व्यास नगर पालिकालाई गत मंगलबारबाट प्लाष्टिक झोला मुक्त घोषणा गरिएको छ । प्लाष्टिकका कारण वातावरणीय सरसफाइमा परेको नकारात्मक असरलाई मध्यनजर गर्दै व्यासले सुरु गरेको यो काम प्रसंशा योग्य छ । बैशाख २३ गते नगर कार्यपालिकाको बैठकले व्यासनगर प्लाष्टिकजन्य बस्तु प्रतिबन्ध संम्बन्धि कार्यविधि २०८१ पारित गरेको र सोको कार्यान्वयन गर्न जेठ १ बाट नपा भित्र प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरिएको थियो ।
प्लाष्टिक यस्तो वस्तु हो, जुन झट्ट कुहिँदैन । कुहिन वर्षाै लाग्ने तथा पोलेर नष्ट गरौं भने विषाक्त ग्याँस उत्सर्जन गर्ने भएकाले यो मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मानव स्वास्थ्यको ख्याल राख्दै तथा वातावरणीय सुन्दरता र सरसफाइ कायम राख्न समेत प्लाष्टिक झोला प्रतिबन्ध आवश्यक भैसकेको थियो । यसै सन्दर्भमा व्यास नपाले गत चैत्र र वैशाख महिनामा गरी नपा भित्रका चौधवटै वडामा रहेका टोल विकास संस्था, सामाजिक संघसंस्था, जनप्रतिनिधि, उद्योगी–व्यवसायी, तथा व्यापारी समुदायलाई समेत राखेर व्यापक छलफल र परामर्श गरी प्लाष्टिक झोला मुक्त नपा बनाउने अभियान थालेको छ । नगरलाई प्लाष्टिक झोला मुक्त बनाउने कुरामा कसैको विमति छैन तर कार्यान्वयन तहमा लैजान अनेकौं समस्या पनि छन् । नपाले प्लाष्टिक झोलाको वैकल्पिक व्यवस्था गरेको छ ।
पालिकाको अभियानको अवज्ञा गरेर फेरी पनि प्लाष्टिकको झोलाको प्रयोग गर्नेलाई नपाले दण्ड तथा जरीवानाको व्यवस्था पनि गरेको छ । तर कानूनको अवज्ञा गर्नुलाई पुरुषार्थ ठान्ने मानसिकता बोकेकाहरुबाट अवज्ञा हुने प्रसस्त सम्भावना छ । यो सम्पादकीय तयार पार्दासम्म व्यास नपाको मुटु भनिएको दमौली बजार मै कार्यान्वयन फितलो देखिएको छ । अझै पनि कतिपय व्यापारीहरु प्लाष्टिकका झोलामा सामान दिन पूर्ण रुपमा हच्किएको देखिएको छैन । व्यासलाई साँच्चै प्लाष्टिक झोला मुक्त बनाउने सबैको इमान्दार प्रयास आवश्यक छ । आशा गरौं, सबैको इमान्दार र निरन्तर प्रयासले व्यास नपालाई प्लाष्टिक झोला मुक्त बनाउने छ ।
प्लाष्टिक झोला मुक्त व्यास-सम्पादकीय
previous post