आदरणीय स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू ,
२०८० सालको महान् चाड बडादसैँको उपलक्ष्यमा हार्दिक शुभकामना दिन चाहन्छु । विगत केही समयदेखि देशमा देखिएको असुरक्षा,अभाव र अन्योलताको अवस्थाले देशमा अराजक स्थितिको सृजना हुदैछ भन्ने आभास सर्वत्र भइरहेको छ । विकास र समृद्धिका हाम्रा आकाङ्क्षाहरू निराशामा परिणत भएका छन् ।
समृद्धिको जतिसुकै रटान लाए पनि अधिकांश जनताहरू बडा दशै जस्तो महान् चाडमा पनि हातमुख जोड्न नसक्ने अवस्थामा पुगेको यथार्थ हामी कसैका अगाडि छिपेको छैन । देशमा व्यापार–व्यवसाय समाप्त हुदैछ । सरकारको गलत आर्थिक नीतिका कारण आर्थिक विकाशको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्र दिन प्रतिदिन धराशायी बन्दै गएको छ ।
कतिपय राजनीतिक दलहरूले आफ्नो मुख्य उपलब्धि मानेका सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता हामीहरूका लागि बोक्नै नसक्ने भारी प्रमाणित हुँदै गएको छ । यसको परिवर्तन अहिलेको अपरिहार्य आवश्यकता भएको छ । यो वास्तविकतालाई धेरैजसो राजनीतिक दल र हामी जनता सबैले महसुस गरेको तर बोल्न नसकिरहेको अवस्था छ ।
देशमा क्रियाशील राजनैतिक दलहरू र स्वयं सरकारले पनि न समाधान दिन सकेको छ न यसबाट देशमा स्वाभाविक समाधान निस्कन सक्ने देखिएको छ । यस्तो कहाली लाग्दो अवस्थाबाट देश गुज्रिरहेको छ । यो अवस्थाबाट बाहिर निस्कन देशमा आमूल परिवर्तनको आवश्यकता छ । यही नै अहिलेको यथार्थता हो ।
अन्तमा नवदुर्गा भवानीले हामी सबैको रक्षाका साथ सत्मार्ग मा लाग्नका लागि प्रेरणा दिऊन । स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजु भाइ तथा दिदीबहिनीहरूलाई बडा दसैँ २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल
गोविन्द राज जोशी