तीर्थयात्री मध्येका कोही तामदानमा बोकिएर मन्दिर तर्फ गइरहेको भेटिन्थे भने कोही घोडा चढेर । हामी मध्येका पनि कोही घोडा चढेर गयौं तर अधिकांश हिडेरै मन्दिरतर्फ लाग्यौं । झण्डै सय मिटरको धर्म उकाली चढेपछि मन्दिरको मूल द्वारमा पुगिने रहेछ । धर्म उकालीको छेउछाउमा मन्दिरबाट फर्कँदै गरेका तिर्थालुहरु हामीले सानोमा सातपत्रे(आजकल गेमबल) खेल खेल्दा जस्तै डुङ्गाको चाङ लगाएका भेटिए । सोध्दा थाहा लाग्यो, मृत्युपछिको वस्ने ठाउँ बनाएको रे । मन्दिर परिसर निकै रमणिय रहेछ । टेक्ने ठाउँ थिएन भन्दा हुन्छ । नेपालीहरुको साझा आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरको ढोका पश्चिम फर्केको रहेछ । पूर्वमा हंसतीर्थ नामको कुण्ड र सो कुण्डबाट आएको पानीबाट एकसय आठ धारा बनाइएको र सोही कुण्ड नै काली नदीको मुहान रहेछ ।
मन्दिरको मूल ढोका अगाडी रहेका लक्ष्मी र मुक्ति कुण्ड स्नान गर्नेहरुको भिडले छोपिएका थिए । कुण्डमा डुबुल्कीमार्दा हातले छामेर कुण्डको पिँधमा रहेका सिक्का पाउँनेहरुको मुहारमा खुसी झल्किन्थ्यो । सिक्का पाउने मानिस भाग्यमानी हुन्छन् भन्ने विश्वासका कारण उनीहरुको मुहारमा खुसी छाएको बुझ्न सकिन्थ्यो । उता सिक्का नपाउनेहरु भने खिन्न थिए । मलाई भने कुण्डमा डुबुल्की मार्ने मनै भएन । दर्शनार्थीको भिडका कारण होला शायद दुबै कुण्डको पानी अत्यन्त फोहर देखिन्थ्यो । मेरो नास्तिक मनले भन्यो, यहाँ नुहाएर पाप पखालिने होइन बरु छालाका अनेकथरी रोगहरु भने लाग्न सक्छन् । पानीको अक्षय श्रोतको छेउमा भएका ती कुण्डको पानी सफा राख्ने प्रयत्न गरिएको भए सहजै सम्भव हुने थियो ।
मन्दिरको पूर्व तर्फ रहेका एकसय आठ धारामा स्नान गरेपछि ति दुइ कुण्डमा समेत नुहाउनु पर्ने र यसो गरेमा सम्पूर्ण पाप नाश हुने विश्वास रहेछ । दर्शनार्थीको चापले गर्दा धारा तथा कुण्डमा नुहाएर लुगा फर्नुपर्नेहरु यत्रतत्र छरिएर लुगा फेरिरहेका देखिन्थे । मुस्ताङ जिल्लाको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं १ मा रहेको मुक्तिनाथ मन्दिरको गर्भगृहमा अभयमुद्रामा पद्मासनमा वसेका, शिरमा चाँदीको मुकुट लगाएका चतुर्वाहु विष्णुको ढलोटको मुर्ती
छ ।
मन्दिर परिसरबाट आखैं सामुन्ने देखिने विश्वको सातौं आग्लो धौलागिरी, विश्वको दशौं अग्लो अन्नपूर्ण, नीलगिरी, लगाएतका विश्व प्रसिद्ध हिमाल र अन्य हिमालहरुको दृष्यले निकै आनन्दित तुल्याउने रहेछ । ३८०० मिटरको उचाइमा रहको मुक्तिनाथ मन्दिर प्यागोडा शैलीमा निर्मित तीन तले मन्दिरमा पित्तलको छानो र सुनको गजुर छ भने मन्दिरभित्र शिरमा चाँदीको चन्द्रमा भएका विष्णु विराजमान छन् । मन्दिरको दक्षिण पश्चिममा भगवान गौतम बुद्धको विशाल मुर्ती छ । मुर्ती नजिकै शालीग्राम । केही बायाँ तर्फ ज्वाला देवी मन्दिर । ज्वालादवी मन्दिर भएको ठाउँमा ब्रम्हाजीले तपस्या गरेको विश्वास गरिन्छ र त्यहाँ निरन्तर सानो आगोको ज्वाला बलिरहेको देखिन्छ । ३० वा ४० को दशकमा जानेहरुले ज्वाला खुल्ला रहेको र पानी भित्र ज्वाला देखेको बताए पनि अहिले सानो जालीदार झ्यालबाट बन्दुकमा निशान लगाउन लागे जस्तो एक आँखाले हेर्नुपर्ने भएकाले त्यो प्राकृतिक नै हो ? भनेर प्रश्न उब्जने खालको भएको रहेछ । शायद त्यसलाई प्राकृतिक स्वरुपमै छोडेको भए ठिक हुन्थ्यो भन्ने
लाग्यो । जुन उत्साह बोकेर ज्वालाको दर्शन गर्न पुगिन्छ, त्यो उत्साह र कौतुहलता धिपधिपे बत्ती जस्तो देखिने ज्वालादेख्दा भदौरे घाममा चुँडिएको कर्कलाको पात जस्तो हुने रहेछ । शायद यसैको प्रभाव होला, सय मिटर पर रहेको मुक्तिनाथ मन्दिर र केही हातमात्र पर रहेको बुद्धको विशाल प्रतिमाको दर्शन गर्ने हजारौं हुँदा ज्वालादेवी मन्दिर भने सुनसान जस्तै थियो ।
फर्कँदा धर्म उकाली छेउ हामी दुईले पनि ढुङ्गाको चाङ लगाएर घर बनायौं र परलोक बसाईको व्यवस्था भएकोमा ढुक्क भयौं । जोमसोममा पाकिराखेको खाना पाईँदो रहेनछ । पेटमा मुसा निकै तिब्र गतिमा दौडिरहेका थिए, त्यसैले खाना पाक्दासम्म पर्खने धैर्यता हामीमा थिएन त्यसैले छिटो हुने चाउचाउ बनाउन लगाएर तातो तातो सुप सहितको चाउचाउ खायौं ।
बस भएठाउँ पुग्दा अरु सबैजसो आएर बसीसक्नु भएको रहेछ । केही बेरमा हामी धुम्बा ताल तिर लाग्यौं । नीलगिरी हिमालको काखमा रहेको मुटु आकारको यो ताल समुन्द्र सतहबाट २८३० मिटरको उचाइमा रहेछ । एक स्थानीयका अनुसार एकपटक यो तालको पानी रगत जस्तो रातो भएको र बौद्ध भिक्षुले प्रार्थना गरेपछि पहिलेकै अवस्थामा आएको भन्ने विश्वास गरिन्छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट पाँच किमी पश्चिममा रहेको यो तालमा हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्था जोडिएकाले त्यहाँ पाइने माछा खाने वा बेच्ने चलन
रहेनछ ।
साँझको मार्फामा रहेको देउराली होमस्टेको बसाई त्यति सुखद रहेन । पाहुनाहरुलाई अत्यन्त रुखो व्यवहार गर्ने होमस्टे सञ्चालक देख्दा लाग्यो, उनलाई भोलीपल्टबाट होमस्टे चलाउनु छैन । २३ गते विहान मार्फा गाउँ घुम्न निस्कियौं । बजार घुमी सकेर साथी, परिवारजन र आफन्तहरुका लागि स्याउको सुकटी, मार्फाको ताजा स्याउ किन्यौं । शुद्ध जिम्मु भएको विश्वासका साथ एकएक पोका जिम्मु हामी धेरैको हातमा
थियो । पिउन रमाउने साथीहरुका लागि घरपझोङ मार्फाका पासाङ कुम्छुदे शेर्पाको आविष्कार मार्फा ब्राण्डी साथमा त हुने नै भयो । स्याउ विक्रिमा यातायातका साधनको उपलब्धताले सहज भएको त थियो नै स्याउको सुकुटी अनि स्याउकै रक्सी बन्ने भएसंगै करोडौंको स्याउ कुहियो मार्फामा, स्याउ नबिक्दा मार्फाका किसान मर्कामा भन्ने खबरहरु सुन्नु र पढ्नु नपर्ने कुराले खुसी तुल्यायो । फर्कँदा म्याग्दीको तातोपानी नजिकै रहेको ट्रेकर्स इनमा खाना खायौं । ट्रेकर्स इनको न्यानो आतिथ्यले अघिल्लो साँझको व्याथा भुलायो । बाचा गरे अुनसार गलेश्वर धाममा मुक्तिनाथबाट ल्याएका पवित्र जल चढायौं । यात्राले अब उल्टो गियर समात्यो र साँझ ८ बजे दमौली आइपुगेर तीर्थयात्राको बीट मारियो ।
मनमोहक मुक्तिनाथ–३
previous post