
थप्रेक तनहुँ
बडा दशैंलाई हिन्दुहरूको सबैभन्दा ठूलो पर्व भनिएता पनि वास्तवमा यो पर्व सनातन धर्मावलम्वीहरूकै सबैभन्दा ठूलो पर्व हो । यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ । सत्ययुगमा आसुरी प्रवृत्ति माथि दैवी शक्तिको विजय भएको खुसीयालीमा बडा दशैंमा नव दुर्गा भवानीको पूजा गरी टीका, जमरा लगाउने चलन चल्दै आएको हो । सत्ययुगमा महिसासुर नामको दानवले सम्पूर्ण तेत्तीसकोटी देवताहरूलाई दुःख दिएपछि देवताहरूले देवी दुर्गाको आराधना गरे । त्यसपछि देवी दुर्गा उत्पत्ति भई महिसासुर लगायतका दानवको बध तथा देवताहरूको रक्षा गरेको कथा देवी भागवत र मार्कण्डेय पुराणमा उल्लेख छ । माकण्डेय पुराणका सात सय श्लोकहरू राखेर बनाइएको ग्रन्थलाई दुर्गा सप्तशती अर्थात् चण्डी भनिन्छ । तसर्थ आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म नवदुर्गा भवानीको पूजा, चण्डी पाठ गर्ने चलन छ । देवी स्थापना गर्दा घडा अर्थात् कलशमा जल राख्नुपर्ने भएकोले आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिएको हो ।
देवी दुर्गाका नौवटा स्वरुप मध्ये तिथि अनुसार प्रतिपदामा शैलपुत्री, द्वितीयामा ब्रम्हचारिणी, तृतीयामा चन्द्रघण्टा, चतुर्थीमा कुष्माण्डा, पञ्चमीमा स्कन्धमाता, षष्ठीमा कात्यायनी, सप्तमीमा कालरात्री, अष्टमीमा महागौरी, नवमीमा सिद्धीदात्रीको पूजाआजा गरिन्छ । दशमी तिथिका दिन आसुरी प्रवृत्तिका महिसासुर लगायतका दानव बधको उत्सव मनाउँदै दुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनको हातबाट टीका र जमरा लगाउने तथा आशिर्वाद लिने परम्परा चलिआएको छ । मान्यजनबाट पुरुषलाई यसप्रकार आर्शिवाद दिइन्छ ।
“आयुद्रोण सुते श्रीयं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्य नहूषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
शौर्याशान्त्नवे बलं हलधरे सत्यञ्च कुन्तिसुते । विज्ञाने विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।”
भावार्थः दोर्णाचार्यका छोरा अस्वस्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो श्रेय होस्, रामचन्द्रले जस्तै शत्रु नाश गर्न सके, राजा नहुषको जस्तो ऐश्वर्य मिलोस्, पवन सरी गति मिलोस्, दुर्योधनको जस्तो मान होस्, सूर्यका छोरा कर्ण जस्तै दानी भए, बलराम जस्तै बलबान भए, विदुर जस्तै ज्ञानी बने, युधिष्ठिर जस्तै सत्यवादी भैकन भगवान नारायणको(विष्णु) जस्तै कीर्ति चलोस् ।
त्यसै गरी स्त्रीलाई यस प्रकार आर्शिवाद दिइन्छ ।
“जयन्ती मङ्गला काली भद्रकाली कपालिनी, दुर्गाक्षमा शिवाधात्री स्वाहास्वधा नमोस्तुते ।”
भावार्थः सबैभन्दा उत्कृष्ट र विजयशालिनी भए, जन्ममरणको बन्धन काटेर मोक्ष प्राप्त होस्, प्रलयकालमा सृष्टिलाई निल्ने कालीको जस्तो क्षमता होस्, आफ्ना भक्तलाई सुख दिने भ्रद्रकाली जस्तो भए, हातमा माला र घाँटीमा मुण्डमाला धारण गर्ने कपालिनी, कठोर साधनाले प्राप्त हुने दुर्गा, आफ्ना भक्त वा अन्यको अपराध क्षमा गर्न सक्ने सबैको कल्याण गर्ने जगदम्बा, सबै प्रपञ्चलाई धारण गर्ने भगवती, देवताहरूको पोषण गर्न सक्ने स्वाहा, पितृहरूलाई तृप्त पार्न सक्ने भगवती जस्तो हुन सक्षम भए भनी देवीलाई नमस्कार गर्दछु ।
यसरी दशमीका दिन सकभर शुभ मुहुर्तमा र त्यसो हुन नसकेमा दिनैभरी टीका जमरा लगाउने र आर्शिवाद लिने गरिन्छ । यसदिन टीका लगाउन अनुकुल नमिलेका मानिसहरू टाढा रहेको कारणबाट मान्यजन वा आफन्तको घरमा पुग्न नसकेकाहरूले पूर्णिमाका दिनसम्म पनि टीका लगाउने प्रचलन छ । यस पूर्णिमाको दिन धनकी देवी लक्ष्मी यस धर्तीमा आई अवलोकन गर्ने र को जाग्रत बसेको छ उसैलाई धन ऐश्वर्य प्राप्त होस् भनी बरदान दिने जनविश्वास रहेको छ । यसैले यस दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो ।
रोजगारीका लागि वा काम विशेषले परदेश गएका मानिसहरू समेत घरमा आउने, परिवारका साथ चाड मनाउने, आशिर्वाद लिने दिने, भेटघाट गर्ने अवसर बन्दै आएको छ बडादशैं । त्यसैगरी विभिन्न प्रकारका पिङ खेलेर केही बेर धर्ती छोड्ने चलन चलिएको छ । केटाकेटीका लागि घरघरमा लठ्ठे पिङ बनाइन्छ साथै टोलटोलमा लिङ्गे पिङ, रोटे पिङ निर्माण गरिन्छ भने प्रसस्त काठ पाइने ग्रामीण वस्तीमा चौडाले पिङ निर्माण गरिन्छ । यी पिङहरू मानिस भेटघाट हुने माध्यम पनि हुने गरेका छन् । केटाकेटीहरू पिङ खेल्दै यस्तो भन्ने गर्दछन् । “दशैं आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोर्न जाउँला, चोर्नुभन्दा छुट्टै बसौंला ।”
दशैंमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन चलिआएको छ भने न्युन आयस्रोत भएका घरपरिवारमा आफ्ना छोराछोरीका यी आवश्यकता परिपूर्ति गर्न अभिभावकलाई मुस्किल पर्ने गरेको छ । उच्च तथा अकुत आयआर्जन गर्नेहरूले यस्ता चाडावाडमा भड्कीलो व्यवहार गर्ने, अनावश्यक खर्च गर्ने, धाकरवाफ फैलाउने गर्दै जाँदा सर्वसाधारणका लागि दशैं बोझ हुन थालेका छन् । तसर्थ चाडपर्वहरूमा हुने यस्ता भड्किला व्यवहारलाई राज्य र समाजले निरुत्साहित गर्नु जरुरी छ । दशैंमा मिठा परिकारहरू खाने परम्परा भएपनि खानपानमा उचित ध्यान पु¥याउन नसक्दा कतिपय व्यक्ति तथा घरपरिवारमा अपच, कब्जीयत, झाडा पखला र फूड पोइजनिङका स्वास्थ्य समस्या पनि दशैमा आउने गर्दछन् । तसर्थ खानपानमा सावधानी अपनाउनु पर्दछ , अपच हुनेगरी नखाने, धेरै चिल्लो पदार्थ नखाने, दुध र मासुजन्य खानेकुरा एकैसाथ नखाने, मदिरा सेवन गर्नेहरूले सिमित मात्रामा सेवन गर्ने, वासी खानेकुरा सकभर नखाने र खानुपरेमा राम्ररी तताएर मात्र खाने बानीको विकास गर्नु आवश्यक छ ।
दशैंमा विद्यालय र विश्वविद्यलायमा १५ दिन विदा हुने तथा अन्य सरकारी कार्यालयमा एक हप्ता विदा हुने भएकोले दशैं फुर्सदको चाड पनि हुनेगरेको छ । किसानहरुका लागि खेतीपाती गोडमेल सकेको थन्क्याउने बेला नभएको फुर्सदिलो समय हो । मेहनती र जेहेन्दार विद्यार्थीहरूले थप अध्ययन गर्ने, कलाकार र श्रष्टाहरूले सिर्जनात्मक कार्य गर्ने, पर्यटकहरूले मठमन्दिरको दर्शन गर्ने र नयाँ ठाउँहरूमा घुम्ने, गृहणीहरूले घरको लिपपोत र सरसफाई गर्ने अवसर समेत बन्ने गरेको छ बडा दशैं । नेपाल सरकारले राष्ट्रसेवकलाई एक महिनाको तलव बराबरको रकम चाडपर्व खर्चको रुपमा यसै अवसरमा उपलब्ध गराउँदै आएको छ जसबाट मुद्राको सर्कुलेशन तथा आर्थिक कारोबारमा बढोत्तरी आउने गर्दछ ।
यी सबै परम्परा र चालचलन हामी नेपालीहरूका लागि दशैं संस्कृति बन्दै आएका छन् । अन्य धर्मका र विदेशी संस्कृतिलाई अनुकरण गर्नुको साटो आफ्नै संस्कृति र परम्परालाई संरक्षण गर्नुका साथै वैज्ञानिक आधारमा परिमार्जन गर्दै जानु आजको आवश्यकता हो ।