घिरिङ/एमसिए अन्तर्गत निर्माण हुने विद्युत प्रशारण परियोजना प्रभावित स्थानीयका लागि जीविकोपार्जन पुनःस्थापना आयोजनाको प्रारम्भिक तथा समन्वय बैठक घिरिङ गापाको सभाकक्षमा मंगलबार सम्पन्न भएको छ ।
घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाको अध्यक्षता एवं एमसिएका जिल्ला समन्वय अधिकृत होमनाथ ढुंगाना तथा स्थानीय समन्वय अधिकृत अशोक दाहालको उपस्थितिमा बैठक सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्रभावित परिवारको आर्थिक समाजिक उत्थानमा इमान्दारपूर्वक काम गर्न सप्रोसलाई आग्रह गरे । संस्थाले प्रदान गर्ने तालिम तथा वित्तिय साक्षरताबाट प्रभावित परिवारले लाभ लिने कुरामा आफु विश्वस्त रहेको उल्लेख गरे । एमसिए–नेपालले विद्युत प्रसारण आयोजनाबाट प्रभावित हुने परिवारहरूको आर्थिक अवस्था बिग्रन नदिन र उनीहरूको जीवनस्तरमा सुधार ल्याउन ‘जीविकोपार्जन पुनःस्थापना कार्यक्रम(Livelihood Restoration Program – LRP)’ तर्जुमा गरेको उल्लेख गर्दै यसका लागि परियोजनाले सप्रोस नेपाल नामक गैर सरकारी संस्थालाई छनौट मा परेको जानकारी एमसिएका जिल्ला समन्य अधिकृत होमनाथ ढुंगानाले जानकारी गराए ।

कार्यक्रम अन्तर्गत सप्रोसले विशेष गरी जग्गा प्राप्ति र मुआब्जा वितरणपछि प्रभावितहरूको आयआर्जनका स्रोतहरूलाई निरन्तरता दिन कृषि तथा पशुपालन सुधार कार्यक्रम, सीपमूलक तथा व्यावसायिक तालिम, उद्यमशीलता र लघु व्यवसाय सहयोग, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सप्रोसका प्रतिनिधि लोक पौडेलले बताए ।
एमसिएका स्थानीय समन्वय अधिकृत अशोक दाहालले प्रशारणलाईनको टावर पर्ने ठाउँको जग्गा प्राप्ती र मुआब्जा निर्धारण तथा मुआब्जा वितरण कार्य अगाडि बढेको बताए । दाहालले घिरिङका नागरिकको सहयोगले परियोजना निर्धारित समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सप्रोसका प्रतिनिधि कृष्णराज अर्यालले प्रभावितलाई उन्नत बीउबिजन वितरण, तरकारी खेती, र बेमौसमी खेतीसम्बन्धी तालिम, उन्नत नश्लका पशुपालन, गोठ÷खोर सुधार, र घाँस खेती सम्बन्धी सहयोग र तालिम, हाउस वायरिङ, प्लम्बिङ, सवारी चालक, मोबाइल मर्मत, टेलरिङ (सिलाइ–कटाइ), र ब्युटिसियन जस्ता स्वरोजगारमूलक तालिम प्रदान गरिने बताए ।
बैठकमा जनप्रतिनिधि, कार्यपालिका सदस्य, गाउँ पालिकाका विभिन्न शाखाका प्रमुखहरु समेत गरी ३० जनाको सहभागिता रहेको थियो ।
