मंगलबार मार्च २२,विश्व पानी दिवस । “Ground water: making the invisible visible” भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइयो । जमिन मुनिको पानीको महत्वलाई आत्मसाथ गर्दै यस वर्ष जमिनमुनिको पानीको श्रोत संरक्षण र स्वच्छता कायम गर्ने विषयमा छलफल र बहस गरिनेछ । पानी जीवन हो, हामी मानव समुदायको मात्र होइन पृथ्वीमा भएका सबै प्राणी र वनस्पतिको । बढ्दो जनसंख्यासंगै बढ्दै गएको बस्ती विकासका कारण पानीका श्रोतहरुको विनाश हुँदै गएको मात्र छैन, भएका श्रोतहरु पनि प्रदुशित हुँदै गएका छन् ।
हाम्रो विकास अवधारणामा सडक, भवन,पुल निर्माण त परे तर जसको अस्तित्वसंग मानिसको आफ्नै जीवन जोडिएको छ, त्यसको श्रोत संरक्षणमा हामीले ध्यान दिन सकेका छैनौं । हाम्रो प्राथमिकतामा त्यस्ता कुराहरु पर्न सकेका छैनन् । त्यसको संरक्षण आवश्यक छ भन्ने शाय हामीलाई लागेको छैन । किनभने भौतिक निर्माणको नशाले, रातारात धनी हुने घातक अभिलाषाले हाम्रो मन, मष्तिस्कलाई यसरी विथोलेको छ कि पानीका श्रोतहरुको ख्याल हामीलाई हुन छाडेको छ । विश्वमा उपलब्ध पानी मध्ये केही प्रतिशतमात्र पिउन योग्य भएको सत्यलाई हामीले विर्सन पुगेका छौं र प्रकृतिले उपलब्ध गराएको यो उपहारलाई विटुल्याउने प्रयत्नमा हामी लागि परेका छौं ।
पछिल्लो समय पानीका श्रोतहरुमाथी मानवसमुदाय द्वारा प्रदर्शित व्यवहारले भविष्यमा स्वयम् मानव समुदाय मात्र नभएर समग्र प्राणी जगतको अस्तित्व संकटमा पर्ने देखिएको छ । अनविकरणिय उर्जाको बढ्दो प्रयोगसंगै पृथ्वीको तापमानमा भएको वृद्धिले पानीको निर्मल श्रोत हिमालमा रहेका हिउँ पग्लन थालेका छन् । हिमाल अब सेतो देखिँदैन । हाम्रो मनलाई आकर्षित गर्दैन । हिमाल अब विहान सूर्याेदयको बेला सुनौला रङमा मुस्कुराउन छाडेको छ । अतिवृष्टी तथा अनावृष्टिको समस्याबाट मानव र प्राणी तथा वनस्पती जगत गुज्रनु परेको छ । यसको सोझो अर्थ हो, हामीले निकट भविष्यमा पानीको संकट व्यहोर्नु पर्नेछ । अझ हामीमा नआएको चेत के हो भने हामीसंग थोरैमात्र पानी छ,, जुन पिउन योग्य छ । त्यसको संरक्षण हामीले गर्ने चासो देखाएका छैनौं । हाम्रो सन्दर्भमा कुरा गर्दा पहाडका कुना कन्दरा छिचाल्दै बग्ने नदी तथा खोलाहरु हाम्रो स्वच्छ पानीका श्रोत हुन् । तर सहर होस् या गाउँ जहाँ हेरेपनि अब खोला तथा नदीहरु कुरुप बनाइएका छन् । फोहरको उचित व्यवस्थापन हुन नसक्दा वा चासो नदिँदा खोला वा नदी किनार फोहरको डंगुरले ढाकिन थालेका छन् । यसले स्वच्छ पिउने पानी प्राप्तीको हाम्रो अवसरलाई कुण्ठित बनाएको छ ।
हामीलाई राम्ररी थाहा छ, दूषित पानीको कारण अनेकौं सरुवा रोगहरु लाग्ने गर्दछन् । यसले मानव स्वास्थ्यमा नकारात्मक असर पर्छ । यसले नागरिकको आर्र्थिक अवस्थामा मात्र होइन् समग्र देशको उत्पादन र अर्थतन्त्रमा समेत नकारात्मक असर पर्दछ । पानी पिउन नै नपाउने संकट अनि पाएको खण्डमा पनि स्वच्छ पानी पिउन नपाउने अवस्थाबाट पार पाउन पनि हामीले पानीका श्रोतको संरक्षण तथा तिनलाई प्रदुषित हुन नदिने प्रण गर्नु पर्दछ ।
पानीको किफायती प्रयोगमा हामी सचेत हुनु जरुरी छ र आगामी पुस्तालाई पनि पानीको किफायती प्रयोगमा उत्प्रेरित गर्नुका अतिरिक्त श्रोतको संरक्षण तथा प्रदूषित हुनबाट रोक्ने विषयमा सचेत गराउनु जरुरी छ । आउनु होस्, विश्व पानी दिवसको अवसरमा हामी सबैले पानीका श्रोतहरुको संरक्षणमा ध्यान दिँदै भावी पुस्तलाई स्वच्छ पानी सहितको विश्व हस्तान्तरण गर्ने प्रण गरौं ।
पानीको श्रोत संरक्षण गरौं
previous post