असार, नेपाली किसानहरु अत्यन्तै व्यस्त हुने महिना । असारलाई मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा पनि लिईन्छ । एकातर्फ पाकेको बाली भित्र्याउने चटारो अर्काे तर्फ नयाँ बाली लगाउने । भरै नहुने मौसम, कहिले हप्तौंसम्मको झरी, कहिले टन्टलापुर घाम । तै पनि घामपानी केही नभनी बिहान, दिउँसो, साँझ हर समय खट्छन् किसानहरु,सिञ्चित गर्छन जमिनलाई आफ्ना पसिनाहरुले अनि बल्ल झुल्छन् सुनौला बालाहरु । एकबोरा चामलको मूल्य कति हुन्छ भनेर जान्न मन छ भने पसलमा चामल किनेर खानेसंग भन्दा असारको एक महिना एउटा किसानसंग दोस्ती गर्दा राम्रोसंग थाहा होला । खेतीका कुरा मात्र हैनन् यदि तपाईं व्यापार व्यवसायमै संलग्न हुनुहुन्छ भने पनि हर समय आफ्नो व्यापार व्यवसायमै मग्न हुन नसकेसम्म सफलता प्राप्त गर्न गाह्रो पर्छ । यदि त्यसो हो भने किसान रुपी एउटा अभिभावक जसको सबैभन्दा ठूलो बाली उसका बालबालिका हुन् । व्यवसायि रुपी अभिभावक जसको सबैभन्दा ठूलो लगानी उसको बालबालिका हुन्, कति मग्न हुन सकेका छौं त हामी ( अहिलेका अभिभावक ) बालबालिका प्रति, कति समय दिएका छौं आफ्ना बालबालिकालाई, कसरी गर्देछौं उनीहरुको हेरचाह ? के हामी सहि छौं ? आउनुहोस् यो आलेखमा हामी यहि विषयमा चर्चा गरौं ।
कुरा सुरु गरौं , विद्यालय भर्नाबाट । हरेक विहान विद्यालय समयमा ख्याल गर्नुपर्छ, २.५ वर्ष देखिका नानीबाबु विद्यालय पोशाकमा सजिएर बसिरहेका हुन्छन्, विद्यालय जानकालागि । के विद्यालय पठाउने सहि उमेर होला त यो ? अचेल लहरै चलेको छ नानीबाबुलाई कम उमरमै विद्यालय पठाउने । सोध्ने हो भने प्रत्येक अभिभावकको एउटै जवाफ हुन्छ, घरमा राखिराख्नु भन्दा त स्कुल पठाए बानी पनि लाग्छ,२ ४ कुरा पनि सिक्छन् । म यहि निर गम खान्छु, हाम्रो यो अनुमान कति ठिक होला ? बच्चालाई सानैमा विद्यालय पठाएर हामीले आफ्नो जिम्मेबारी पुरा गरयौं कि जिम्मेवारीबाट पन्छिन चाह्यौं ? बालापन भनेको न त विद्यालय जाने उमेर हो न त अक्षर चिन्ने नै । कमसेकम ४ ५ वर्षसम्मको उमेर भनेको आफ्नो आमा बुबासंग विताउने उमेर हो । आमाबुबाको माया ममता महसुस गर्ने उमेर हो । राम्रा बानीहरुको विकास गर्ने उमेर हो । जुन हामी घरमै गर्न सक्छौं । उदाहरणका लागि ३ वर्षको एउटा बच्चालाई दिसा पिसाब लाग्दा जति माया र ममताले उसको आमा बुबाले गराउँछन् , त्यति उसले विद्यालयमा पाउन सक्दैन । आफुले दिनुपर्ने माया ममता र स्याहार म शुल्क तिर्छु तपाईँले दिनुस् भनेर आफ्ना कलिला नानीबाबुलाई शिक्षकको जिम्मा लगाउनु यो हाम्रो कस्तो अभिभावकत्व हो ? आमाबुबा दुबै जागिरे हुँदा कतिपय परिवारमा त्यस्तो बाध्यात्मक परिस्थिति पनि होला तर के हामी सबै त्यति बाध्य छौं र ? बालबालिकालाई सानै उमेरमा विद्यालय पठाउँदै गर्दा हामीले किन भुल्यौं कि उनीहरुको प्रथम विद्यालय त उसको घर नै हो । उसका प्रथम गुरु त उसका अभिभावक नै हुन भन्ने कुरा । बेला नहुँदै सारेको एउटा विरुवा त राम्रोसंग सर्दैन भने हामीले के को आशले आफ्ना कलिला नानीबाबु, जसको विद्यालय जाने उमेर नै भएको छैन, विद्यालय पठाउँछौं ?
‘सर म्याडम यसलाई जति भनेनी लाग्दै लाग्दैन । घरमा त फिटिक्कै पढ्नै मान्दैन । के गर्ने होला ? पिटेर हुन्छ कि कसरी हुन्छ यसलाई तह लागाई दिनु प¥यो ।’ विद्यालयमा अधिकांश अभिभावकले गर्ने गुनासो हो यो । म छक्क पर्छु । हाम्रा नानीबाबुले हामीले भनेको नमाने कसले भनेको मान्ने होला ? हामीले आफ्नो १ २ जना नानी बाबुलाई त तह लागाउन सक्दैनौं भने विचरो शिक्षकले त्यति धेरै नानीबाबुलाई कसरी तह लगाओस् । यहाँ नेर हामीले सोच्नुपर्ने कुरा के हो भने बच्चाले भनेको मानेन पढेन भन्ने भन्दापनि किन भनेको नमानेको ? किन पढ्न नमानेको ? कतै हामीले त्यो वातावरण नै दिन सकेनौं कि ? जस्तो कि आफू टीभी हेर्दै बच्चालाई पढ भन्दा उसले मान्ला ? आफु मोवाइलमा व्यस्त हुने अनि बच्चालाई लेख लेख भन्दैमा उसलाई लेख्न मन लाग्ला ? हामी मध्ये धेरैको गुनासो एउटै हुन्छ, घरको काम पनि त गर्न परयो, केटाकेटीसंग भुलेर मात्रै कसरी पुग्छ ? यो कुरा पनि आफ्नो ठाउँमा ठिकै होला तर यसरी पनि सोचौं न पर्याप्त समय नदिंदा हाम्रो जीवनको सबैभन्दा ठूलो लगानी नै डुब्ने खतरा छ । सबैभन्दा मूल्यवान बालीनै कुहिने डर छ भने केको लागि गर्नु काम अनि कसको लागि गर्नु ? मलाई अझ पनि याद छ बुबाआमा हेरेर मात्र बस्दिंदा पनि म कसरी हौसिएर आधा रातसम्म चित्र कोर्न रुचाउँथें । बुबाले कति राम्रो अक्षर मेरो छोराको भन्दा कसरी म १ पानाको सट्टा २ पाना लेख्थें । आमाले माया गरेर बाबु अब त खाजा खाने , मेरो छोराले आज धेरै पढ्यो भन्दा कसरी म अब यति सकेपछि खान्छु भन्दै फुर्किएर पढ्थें । मैले धेरै समय खेलेर विताएँ भने कसरी मेरो बुबाले मेरो ज्ञानी छोराले कतिखेर पढ्ने भनेर सोध्नु हुन्थ्यो । सायद हामीले आफ्ना नानीबाबुसंग यसरी कहिल्यै कुरा गरेका छैनौं कि त ?
हामी मध्ये धेरैको इच्छा हुन्छ, घरमा पनि बच्चा हर समय किताबमा नै व्यस्त रहोस् । तर यो ठिक विचार हो भन्ने जस्तो मलाई लाग्दैन । बच्चाले पढ्नु पर्ने कुरा, सिक्नुपर्ने कुरा विद्यालयमै पढेको हुन्छ, सिकेको हुन्छ । घरमा त ति कुराहरुलाई पुनःस्मरण गर्ने वातावरण मात्र बनाईदिए पुग्छ । यसो भन्नुको अर्थ बालबालिकाले घरम पढ्नै पर्दैन भन्ने होइन तर बालबालिकालाई हर समय किताबमै व्यस्त राख्नु उसको सामाजिकीकरणको लागी राम्रो होइन । किनभने उसले किताबमै घोप्टी रहँदा साथीसंगीसंग खेल्ने मौका नै पाउँदैन । घरमा उसले शैक्षिक कुराहरु भन्दा पनि धेरै ब्यवहारका कुरा सिक्नु जरुरी छ , हाम्रा संस्कारका कुरा सिक्नु जरुरी छ, हाम्रो परम्पराका कुरा सिक्नु जरुरी छ, सामाजिक हुन सिक्नु जरुरी छ । यी सबै कुरा सिकाउने हामी अभिभावकले नै हो । कुनै दिन नानीबाबुलाई तिमी पढ भनेर आफु मिटिङमा जानुको सट्टा नानीबाबुलाई नै मिटिङमा लगौं,उसले सभा सम्मेलनको तौर तरिका त्यही सिक्छ । कहिले काहीँ आफ्नो खेतबारीमा लिएर जाऔं, उसले त्यहाँ विभिन्न बोटविरुवाको पहिचान गर्छ,खेती गर्ने तरिका उसले विस्तारै विस्तारै त्यही सिक्छ । समय समयमा पारिवारिक भोज गरौं, पारिवारिक भ्रमण गरौं, यसले उनीहरुमा अभिभावक प्रतिको अपनत्व विकास गर्न र बालबालिकालाई व्यवहारिक रुपमा परिपक्क हुन मद्दत पुरयाउँछ । पङ्तिकारको भनाईको तात्पर्य बालबालिकालाई घरमा पढ्न लगाउनै हुँदैन भन्ने होइन तर केवल परीक्षामा अङ्क वृद्धि गर्ने कुरा मात्रै सोच्दा हामीले उसको सामाजिक, भावनात्मक, संवेगात्मक पक्षहरुको वृद्धि विकास हुनुपर्ने कुरा त भुलेका छैनौं भन्ने मात्र हो ।
प्रत्येक वर्ष असार आए संगै हाम्रा सामुदायिक विद्यालयमा लामो विदा हुने समय पनि आउँछ । यो वर्ष १५ असारबाट धेरै विद्यालयमा बिदा हुँदैछ । यो समय भनेको बालबालिकाले अभिभावकसंग विभिन्न व्यवहारिक ज्ञान आर्जन गरेर विताउनु पाउनु पर्ने समय हो । हामीसंगै हाम्रा नानीबाबुलाई खेतमा लगेर रोपाहारहरु खले गह्रामा गीत गाउँदै भकारी राखेर रमाएको देखाऔ । उनीहरु पनि असारे गीत गाउँदै बाउसे ,हली र रोपाहारसंग हिलो छ्यापाछ्याप गरुन् । अनि पो हाम्रा नानीको सामाजिकीकरण हुन्छ, माटोको सुगन्ध थाहा पाउँछन् । मेहनतको मूल्य थाहा पाउँछन्् । त्यसो भए के हामीले कुनै योजना बनाएका छौं त यसपालीको छोराछोरीको लामो विदाको लागि ? विषेशगरी उनीहरुलाई ध्यानमा राखेर । या फेरी १ दिन २ दिन भन्दा भन्दै गैहाल्छ भन्ने सोचाइमा छौं या फेरी यो वर्षपनि ट्युसन भर्ती गरिदिने सोचमा छौं ? आजको समय शिक्षाको हो । शैक्षिक विकासको लागि कदापी सम्झौता गर्न सकिँदैन तर मेरो मान्यता के मात्र हो भने जसरी एउटा विरुवा राम्रोसंग हुर्कन मलजल, प्रकाश, गोडमेल आदि सबै कुराको मात्र मिल्नुपर्छ, त्यसरी नै बालबालिकाको पूर्ण विकास हुन पनि सबै पक्षहरुको समुचित विकास हुनु पर्दछ ।
शैक्षिक ज्ञान मात्र हासिल गरेर पुग्दैन । त्यसको लागि हामीले उनीहरुलाई पर्याप्त समय दिनु पर्दछ । कुनै समय मैले शिक्षक मासिकमा ‘यसपालीको गृहकार्य अभिभावकलाई ’ भन्ने लेख पढेको थिएँ । उक्त लेखमा कसरी बिदाको समयमा आफ्ना नानीबाबुहरुमा व्यवहारिक ज्ञानको विकास गराउन सकिन्छ भनेर प्रस्तुत गरिएको थियो । हामीले पनि यसपालीको बर्खे बिदालाई अलिक भिन्न ढंगले सदुपयोग गर्ने कि ?