विश्वव्यापि महामारीको रुपमा रहेको कोराना संक्रमण नियन्त्रण र रोकथामका लागि भनेर गरिएको बन्दाबन्दी गत साताबाट खुलेको छ । योसंगै नेपाली जनजीवन सामान्य हुन थालेको छ । यद्यपि बन्दाबन्दीको समय लामो हुँदा मानिसहरु खुल्नु अगाडि देखि नै आ–आफ्ना काममा फर्कन थालेका थिए । नफर्किउन पनि कसरी भोकोपेट घर भित्रै बसिरहन पनि सम्भव थिएन ।
२०७६ चैत्र ११ बाट सुरु भएको बन्दाबन्दी एकसय २० दिनपछि २०७७ साउन ६ गते मध्यरातबाट खुलेको छ । तर विद्यालय, क्याम्पस, सिनेमा हल, पार्टी प्यालेस जस्ता मानिसको जमघट हुने ठाउँ भने खुल्ला भएका छैनन् । बन्दाबन्दी सुरु हुँदा नेपालमा कोरोना संक्रमितको संख्या दुइ मात्र थियो र बन्दाबन्दी खुल्दा १६ हजार नाघेको थियो । दैनिक झण्डै साढे सातसय संक्रमित हुने अवस्थाबाट ओर्लेर सय भन्दा कम संक्रमित हुन थालेपछि सरकारले बन्दाबन्दी खोलेको हो । माथि पनि भनियो कि योसंगै जनजीवन सामान्य बन्न थालेको छ । बजार, पसल खुलेका छन् । छोटो दुरीका यातायातका साधन चल्न थालेका छन् । तर बुझ्नु पर्ने के हो भने भारतमा यतिबेला दैनिक संक्रमण झण्डै ५० हजार छ र हामीकहाँ दैनिक जसो भारतबाट मानिसहरु आउने गरेका छन् । बन्दाबन्दी खुलेसंगै त झन त्यसको संख्या बढेको छ र हामीलाई संक्रमणको जोखिम पनि बढेको छ । दैनिक सय भन्दा कमको दरको संक्रमण बढेर तीनसय नाघ्न थालेको तथ्याङ्कले पनि त्यही देखाएको छ । पछिल्लो समय मृतकको संख्या पनि ह्वात्तै बढेकोले हामीले कोरोना मुक्त भयौं भने जसरी गरिरहेका क्रियाकलाप कमि ल्याउनु पर्ने देखिएको छ ।
स्वास्थ्य नै धन हो भनेर हाम्रा पूर्खाले किन भनेका रहेछन् भनेर सायद हामी अहिले बुझ्दै छौं । किनभने कोरोना भाइरसका कारण हाम्रो आर्थिक अवस्था धरासायी हुन लागेको हाम्रै आँखाले प्रत्यक्ष देख्ने अवसर पायो । हामी स्वस्थ्य रहन सक्यौं भने मात्रै अरु सबैकाम गर्न सक्षम हुन्छौं । त्यसैले स्वास्थ्यलाई प्राथमिकतामा राखेर अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने, बाहिर निस्कनै परे मास्क लगाएर निस्कने, अनावश्यक भिडभाड नगर्ने र त्यस्ता ठाउँमा नजाने, साबुन पानीले हात धुने लगाएतका सावधानी अपनाउनु हाम्रा लागि अझै आवश्यक भएको छ । बन्दाबन्दी खुल्यो भन्नुको अर्थ हामी संक्रमणको जोखिमबाट मुक्त भयौं भन्ने होइन । बरु पछिल्लो समय बढेको जोखिमलाई कम गर्न सबैले सावधानी अपनाउँ । यसैमा हामी, हाम्रो परिवार, समाज र सिङ्गो राष्ट्रको भलाई निहित छ ।
बन्दाबन्दी खुल्यो संक्रमण बढ्यो-सम्पादकीय
previous post