आज मातातीर्थ औशी । यसलाई बोलीचालीको भाषामा आमा औंशी वा आमाको मुख हेर्ने दिन पनि भनिन्छ । हिन्दुधर्म परम्परामा आजको दिन एक महत्वपूर्ण दिन मध्ये पर्दछ । आजको दिनलाई आफूलाई बोल्न दिने जननीलाई पुज्ने दिनको रुपमा लिईन्छ । आमा जिवितै हुनेहरुले आमाको पुजा गर्ने मिष्ठान्न भोजन सेवन गराउने, बस्त्र लगायतका उपहारहरु प्रदान गर्ने गर्दछन् भने आमा स्वर्गवास भैसकेकाहरुले पनि आमाको सम्झानामा सवेरै स्थान गरीवरी पुजापाठ गर्ने गर्दछन् । सबै नहोलान् तर वर्तमान परिदृष्यमा सामाजिक सञ्जालमा आमाको तस्विर र मर्मस्पर्सी स्टाटस लेख्ने कृत्रिम मातृपुजकहरु पनि हाम्रै समाजमा छन् । चाहे त्यो हिन्दु होस्, चाहे बौद्धिष्ठ, चाहे मुस्लिम् चाहे क्रिश्चियन, या चाहे अन्य कुनै धर्म सम्प्रदाय । हरेकमा आफ्नो जननीको स्थान सर्वोच्च हुन्छ । तर हाम्रो वर्तमान समाजलाई नियाल्ने हो भने बढ्दै गईरहेको बृद्धाश्रम र सडकमा मागेर जिवीका चलाउने बृद्धबृद्धाहरुलाई देख्दा हामीले आफूले आफैलाई शिक्षित र सभ्य भन्न लज्जित हुनुपर्ने अवस्था छ ।
यो त भयो कुनै एउटा व्यक्ति विशेषको आमाको कुरा । तर आजको यो आलेखमा मैले चर्चा गर्न चाहेको आमा कुनै एउटा व्यक्ति विशेषको आमा भन्दा पनि माथि हामी सबैको आमाको हो, नेपाल आमाको । हामी सबै नेपाल आमाका सन्तती हौं । आज जसरी शिक्षित र सभ्य भनिएको आफ्नै सन्तानबाट अपहेलित र पिडित भएर कैयौं आमाहरु बृद्धाश्रम र पेटीहरुमा रोएर आफ्नो जीवन जिउन बाध्य छन्, त्यसरी बेदनामा छटपटिएकी छिन् हामी सबैको नेपाल आमा । एउटा सच्चा देशभक्त सपुतको अभावमा । नेपालको अहिलेको राजनीतिक अवस्था देख्दा लाग्दछ, यदि नेपाल आमा भावाना नभएर एउटा जीवित शरीर हुन्थिन भने उहिल्यै आफ्नो देहत्याग गरिसक्थिन होला सायद । जसरी एउटा कुपुत्रले आप्mनो खुट्टा लागेपछि आफूले दुध चुसे हुर्किएको आफ्नै आमाको छातीको दलाली गर्दछ, त्यही गर्दैछन्, अहिले हाम्रो राजनीतिक नेतृत्वगणहरु । राजनीतिक नेतृत्व मात्र होइन, हामी नागरिक वर्ग पनि यसबाट अछुत छैनौं । स्वयम हामीले पनि नेपाल आमाको सेवा गर्न स केका छैनौं । नेपालमा केही हुँदैन, नेपालमा केही छैन, नेपाल खत्तम छ भन्ने मानसिकता बोकेका जतिपनि हामी छौं, हामी सबै नेपाल आमाकी निकम्मा सन्तानहरु हौं । फरक यत्ति हो, हामीले सेवा गरेनौं । माथिकाले दलाली गर्न पनि बाँकी
राखेनन् ।
एउटा बच्चा सानो छँदासम्म उसको लागि आमा नै सन्सारको सबैभन्दा सुन्दर स्त्री हुन्छिन् । आमाको काख नै उसको लागि अर्को प्रिय र सबै भन्दा सुरक्षित स्थान हुन्छ । आमाले पनि पानी पिएर पानीलाई दुधमा परिणत गरेर आफ्नो सन्तानलाई हुर्काउछिन । तर जसै सन्तान हुर्कदै जान्छन् दुई पैसा कमाउन थाल्दछन् । उसले आमाको ममता त्याग र बलिदानलाई विर्सदै जान्छ । सन्तानहरु हुर्किएपछि आमाको होइन, अंशको पिर पर्न थाल्दछ । आमाको के कसरी हेरविचार गर्ने ? भन्ने चिन्ता हुँदैन । बरु कस्ले हेरविचार गर्ने भन्ने चिन्ता सन्तानहरुमा देखिन्छ । र पनि निशब्द यी सबै कुरा झेलिदिन्छीन् सहीदिन्छीन् कति महान छिन आमा । यही पारा छ अहिले हाम्रो राजनीतिको पनि । आफू सत्ताबाहिर हुँदा अझै भनौं सडकमा हुँदा हामी सत्तामा पुगेपछि यो गर्छौ, त्यो गर्छौ, नेपाललाई यस्तो बनाउँछौ, उस्तो बनाउँछौं भनेर भाषण र प्रतिबद्धता व्यक्त गर्दछन् हाम्रा नेताहरु– जसरी एउटा बच्चाले ठूलो भएर बाबुआमाको सेवा गर्छु भन्छ । तर सत्तामा पुगेपछि आफ्ना सबै प्रतिबद्धतालाई विर्सेर लागि पर्दछन् भागबण्डाको लुछाचुडीमा । ठीक त्यसरी, जसरी सन्तान लड्छन् अंशका लागि । फरक कति मात्र हो भने, एउटा बच्चाले आफ्नो हृदयदेखिनै बाबुआमाको सेवा गर्दछु भनेको हुन्छ, हुर्कदै जाँदा मति विग्रनु अलग कुरा हो । तर हाम्रा नेताहरुले जानी जानी जनतालई भ्रम छरिरहेका हुन्छन् र सत्तामा पुगेपछि आफ्नो असली रुप देखाउँदछन् ।
भरखरै मात्र नेपाली राजनीतिमा फैलिएको एउटा नयाँ तरंगकै कुरा गरौं, पार्टी विभाजन सम्बन्धी अध्यादेशको कुरा । प्र.म केपी ओलीलाई के कुराले सतायो र सो वीषम परिस्थितिमा पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउन हतार यो । हुन त नेपालको राजनीति गुट, फुट र जुटको रोगबाट कहिल्यै उम्कन सकेन । चाहे त्यो नेपाली काँग्रेसको कुरा होस्, चाहे माओवादी, चाहे एमाले, चाहे मदेशवादी दल या चाहे अन्य कुनै । हिजो चुनावी दिनहरुमा विचार र दर्शन मेल नै नखाने कुनै समयमा एक अर्काको कट्टर विरोधी काँग्रेस र माओवादीको पनि सहकार्य भएको थियो । जो फगत एउटा चुनावी दाउपेच मात्र थियो । यसरी नै विचार र दर्शनमा भिन्न दुई कम्यूनिष्ट पार्टी एमाले र माओवादीको एकताबाट आजको नेकपा बनेको हो । एकता हुँदाको बखत दुवै कम्यूनिष्ठ पार्टीको नेतृत्वले नेपाली राजनीतिमा एउटा नयाँ युगको सुरुवात भएको र नेपालले एउटा अब कोल्टे फेर्ने दावी गरेका थिए । तर अहिले आएर त्यो एकता प्रचण्डले आफ्नो डुब्दै गरेको जाहाज बचाउन र केपी ओलीले आफूलाई सत्तामा पु¥याउन बनाएको एउटा भ¥याङ मात्र थियो भन्ने कुरा अझ छर्लङ्ग भएको छ । यो एकता नेपाल आमाको सेवा गर्न वा भनौं नेपाललाई कोल्टे फेराउन भएकै होइन रहेछ । यो त आफू उत्तानो हुनबाट बच्नका लागि गरिएको नाटक रहेछ भन्ने कुरामा अब शंका गर्न पर्ने ठाउँ रहेन । यदि प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत स्वार्थसिद्धी र सत्ता बचाउन मात्र यो अध्यादेश जारी गराएका हुन् भने यसबाट सबैभन्दा ठूलो हानी स्वयम प्रधानमन्त्री र पूर्व एमालेलाई नै हुन्छ । यसको महसुस प्रधानमन्त्रीले सायद अगामि चुनावमा गर्नेछन् । यसैले प्रधानमन्त्री ज्यू, तपाई यदि साच्चिकै आफ्नो सत्ता बलियो होस्, लम्बियोस् भन्ने चाहनु हुन्छ भने हृदयदेखिनै नेपाल आमाको सेवा गर्नुस् । आफ्नो मन्त्रीमण्डललाई पनि साँच्चिकै सेवामा लाग्न भन्नुस् । आफ्नो नजर र दृष्टिकोणलाई चाप्लिुसी र चाकडीमा रमाउनेहरुको घेरा भन्दा पर पु¥याएर वास्तवमै एउटा सच्चा र देशभक्त राजनेताको भूमिका निभाउनुहोस् , शब्दले होइन कामले । यति गर्नुभयो भने तपाईले सत्ता बचाउन अरु कुनै दाउपेच खेल्नै पर्दैन ।
आज अधिकाँश नेपाली आमालाई र सिँगो राष्ट्रलाई पनि एउटा सपूतको आवश्यकता छ जसले साँच्चिकै आमालाई मायाँ र सेवा गर्न सकोस्, श्रवणकुमारले जस्तै गरी । आउनुहोस्, मातातीर्थ औंसीमा हामीले सबैले प्रण गरौं कि हामी त्यो सपूत बन्ने छौं
मातातीर्थ औंशीः आमाको महिमा
previous post