मुग्लिङ पोखरा सडक खण्ड अन्तर्गत आँबुखैरेनी पोखरा सडक विस्तारको काम झण्डै सकिएको छ । निर्माण पक्षका अनुसार आँबुखैरेनी–जामुने खण्डको कालोपत्रे काम सकिएको छ । अब अन्य केही काम बाँकी छन् । उता जामुन– पोखरा खण्डको काम पनि केही समयमा सकिने अवस्थामा छ ।
सडक विस्तार गरेर चार लेनको तथा छ लेनको बनाइएसँगै यात्रुका लागि यो सडकहुँदै गरिने यात्रा निकै सहज भएको छ । यसअघि पोखराबाट मुग्लिङसम्मको यात्रमा झण्डै ४/५ घण्टा लाग्ने गरेकोमा यो सँगै अब दुइ घण्टा र केही मिनेट लाग्ने भएको छ ।

सडक विस्तारसँगै दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । पछिल्लो समय यो सडक खण्डमा दुर्घटना नभएको दिन नै छैन भने पनि हुँन्छ । अझ व्यास १२ को छिर्कनदेखि घाँसीकुवासम्म अत्यधिक दुर्घटना हुने गरेका छन् । यो सम्पादकीय तयार पारिरहँदा घाँसीकुवादेखि कल्चरभिलेजसम्म झण्डै एक किलोमिटरको दूरीमा दुर्घटना ग्रस्त अवस्थामा तीनवटा सवारी साधन छन् र यसले यो क्षेत्रमा अत्यधिक दुर्घटना हुने गरेको देखाउँछ ।
लामो दूरीबाट आएका सवारीहरु ओरालो र घुम्ती रहेको यो सडक खण्डमा धेरै दुर्घटना हुने गरेका छन् । साँघुरा घुम्तीहरु, ओरालो बाटो दुर्घटनाका कारण होलान तर यतिमात्रैले दुर्घटना हुनुमा बल पुगिरहेको छैन भन्ने आम बुझाई रहेको छ । दुर्घटनामा परेका सवारी हप्तौँ र महिनौं नहटाउँदा यातायातका साधनहरु एउटै लेनमा दुइतर्फी गुड्नु पर्ने अवस्था छ । यसले पनि दुर्घटना हुनुमा बल पुगेको छ । यी र यस्ता थुप्रै कारणहरुले दुर्घटनासँगै मानिसको ज्यानको जोखिम समेत बढेको छ । देखिएका र भोगेका दुर्घटनाबाट पाठ सिक्दै आगामी दिनमा यसको न्यूनिकरणमा सम्बन्धित सबै निकायको ध्यान जानु जरुरी छ ।
