आइतबार मे ३ तरिखमा संसारभर जस्तै नेपालमा पनि प्रेस स्वतन्त्रता दिवस मनाइयो । तनहुँमा नेपाल पत्रकार महासंघले कोभिडका कारण अन्य कार्यक्रम गर्न नपाएपछि क्रियाशिल सय भन्दा बढी पत्रकारहरुलाई सेनिटाइजर तथा मास्क वितरण गरेर तथा कोभिड– १९ को दास्रो लहरको महामारीबाट उत्पन्न हुनसक्ने समस्या र चुनौतिहरु प्रति सचेत रही र स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा पेशागत कर्तव्य पूरा गर्न पत्रकारहरुलाई आग्रह गर्दै विश्व प्रेस स्वतन्त्रता दिवस मनायो ।
विश्वभरि सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानलाई संझना र सम्मान गर्दै संयुक्त राष्ट्रसंघको अह्वानमा मनाउने गरिएको यो दिवसले आमनागरिकको सूूचना पाउने हकको समेत संरक्षण गर्दछ भन्दा अत्युक्ति
हुँदैन । सदावहार प्रतिपक्षी र राज्यको चौथो अंगको रुपमा गणना गरिने प्रेसले निष्पक्ष र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सक्दा मात्र यस माथिको विश्वास रहन्छ भन्ने कुराको हेक्का यो दिवसले पत्रकारलाई गराउँछ । यसका साथै संसारभरका प्रेसकर्मीहरुलाई प्रेसको तटस्थता र महत्वको पाठ समेत सिकाउने गर्दछ ।
हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सूनिश्चित गरेको भएपनि सरकारमा रहनेहरु यस माथी अंकुश लगाउन बारम्बार प्रयत्न गरिरहन्छन् । यसका थुप्रै उदाहरण हाम्रा सामु छन् । केही दिन अगाडि मात्रै समाचार प्रकाशन गरेकै आधारमा कार्यालयमै गएर पत्रकार पक्राउ गरिएको जस्तो विडम्बना पूर्ण अवस्थाबाट हामी गुज्रनु प¥यो । यस्तो लाग्छ, सरकारमा रहनेहरुका लागि नभइ नहुने तर सबैभन्दा घृणा गरिने भनेका पत्रकार हुन् । नभए संविधानको भावना प्रतिकुल यस्ता घटना राज्य पक्षबाट हुने थिएन ।
आफु अनुकुल समाचार आउँदा फुरुङ्ग हुने र थोरै प्रतिकूल समाचार आउनासाथ घारेहात लगाउने प्रवृत्ति सत्ता सञ्चालकहरुले नत्याग्दासम्म पूर्ण प्रेस स्वतन्त्रता हुनेछैन । यसको अर्थ स्वतन्त्रताका नाममा छाडापनको आमन्त्रण पनि पत्रकारहरुको चाह हुनु हुँदैन । आमनागरिकको आवाज मुखरित गर्ने प्रेस जगत सधैं स्वतन्त्र रहोस् । पत्रकारका कलमहरु भाँच्ने दुःस्वप्न कसैले नदेखुन्, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना ।
प्रेस स्वतन्त्रताका पक्षमा-सम्पादकीय
previous post