दशबर्षे सशस्त्र विद्रोहले नेपाली राजनीतिको संक्रमण उत्कर्षमा पुगेका बेला दिल्ली, दरबार र माओवादी भूमिका बारेमा रिर्पोङ गर्ने पत्रकार मध्ये सुधिर शर्मा पनि एक हुन् । आफ्नो रिर्पोटिङबाट बुझेको नेपालको राजनीतिमा परिक्षणयुक्त बाह्य प्रभावलाई वस्तुनिष्ठ चित्रण गर्न उनले प्रयोगशाला नामको कृतिलाई पुस्तककार दिए ।
पुस्तकले माओवादी सशस्त्र विद्रोह, भारतीयहरुको भूमिका, दरवारको गतिविधि केलाउने क्रममा तयार पारेको कृतिको नाम प्रयोगशाला राखेका हुन् । नेपाललाई प्रयोगशाला र यहाँका राजनीतिक पात्रहरुलाई प्रयोगशालाको औजारको रुपमा त्यो कृतिले चित्रण गर्न खोजेको बुझ्न सकिन्छ ।
नेपालको राजनीतिमा पृथ्वीनारायण शाह, कालुपाण्डे, अमरसिं थापा, बलभद्र कुवँर, भक्ति थापा, बहादुर शाह, भिमसेन थापा, बालनरसिं भनेको जंगबहादुर राणा, त्रिभुवन, विश्वेश्वर प्रसाद कोईराला, महेन्द्र, विरेन्द्र, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, शेरबहादुर देउवा, माधव कुमार नेपाल, खड्गप्रसाद ओली, रामचन्द्र पौडेल, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, कृष्णप्रसाद सिटौला त्यो प्रयोगशालामा काम नलागेका, काम लागेका, प्रयोगभएर खिया लागेका औजारको रुपमा चित्रण गर्न पर्ने अवस्था आयो । संधै प्रयोग भैरहेर पटक पटक प्रधानमन्त्री पाउन सफल औजारहरुमा मृत्यू भैसक्दा पनि नाम लिन मन लाग्यो सूर्यबहादुर थापा र गिरिजा प्रसाद कोईरालाको । अहिले जिवित रहेका मरो दिमागमा नाम चढेपछि धारिलो पार्दै प्रयोग गर्दै गरेको औजारको रुपमा चित्रित हुने नाम हुन अमलेसकुमार सिं, ऋषि धमला लगायत नाम विर्सिएका अरुपनि ।
मातृभूमि पुत्रः
पृथ्वीनारायण शाह, कालुपाण्डे, अमरसिं थापा, बलभद्र कुवँर, भक्ति थापा, बहादुर शाह, भिमसेन थापा, जंगबहादुर राणा, त्रिभुवन, विश्वेश्वर प्रसाद कोईराला, महेन्द्र, विरेन्द्र, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, लगायत मैले समेट्न नसकेका थुप्रै स्वाभिमानी नेपालीहरु जो प्रयोगशालामा काम नलागेका औजार हुन् । त्यसैले आज हामी नेपाल र नेपाली भएर गौरव गर्न पाएका छौं । दुई साम्राज्य ढल्दा नढलेको मुलुक भनेर सगरमाथा उचाईको स्वाभिमानमा उभिन पाएका छौं । यहाँ मैले जंगबहादुर राणा, विश्वेश्वर प्रसाद कोईराला समेतलाई संगसंगै नाम लिँदा आदरणीय पाठकवर्गलाई नमिठो लाग्न सक्दछ । वास्मती चामलको भात खाँदा दाँतमा ढुंगा लागेको जस्तो नमिठो हुन सक्दछ ।
मैले जंगबहादुर राणाको नाम विश्वेश्वर प्रसाद कोईराला मदन भण्डारीहरुकै लाइनमा किन लिएको भने देशलाई मायाँ नमान्ने पात्र जंगबहादुर होइन रहेछन् । बाँके बर्दिया, कैलाली कञ्चनपुर फिर्ता ल्याउने कुटनीतिक क्षमताको कदर गर्न मन लागेको पनि हो । निरंकुश र तानाशाह समय, परिस्थिति र परिवन्दले मागेको भूमिका हुँदोरहेछ । कुनै समय जंगबहादुर, कुनै समय राजा महेन्द्रले त्यो कुटनीतिक क्षमता देखाउनु परेको मैले बुझ्न थालें । आजको नेपाललाई एउटा जंगबहादुर चाहिएको छ ।
खिया लागेको औजारः
गिरिजाप्रसाद कोईराला, कृष्णप्रसाद सिटौला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, देवराज घिमिरेहरु प्रयोगशालाका काम लागेका औजारको रुपमा प्रयोग भए । त्यसैले मुलुकमा लोकतन्त्र आएको ३३ बर्ष अर्थात गणतन्त्र आएको १७ बर्षमा नेपाल र नेपालीको जिवनस्तर उठाउने कुनै काम हुन सकेन । देशको स्वाभिमान पञ्चायतकालमा जत्तिको पनि संरक्षण हुन सकेन । देशको ऋणभार पञ्चायतकालमा भन्दा पनि बढी भयो । युवा विदेश पलायन हुने क्रम हेर्दा देशै रित्तो होला जस्तो छ । नेपाल देश निर्माण गर्ने शाहबंशीय राजाहरु भन्दा २०६३ पछिका राजाहरु बढी विलासी, सौखिन र देशको ढुकुटी लुटेर परदेशमा लुकाउने राष्ट्रघाती भए । पाँच बर्षमा नेपालले विकासको फड्को मार्न सक्ने प्राकृतिक साधन र स्रोतले सम्पन्न देशलाई यी लेण्डुलोपहरुले परनिर्भरतामा पुर्याए ।
धान चामल निर्यात गर्ने नेपाल अहिले आयात गर्ने मुलुकमा पर्ने भयो । कृषिप्रधान देशले तरकारी, दाल, चिनी, खशी बोका, कुखुरा समेत आयात गर्ने अवस्थामा पुर्याउने प्रयोगशालाका उपयुक्त यी औजारहरु नै हुन् । विश्वमा उत्कृष्ठ कागज उत्पादन गरेर विदेश निर्यात गर्ने उद्योगधन्दा बन्द गराउन उध्याइएका यी औजारहरुले जुत्तामा मुुलुकलाई आत्मनिर्भर बन्न दिएनन् । टायरमा परनिर्भरतामा पुर्याए । चिनी, कपडा, सिमेन्ट आदिको दुर्भाग्य त्यस्तै छ । नेपाल प्रकृतिक साधान स्रोतले सम्पन्न देश हो । तर यी कुपात्रहरुले हाम्रो देशलाई बृद्धाश्रम बनाउन लागे । नेपाली नागरिकलाई वैदेशिक श्रमबजारमा पुर्याएका यी औजारहरुले आफ्नै नागरिकलाई भुटानी प्रमाणित गरेर बेच्न पनि पछि परेनन् । सिर्जनशिल युवा जनशक्तिलाई बैदेशिक श्रमबजारमा बेचेर नेपाली श्रमबजारलाई आवश्यक श्रमशक्ति आयात गर्ने यी औजारहरुले के नै बाँकी राखे होलान् ।
नेपालको मौलिक पहिचान धर्म, संस्कृति, मुलुकी ऐन, न्यायप्रणाली समेतका राष्ट्रिय सम्पदा के के मिल्छ त्यही त्यही बेचेर पालिए, मात्तिए, पात्तीएर देशलाई खोक्रो बनाई सके । नेपालको कुन कानुन बदल्ने, के कानुन निर्माण गर्ने, शिक्षा नीति कस्तो बनाउने, न्याय प्रणाली कस्तो बनाउने जिम्मा प्रयोगशालाका सञ्चालकहरु दिए । नेपालको भूमिको खनिज, ग्याँस, फलाम, युरेनियम लगायतका प्राकृतिक सम्पदाको खोज अनुसन्धान गर्न जिम्मा पनि दिएर सत्ता, भत्ता, सुखसुविधा र विलासमा सौदावाजी गरें । ३३ बर्षको समय जनता र देशको लागि बद्नाम, परनिर्भर बनाउनमा खर्च गरे । जनताबाट आफैलाई राजाको रुपमा चित्रण गरिने अवस्थामा पुर्याए । त्यसैले प्रयोगशालाका असल औजारहरुलाई लेण्डुलोप भन्न पर्ने अवस्था आयो । किनकि सिक्कीमको राष्ट्रिय पहिचना र अस्तित्व लेण्डुलोप र रामचन्द्र पौडेलहरुले नै गुमाएका थिए रे ।
छुटेको नाम खड्गः
नेपाली जनमानसमा खड्ग प्रसाद ओलीको नाम पनि लेण्डुलोप वर्गमै चित्रण गरिन्छ । तर मैले त्यसरी चित्रण गर्नै सकिन । सबैले भ्रष्ट्रचरित्रको ओली भन्छन् । किनकिन मैले त्यसरी बुझ्नै सकेको छैन । कारण हुन सक्छ, २०७२ सालमा संविधान जारी गर्न प्रतिपक्ष पनि पिलर बनेर उभिएको श्रेय उनैलाई जान्छ । रोकेका थिए । छेकेका थिए । देशलाई अस्थिरतामा धकेल्न खोज्नेहरुले प्रयोग गरेका औजार डा. बाबुराम भट्टराईले मध्यरातमा पहिलो संविधान सभाको अस्तित्व समाप्त गराएर मुलुकलाई वैधानिक सुन्यतामा पुर्याएका थिए । तर ओली बाधक बन्ने हिम्मत त गरे । नाका बन्दीको डटेर सामना गरे । त्यति मात्रै होइन, चुच्चे नक्सालाई नेपाल सरकारबाट प्रमाणिकरण पनि गराए । खैर जे होस्, खड्गप्रसाद ओली पनि लेण्डुलोप नै होलान्, मदन भण्डारीको हत्यारा थाहा पाएर लुकाउने प्रयोगशालाका खाट्टी औजार होलान् । तर भूराजनीतिक परिवेशमा गिरिजा, प्रचण्ड बाबुराम दर्जामा प्रयोग भएका औजार होइनन् जस्तो लाग्यो । दोस्रो मदन बन्नबाट जोगिएर उनले देखाएको आँटको सम्मान गर्दै लेण्डुलोप दर्जामा मैले चित्रण गर्न नसकेको मात्र हो ।
नयाँ औजारको परिक्षणः
नेपाली प्रयोगशालामा प्रयोग भएका औजारमा खिया लागेको महसुस हुन थालेको छ । ति औजार उध्याएर पनि प्रयोग हुन नसक्ने भएछ क्यार, नयाँ औजार भित्र्याउनका लागि प्रयोग हुन थालेको छ । नयाँ औजारका रुपमा दुर्गा प्रसाई अहिले नेपाली बजारमा निकै मार्केट लिएको नाम हो । औजार हुन होइनन्, अहिल्यै प्रष्ट हुन सकेको छैन तर ‘राजा’ नामको औजार पनि अहिले नेपाली राजनीतिक बजारमा निकै मार्केट पाएको औजार हो । कालापानी, लिम्पियाधुरा, लिपुलेक जस्ता ठाउँबाट औजारका रुपमा चित्रण गरिने राजा संगै दुर्गा प्रसाईहरु प्रयोगशालाका नयाँ औजारका रुपमा भित्रन लागेका आभाष नेपाली राजनीतिक बजारलाई हुन थालेको छ ।
अब नेपालीको स्वतन्त्र जनमतले अनुमोदन गरेका पात्रहरु बालेन शाह, हर्क साङपाङ, रवि लामिछाने, स्वर्णिम वाग्लेहरु कहाँ र कस्का औजार हुन्, वा नेपाली जनमतकै औजारमा सीमित भूमिकामा प्रकट भैरहन टिक्न सक्ने हुन प्रतिक्षाको कसीमा रहेका छन् ।