केही समय अगाडि भक्तपुरको एक निजी विद्यालयकी शिक्षकले परीक्षामा राम्रो अंक नल्याएको भन्दै साना बालबालिकालाई पेन्सिल कटरको ब्लेडले नाडीमा चिर्न लगाएको घटना सार्वजनिक भएको थियो । सोही आसपास गृहकार्य नगरेको भनेर पिट्दा विद्यार्थीको हात भाँचिएको घटना पनि सार्वजनिक भएको थियो । बालबालिका माथि हुने अत्याचारका यस्ता घटनाहरु हामीले बारम्बार पत्रपत्रिका पढ्छौं । रेडियोमा सुन्छौं ।
मैले यो सन्दर्भ यहाँ किन उठाएकी हूँ भने आज जुन ४ तारीख संसारभर निर्दोस बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाउने गरिन्छ र माथि प्रस्तुत सन्दर्भहरु बालबालिका माथि हाम्रो समाजमा हुने अत्याचारका केही उदाहरण हुन् । अन्तराष्ट्रिय स्तरमा यो दिवस मनाउनुको अर्थ पक्कै पनि बालबालिका माथि कसैले पनि जानेर वा नजानेर अत्याचार नगरोस भन्ने नै हुनु पर्दछ । त्यो विषयमा आमनागरिकमा सचेतना जगाउने र आगामि दिनहरुमा बालबालिका कुनै पनि खालका अत्याचारको शिकार हुन नपरोस भन्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।
बालबालिका माथि हुने अत्याचार यतिमा मात्र सीमित छैन । केही समय अगाडि मात्र काठमाण्डौ उपत्यकाका विभिन्न निजी विद्यालयमा अध्ययन गर्ने बालबालिका माथि हुने अत्याचारको समाचार प्रकाशित भएको थियो । सामाचारमा उल्लेख भए अनुसार जाउलाखेलका कतिपय बालबालिका बुढानिलकण्ठका पढ्न जान्छन् । अनि बुढानिलकण्ठका कतिपय बालबालिका जाउलाखेल । उनिहरुव विहान ७ बजे स्कूल बस चढ्नु पर्ने हुन्छ, दश बजे स्कूल पुग्न । आधा जसो बालबालिका उभिएरै यात्रा गरिरहेका देखिन्छन् । विद्यालय जान लागेको एउटा बालकलाई तीन घण्टासम्म उभ्याएर यात्रा गराउँदा उसले विद्यालय पुगेर के पढ्न सक्ला ? साँझ चार बजे छुट्टि भएर घर हिडेको उ फेरी ३ घण्टा उभिएरै यात्रा गर्न बाद्य हुन्छ । र ७ बजे घर आईपुग्छ । के यो बालबालिका माथि भएको अत्याचार होइन ? गुणस्तरीय शिक्षा प्रदान गर्ने नाममा अभिभावकले बालबालिका माथि कहिलेसम्म यस्ता खाले अत्याचार गरिरहने हो ? अनि यातायात शुल्क अभिभावकको ढाड सेकिने गरी असुल्ने तर विद्यार्थीलाई दैनिक थुप्रै घण्टा उभ्याएर यात्रा गराउने प्रबृत्ति ति विद्यालयले कहिल्य त्याग्ने ?
हामी शहर बजारका होटलहरुमा गयौं भने होटलको पछिल्लो भागमा रहेको अध्यारो र फोहर कुनामा कुनै बालक वा बालिका आफूभन्दा ठूला भाँडा माझि रहेका भेटिन्छन् । समयमा काम नसकेको भनेर होटल मालिकले खान नदिएका, कुटपिट गरेका, तलब नदिएका घटना थुप्रै भेटिएका छन् । घरेलु कामदारको रुपमा काम गर्न राखिएका बालबालिका घर मालिकले बाँधेर राख्ने गरेका घटनाहरु पनि बारम्बार देखिन्छन् सुनिन्छन् । सवारी साधनहरुमा सहचालकको रुपमा काम गर्ने खासगरी बालकमाथि हुने अत्याचार पनि कम छैन । आफ्नो तौल भन्दा गह्रौं सामान उचाल्नु पर्ने, समयमा काम नसकेको भनेर चालकले कुट्ने गरेका प्रसस्त भेटिन्छन् । अंगभंग गरेर माग्ने काममा लगाउने, जोखिम पूर्ण काममा लगाउने, लागू पदार्थ ओसार पसारको काममा लगाउने, बाल बालिकालाई यौन दुराचारको शिकार बनाउने लगायतका थुप्रै अत्याचार बालबालिका माथि हुने गरेका छन् ।
बालबालिकाको भविष्यमा नकारात्मक प्रभाव पर्ने गरी गरिने यस्ता व्यवहार सभ्य समाजका लागि सुहाउने काम होइन् । हाम्रो देशले बालअधिकार सम्बन्धी महा सन्धीमा हस्ताक्षर गरिसकेको सन्दर्भमा हाम्रो व्यवहार त उनीहरुलाई महासन्धीमा उल्लेख गरिएका अधिकार कसरी प्रदान गर्ने भन्ने तर्फ सकारात्मक पो हुनु पर्दछ । उनिहरुको बाँच्न पाउने अधिकार, विकासको अधिकार, संरक्षणको अधिकार तथा सहभागिताको अधिकारको रक्षा गर्दै र उनिहरुलाई ति अधिकारको निर्वाध उपभोग गर्ने वातावरण सृजना गरी समुन्नत समाज निर्माणमा सघाउनु हामी सबैको दायित्व हो । हामी सबै बालबालिका माथि हुने सबैखाले अत्यचारको विरुद्ध एकमत बनौं बाल अत्याचार रहित समाज निर्माण निर्माण गरौं ।
सन्दर्भ
निर्दोष बाबालिका माथि अत्याचार विरुद्धको दिवस