पाँचदिन अगाडि जुन ४ तारिखमा नेपालमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइयो । समाजमा हुने विभिन्न खालका जातीय भेदभावको अन्त्यसंग सरोकार राख्ने यो दिवस भेदभाव र छुवाछुतको महापापमा रुमल्लिएको हाम्रो समाजलाई अग्रगमन तर्फ लाग्ने प्रेरणा श्रोत बन्नु पर्दछ । आज भेदभावको कुरा गर्दा पृथ्वीको सर्वश्रेष्ठ प्राणीको रुपमा रहेको मानिसले अर्काे मानिसलाई जातीय आधारमा, लिङ्गको आधारमा, आर्थिक अवस्थाको आधारमा, रङ्गको आधारमा वा अन्य त्यस्तै केही आधारहरुमा भिन्न देख्नु हो भनेर बुझ्नु पर्ने हुन्छ । यो आधुनिक मानव समाजका लागि लज्जाको विषय हो ।
यो दिवसलाई नेपालले राष्ट्रिय दिवसको रुपमा मनाउनुको उद्देश्य जातीय भेदभाव र छुवाछुत मानव सभ्यताको कलंक हो भनेर बुझाउनु र मानिसमा भेदभाव गर्नु हुँदैन भन्ने चेतना जगाउनु हो ।
लोककल्याणकारी राज्यको अवधारणाको विकाससंगै विश्वका सबैजसो देशका कानुन भेदभाव रहित समाजको परिकल्पनाका साथ निर्माण गरिएका छन् । तर कानुनी किताबका पानामा गरिएको त्यो सुन्दर परिकल्पना व्यवहारमा भने कति साकार भएको छ भन्ने प्रश्न यथावत नै छ । हामीले दैनिक जीवनमा विभिन्न खाले जातीय विभेद र छुवाछुतका रुपहरु देख्दै आएका छौं र खासगरी दलित भनिएका समुदायले प्रत्यक्ष भोग्दै आएको छ । हामी स्वयम पनि यस्ता क्रियाकलापमा जानेर वा नजानी संलग्न भएका हुनसक्छौं । तर हामीले बुझ्नु पर्ने के हो भने जातका नाममा हुने कुनै पनि खाले भेदभाव र छुवाछुतको अन्त्य विना कुनैपनि देशले दीगो विकासको परिकल्पना गर्न सक्दैन । हामीले आफुलाई २१ औं शताब्दीका नागरिक भन्न लजाउनु पर्ने हुन्छ, यदि हामी कहाँ जातका नाममा भेदभाव र छुवाछुत अद्यापि जारी छ भने । त्यसैले आजैबाट आफुले पनि जातका नाममा हुने कुनैपनि खालको भेदभाव नगर्ने र अरुले गरेको देखेमा पनि त्यसको विरोध गर्ने सबैले प्रतिवद्धता जाहेर गरौं । यो अक्षम्य अपराध गर्नबाट आफु बचौं र अरुलाई पनि बचाऔं ।
भेदभावका विरुद्धमा
previous post