कार्तिक १७ राती ११ः४७ मा गएको भूकम्पका कारण जाजरकोट केन्द्र भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमले ठूलो धनजनको क्षति भोग्यो । एकसयभन्दा बढी नागरिकको ज्यान गएको र धेरै नागरिकलाई बेघर बनाएको यो भुकम्पका कारण नेपालीको ज्यान जाने क्रम रोकिएको छैन ।
वायुमण्डलको तापक्रम ओरालो लाग्दै जाँदा भूकम्प पीडितको जीवन कष्ट उकालो लाग्दै गएको छ । तीन सातादेखि कोही खुल्ला आकाशमा त कोही त्रिपालको ओेतामा वस्न बाध्य पीडितहरु बढ्दो चिसो थेग्न सक्ने अवस्थामा छैनन् । कोही बिरामी परेका छन् भने सात जनाले त ज्यान नै गुमाइ सकेका छन् । एकातिर दिन दिनैको पराकम्प अनि अर्काेतिर बढ्दो चिसो, भूकम्पपीडितको आधा ज्यान खान यी दुइ कुरा नै काफी छन् । घरमा भएका लत्ताकपडा पनि भूकम्पले घर भत्किँदा पुरिए । ज्यान ढाक्ने पर्याप्त लुगा छैन । ३५ हजारभन्दा बढी परिवार त्रिपालमुनी भएको भूकम्प प्रभावित क्षेत्रमा सरकारले प्रति परिवार एक–एकवटा त्रिपाल र कम्बल दिएको छ । यो चिसोमा कम्बलको के काम अनि त्रिपालले के को चिसो सिरेटो र शीत थेग्नु ? नियमित औषधी सेवन गरिरहेका विरामीहरुको अवस्था त्यस्तै छ ।
एउटा भएको त्रिपाल पनि उडाउने गरी राष्ट्रपति, प्रधामन्त्री, उपप्रधानमन्त्री तथा नेताहरु त्यहाँ पुगे तर भूकम्प पीडितको घाउमा मलम लगाउने गरी तीनसाता वित्दासम्म भएको छैन । दलका युवाहरु समूह बनाएर पुनःस्थापनाको काममा लागेका भएपनि सरकारी तवरबाट प्रभावकारी कामहरु भएको आभाष भएको छैन । भूकम्प जानासाथ नै प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या निम्तिने आकलन जोकोहीले गर्न सक्थ्यो तर सत्तामा सधैं गिद्धे दृष्टि लगाएर बस्ने सत्ता सञ्चालक, सहयात्री तथा प्रतिपक्षी कसैलाई यता मतलब नै भएन् । यो हदसम्मको संवेदनहिनता तोड्दै सरकारले तत्काल भूकम्प पीडितको वसोवासको व्यवस्थाका अतिरिक्त सम्भावित स्वास्थ्य समस्या रर त्यसबाट निम्तन सक्ने जटिलता समाधानको उपायहरु खोजोस् । यति मानविय क्षति भयो भनेर मृतकको टाउका गन्ने र कुम्भकर्ण निन्द्रामा सुत्ने काम तत्काल बन्द होस् ।
भूकम्पपीडितको वसोवास मिलाऊ- सम्पादकीय
previous post