दमौली/फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजाले नेपाली राजनीतिमा एउटा अभूतपूर्व ‘राजनीतिक भूकम्प’ ल्याइदिएको छ ।
निर्वाचनको जनादेश मार्फत पुराना स्थापित शक्तिहरूको विरासत ढल्दा नयाँ शक्तिले सत्ताको साँचो मात्र हातमा लिएको छैन, बरु मुलुकलाई नयाँ दिशा दिने जनमत समेत प्राप्त गरेको छ ।
नेपाली राजनीतिको दशकौँ लामो समीकरणलाई योे निर्वाचनले पूर्णतः उल्ट्याइदिएको छ । अघिल्लो संसदमा चौथो दलका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको इतिहासमै विरलै देखिने गरी झण्डै दुई तिहाइ बहुमतसहित पहिलो दलको रूपमा उदाएको छ ।

आम मतदाताले यसपटकको निर्वाचनमा उम्मेदवारको अनुहारभन्दा पनि ‘घण्टी’ चुनाव चिह्न र बालेन्द्र शाह (बालेन) को व्यक्तित्व प्रधान बन्यो । कुनैपनि मतदाताले दलको घोषणा पत्र वा प्रतिज्ञा पत्र वा वाचा पत्र पढेको र त्यसमा भएका नीति कार्यक्रमको मूल्याङ्कन गरेर मत दिएको पाइएन । काठमाडौँका मेयर बालेन शाह रास्वपामा प्रवेश गरेसँगै देशव्यापी रूपमा सिर्जना भएको तरङ्गले मतदातालाई यसरी प्रभावित पारेको देखियो कि, मतदाताले उम्मेदवारको योग्यताभन्दा पनि ‘बालेनलाई मत’ दिने उद्देश्यले घण्टीमा छाप लगाएको पाइयो । यही ‘बालेन लहर’ को परिणामस्वरुप रास्वपाले सदनमा प्रचण्ड बहुमत हासिल गरेको छ । देशैभर घण्टी चर्काे गरी बजेको छ ।
अघिल्लो निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस दोस्रो ठूलो दलको रूपमा त कायम छ, तर संसदमा उसको उपस्थिति ‘नगन्य’ जस्तै हुने देखिएको छ । विशेष महाधिवेशनमार्फत गगन थापा र विश्वप्रकाश शर्मा लगायतका युवाहरूको हातमा नेतृत्व पुगेपछि कांग्रेसले राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको थियो । आम कार्यकर्ता र मतदातामा उत्साह पनि थियो । यद्यपि, त्यो उत्साह चुनावी नतिजामा रूपान्तरण हुन सकेन । विश्लेषकहरूका अनुसार, यदि गगन–विश्वप्रकाश नेतृत्वमा नभएको भए कांग्रेसको अस्तित्व नै संकटमा पर्न सक्ने थियो । अहिले प्राप्त नतिजा पनि युवा नेतृत्वकै जगमा हो भन्नेहरु धेरै छन् । अहिलेको नतिजाले कांग्रेसलाई पुनर्संरचनाको गम्भीर दबाब दिएको छ । मुर्झाएको रुखलाई मलजल गर्ने र कांग्रेसको पुनः जीवन दिने जिम्मा युवा नेतृत्वमा आएको छ ।
व्यवस्थित र अनुशासित संगठन भएको भनिने नेकपा एमालेका लागि यो निर्वाचन निराशाजनक सावित भएको छ । प्रत्यक्षतर्फ नराम्रो हार व्यहोरेको एमालेले समानुपातिकतर्फ पनि अघिल्लो निर्वाचनको तुलनामा झण्डै आधा मत मात्रै प्राप्त गरेको छ । नेतृत्व परिवर्तनको आवाज नसुन्दा एमालेको यो हविगत भएको हो भन्नेहरुको संख्या यतिबेला धेरै छ । सूर्यमा साँच्चै चमक ल्याउने हो भने एमालेमा नेतृत्व परिवर्तन अपरिहार्य भएको अनुभूत सबैले गरेका छन् । यता, झण्डै दुई दर्जन साना–ठूला दलहरू मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ को हालत पनि उस्तै छ । जनमतले कम्युनिस्ट एकतालाई भन्दा नयाँ विकल्पलाई रोजेको स्पष्ट सन्देश दिएको छ ।
नयाँ उदाएको श्रम संस्कृति पार्टीले केही सम्भावना देखाए पनि उल्लेख्य सिट ल्याउन सकेन । ‘उज्यालोका नायक’ भनेर चिनिएका कुलमान घिसिङलाई समेत मतदाताले विश्वास गरेनन् । चिम बल्न सकेन । यो निर्वाचन केवल अनुहारको मात्र नभई राजनीतिक परिवर्तनको तीव्र भोक रहेको पुष्टि गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था नाजुक बन्दा तराई केन्द्रित क्षेत्रीय दलहरू प्रभाव शून्य भएका छन् । नेपाल मजदुर किसान पार्टी अब संसदमा नदेखिने भएको छ अर्थात संसदमा अब मादल बज्ने छैन । राष्ट्रिय जनमोर्चाको अस्तित्व झन्डै समाप्तिको संघारमा पुगेको छ ।
फागुन २१ को निर्वाचन परिणामले नेपालमा ‘परम्परागत राजनीति’ को अन्त्य र ‘नयाँ युग’ को सुरुवातको संकेत गरेको छ । रास्वपाको हातमा सुम्पिएको यो भारी मतलाई उसले कसरी व्यवस्थापन गर्छ र पुराना दलले यो धक्काबाट के पाठ सिक्छन् भन्ने कुरा नै आगामी दिनको मुख्य चासोको विषय बनेको छ र यसले नै देशको भविष्य निर्धारण गर्नेछ ।
