफ्नो हक, स्वामित्व वा भोगको सम्पत्तिको संरक्षण तथा व्यवस्थापन आफैले गर्न नसक्ने अवस्थामा अर्को कुनै माथवर हुन योग्य व्यक्तिलाई माथवर नियुक्त गरी आफ्नो माथवर कर्तब्य र अधिकार जिम्मा दिन सक्नेछ ।
माथवरी अन्त्य हुने अवस्थाः माथवरीमा रहेको व्यक्तिको अठार बर्ष पुरा गरी सावालक भएपछि माथवरी अन्त्य हुने व्यवस्था छ । त्यसैगरी कुनै व्यक्तिको मानसिक सन्तुलन गुम्दा माथवरीमा रहेको भए उसको मानसिक सन्तुलनमा आएपछि स्वतः माथवरी अन्त्य हुने व्यवस्था छ । नावालकको आमा वा बाबु वा दुवैले नाबालकलाई आफ्नो जिम्मामा लिएकोमा पनि माथवरी स्तः समाप्त हुन्छ । नावालक वा होस ठेगानमा नभएको व्यक्तिको संरक्षक नियुक्त भएपछि माथवरी समाप्त हुने कुरा त झनै स्वभाविक भयो । माथवरीमा रहेको व्यक्तिको सम्पत्तिको रेखदेख र संरक्षण विवेकपूर्ण र होसियारी पूर्वक नगरेको कारण अदालतबाट हटाइएमा पनि माथवरी स्वतः अन्त्य हुन्छ ।
निष्कर्षः
माथवर पनि एक प्रकारको संरक्षक नै हो । तर संरक्षकलाई बाद्यात्मक कर्तब्य सिर्जना हुन्छ भने माथवरलाई स्वऐच्छिक कर्तब्य सिर्जना हुने हुनाले मानवीय सेवाभावका व्यक्तिले मात्रै माथवर बन्न सक्छन् । यो बोझको बहन गर्नाले परलोक सपार्ने धार्मिक विस्वासमा माथवरहरुमा रहेको हुन्छ । माथवरको जिम्मेवारी लिई सकेपछि संरक्षक सरहको कर्तब्य माथवरले निर्वाह गर्नु पर्दछ ।