म कक्षा १२ मा शिक्षाशास्त्र संकाय अन्तर्गत अग्रेजी विषय पढ्दै गरेकी विद्यार्थी हुँ । मलाई मेरो विद्यार्थी जीवन अत्यन्त रमाइलो लाग्छ । शिक्षाशास्त्र अध्ययन गर्ने हरेक विद्यार्थीले कक्षा १२ अध्ययन गर्ने क्रममा ४५ दिनको अभ्यास शिक्षण गर्नुपर्ने हुन्छ । यसै सिलसिलामा म र मेरा ७ जना साथीहरु ब्यास –१२, स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा अभ्यास शिक्षणका लागी खटियौँ । यो विद्यालय त्यही हो जहाँ बाट मैले पढ्न ,लेख्न ,जोड–घटाऊ गर्ने लगायत विभिन्न असल कुराहरु सिकेकी थिएँ । विद्यालय शिक्षाको महत्वपुर्ण र रमाइला दिनहरु बिताएर क्भ्भ् उत्तीर्ण गरेकी थिएँ ।
आफुले विद्यालय अवस्थामा बनाएका साथीहरु र आफुलाई पढाउनु हुने गुरुहरु अनि जीवन गरेटोको पूर्वाधार तयार गरेको विद्यालयमा SEE उत्तीर्ण गरेको भने र सामुहिक अभिनन्दन लिदैँ विदा भएको २ वर्ष पछि प्रशिक्षार्थी शिक्षकको रुपमा पुग्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको थियो । यो विद्यालयले मलाई अक्षरहरुसंगै रमाउन मात्रै सिकाएको कहाँ हो र जिवनका लागी महत्वपुर्ण पाठहरु पनि त पढाएको थियो । मेरा गुरुहरु जसले मलाई परिश्रमको मुल्य सिकाउनु भयो, हिसाबका जोड घटाउसंगै जीवनका जोड घटाउबारे पनि सिकाउनु भयो । उहाँहरुको अगाडि प्रशिक्षार्थी शिक्षकको रुपमा प्रस्तुत हुन पाउँदा मलाई अत्यन्त खुसी लागेको थियो । विद्यालयमा रहँदा गुरु तथा गुरुआमाहरुबाट पाएको माया र प्रोत्साहनले मलाई यहाँसम्म आउन प्रेरित गरेको थियो । आज म प्रशिक्षर्थी शिक्षककै रुपमा भए पनि विद्यालयमा साना भाइबहिनीहरुलाई आफुले जानेको कतिपय कुरा सिकाउन र धेरै त भाइबहिनीबाट सिक्न पुगेकी थिएँ ।
पछिल्लो २ वर्षमा विद्यालयले भौतिक पूर्वाधार विकासमा राम्रै प्रगति गरेको रहेछ । नयाँ शौचालय पनि बनाइएका रहेछन् । तीनहजार बढी पुस्तकसहित व्यवस्थित पुस्तकालय स्थापना भएको रहेछ । कम्प्युटरहरु थपिएका रहेछन् । विद्यालयको समग्र अवस्था सुधारिएको थाहा पाएर खुसी लाग्यो । पुस पहिलो साता अभ्यास शिक्षणका लागी भानुभक्त कलेजमा शिक्षाशास्त्र संकाय अन्तर्गत कक्षा १२ अध्ययनरत हामी ७ जना विद्यालय पुग्दा कार्यरत पुराना र नयाँ शिक्षकहरुले न्यानो स्वागत गर्नुभयो । श्रद्धाले झुकेँ म र सबै गुरुहरुलाई नमस्कार गरेँ । प्रधानाध्यापक नारायणप्रसाद अधिकारी सरले हामी सबैलाई अभ्यास शिक्षण गर्ने कक्षा र समय तोकी दिनुभयो । मैले कक्षा ४ मा पढाउनु पर्ने भयो । कक्षामा पस्दै गर्दा केही डर र संकोच थियो । तर ति प्यारा प्यारा भाइबहिनिहरुको अनुहारहरु देखेपछि मलाई खासै समस्या भएन । शिक्षकहरुले सम्बन्धित विषयको पुस्तक दिएर सहयोग गर्नुभयो । मलाई शिक्षकहरुले गर्नुभएको व्यवहारले लाग्यो शिक्षक त्यस्तो व्यक्तिमात्र बन्न सक्छ जो सधैँ अरुको सहयोगका लागि समर्पित रहन्छ । कक्षमा पढाउदै गर्दा आएका समस्या समाधानमा मात्र होइन , पाठ योजना निर्माणमा समेत आवश्यक सल्लाह दिएर उहाँहरुले मलाई र मेरा साथीहरुलाई ठूलो गुन लगाउनु भयो । सायद यसैको परिणाम थियो कि मलाई विद्यालय पुगपछि एकछिन पनि खाली बस्न मन लाग्दैनथ्यो ।
केही दिन पढाउँदा नै मलाई लाग्यो विद्यालय पढाउन मात्र आउने कहाँ रहेछ र यो त पढाउने बहानामा सिक्ने ठाउँ पनि रहेछ । अभ्यास शिक्षणकै क्रममा अन्य कलेजबाट पनि साथीहरु थपिनु भयो । कुनै संगै पढेका हुनुहुन्थ्यो भने कुनै अपरिचित पनि । नयाँ साथीहरु बनाउन पाउँदा खुसी लाग्यो । मैले पढाउने कक्षामा अरु दुइजना प्रशिक्षार्थी शिक्षक साथीहरु थपिनु भयो । तीन जना मिलेर पालैपालो अनि परस्पर सहयोग गरेर पढाउन थाल्यौं । अभ्यास शिक्षणको अंगकै रुपमा हामीले भाइ बहिनीहरुलाई अतिरिक्त क्रियाकलाप गराउनु पर्ने हुन्थ्यो । हामीले कक्षा ७ सम्मका बालबालिकाका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन ग¥यौं । सबै विद्यार्थी भाइबहिनीहरु सक्रियता पूर्वक सहभागी भए, पुरस्कार पाउँदा खुसी पनि । हामीलाई प्रथम शिक्षण अनुभव लिने अवसर प्रदान गर्ने विद्यालयलाई विद्याकी देवी सरस्वतीको प्रतिमा उपहार प्रदान ग¥यौं । अभ्यास शिक्षणका दिन वितेको पत्तै भएन,साना भाइवहिनी अनि गुरुहरुसंगको रमाइला क्षण सम्झनाको कन्तुरका राख्दै हामी फेरी क्याम्पस फर्कियौं । फर्कने बेलाको विदाई समारोहले हामीलाई भावुक बनायो । विद्यालयको निरन्तर प्रगतिको कामना ग¥यौं । शिक्षाको उन्नयनमा विद्यालयलाई आइपर्ने वाधाहरु फुक्दै जाउन भन्दै विदाइका हात हल्लायौं । विद्यार्थीले सिक्ने वातावरण निर्माणमा विद्यालयले सफलता प्राप्त गरोस् भन्ने शुभाकांक्षा !