पृष्ठभूमिः
संहिता कानुन लागु भएपछि घरेलु हिंसाको स्वरुप परिवर्तन भएको पाइएको छ । संहिता कानुन भन्दा पहिला पुरुषले बहुविवाह गरेर महिला माथि घरेलुहिंसा गर्दथे । संहिता कानुन पछि बहुविवाह बदर हुने, कैद सजाय पनि पाँच बर्षसम्म पुगेको, पछि कायम पत्निको विवाह बदर नभै कायमै रहे पतिको अंशभागबाट मात्र अंश पाउने हुँदा अब पुरुषले बहुविवाह गर्नुपूर्व सम्बन्ध विच्छेद गर्न फकाउने, दवाव दिने, शारीरिक, मानसिक र आर्थिक सबै प्रकारका घरेलुहिंसा गर्ने र अन्त्यमा अंश बुझ्न र सम्बन्ध विच्छेद गर्न बाद्य पार्ने गरेको पाईन्छ ।
बहुविवाहको कानुनः
बहुविवाहलाई देवानी संहिता र अपराध संहिता दुवैले निषेध गरेको छ । देवानी संहिताले विवाह बदर हुने महलमा पहिलो संसोधन गरेर वैवाहिक सम्बन्ध कायम रहिरहेको अवस्थामा गरेको अर्को विवाह बदर हुने व्यवस्था थपेको छ । मु.अ.संहिताले वैवाहिक सम्बन्ध कायम रहिरहेको अवस्थामा अंशबण्डा नहुँदै अर्को विवाह गरेमा गर्ने वा गराउनेलाई पाँच बर्षसम्म कैद र पचास हजार रुपयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।
कानुनले सिर्जना गरेको भयः
आफ्नी भैरहेकी श्रीमतिबाट टाढा पुगेर परस्त्रीसंगको सहबासमा फसेंको पुरुषलाई सबभन्दा बढी भय दोह्रो विवाह गरेपनि स्वतः बदर हुने र पाँच बर्षसम्म कैद का साथै पचास हजारसम्म जरिवाना हुने व्यवस्थाले भयको भएको छ । भैरहेको पत्निसंगको पतिपत्निको नाता सम्बन्ध विच्छेद गर्न दवाव दिने क्रममा आफ्नै पत्नि माथि असैह्य घरेलुहिंसा गरेको पाईन्छ । त्यसमाथि पहिलो पत्निले बहुविवाहमा उजुर नगरेर दुई वा सो भन्दा बढी पत्नि कायम भएमा पहिलो पत्नि बाहेकले सगोलको सम्पत्तिबाट अंश पाउँदैनन् । पति, पतिको पहिलो पत्नि र सो पत्निबाट जन्मेका सन्तानको भाग लगाई कायम भएको पतिको एक भागबाट मात्र त्यस्ता एक भन्दा बढी पत्निहरुले अंश पाउने कानुनी व्यवस्थाले पनि हरेक पतिहरुलाई वैवाहिक सम्बन्ध कायम रहिरहेको अवस्थामा अर्को विवाह गर्नबाट भगाएको छ ।
पीडितको परिवन्दः
बहुविवाह गर्ने सुर कसेका हरेक पतिले पत्निलाई असैह्य घरेलुहिंसा गरेका छन् । ती पीडित महिलाहरु संवन्ध विच्छेद गर्न पनि छोरा छोरीका कारणले सक्दैनन् । अर्को दोस्रो पतिको संसर्गलाई असहज मान्ने महिलाहरु पनि जति दुःख सहेर पनि सोही पतिलाई छोड्न चाहदैनन् । त्यसैले आफू माथि भएको घरेलुहिंसाका विरुद्धमा न्याय खोज्न समेत नसक्ने परिवन्दमा परेको पाईएको छ ।
घरेलुहिंसाका स्वरुपः
अर्को महिलाको संसर्गमा फसेको पतिलाई चित्त बुझाउन हरेक पत्निहरुलाई सहज हुँदैन । हिजो असीम माया गर्ने पतिले आज सानातिना गल्तिी कमजोरीलाई पहाड बनाएको देख्दा, दोष, गाली, कुटपिटलाई सहँदा पनि अर्कैको मायाँजालमा फसेको पतिको दील झनझन कठोर बन्दैगएको पीडित महिलाहरुले महसुस गरेका छन् ।
आफ्ना नाता, गोता, इष्टमित्र भित्रका मान्छेहरुसंग बोल्दा समेत चित्त नबुझ्ने, निहु खोजाहा शंका गर्ने, मोवाईल खोस्ने, फुटाई दिने, वैंक व्यालेन्स खाली गराई दिने, पत्निको नाउँमा भएको जग्गा समेतका अचल सम्पत्ति आफ्नो नाउँमा पास गर्न लगाउने अथवा बेच्न बाद्य पार्ने, घर खर्च नदिने तर पाहुना ल्याएर मिठो मसिनो पकाएर नख्वाएको भनेर इष्टमित्रको अगाडि हूर्मत लिने, मध्यरातमा कुटपिट गर्ने, गरेको पाईन्छ ।
घरेलुहिंसाको परिणामः
पहिलो दाम्पत्य जीवनको आशा मारेर अन्यायको विरुद्धमा लड्ने । अन्याय सहेर भविष्यप्रति आशावादी बन्ने । तेस्रो निराशाबाट सबै आशा मारेर आत्महत्या गर्ने । महिलाहरु सबैमा अन्यायको विरुद्धमा लड्ने आत्मबल नहुन सक्छ । घरेलुहिंसाको सीमा थेग्दै भविष्यप्रति आशावादी हुन पनि कमै महिला सफल हुन्छन् । आत्महत्याका धेरै घटना रहस्यमय भएका छन् । कारण पत्ता लगाउन राज्यसंयन्त्रले व्यवसायीक निष्ठा देखाएर मात्रै सम्भव हुन्छ ।
निष्कर्ष ः
घरेलुहिंसामा पर्नेहरुको संख्या अधिक रुपमा महिलाहरु नै छन् । तर अपवादमा पुरुषहरु पनि नभएका होइनन् । कानुनले अपराध घोषित गरेको भएता पनि घरेलुहिंसाको सीमा नाघ्दा आत्महत्या गर्न बाध्य पारिएका महिलाहरु संयोगले बाँचेर अदालतसम्म पुग्दा पनि न्याय नपाउने पीडा झनै कारुणीक
छ । प्रमाणका आधारमा न्याय निरुपण हुने हाम्रो न्यायीक पद्धतिमा हरेक पीडितलाई प्रमाण संरक्षण र संकलनको सीप विकास गरेर न्यायप्रति विश्वास र भरोसा जगाउनु परेको छ ।
बहुविवाहको पृष्ठभूमिमा घरेलुहिंसा
previous post