तीन दिन अगाडि अर्थात गत सोमवार असार १५ गते हामीले राष्ट्रिय धान दिवस मनायौं । असार १५ लाई हामी दही च्यूरा खाने दिनको रुपमा पनि लिन्छौं । असार १५ गते सामाजिक सञ्जालका भित्ताहरुमा राष्ट्रिय धान दिवस र दही च्यूरा खाने दिनको शुभकामना र त्यससंग सम्बन्धित तस्विरहरुले रंगिए । तर मैले सामाजिक सञ्जालमा देखेका अधिकाँश तस्विरहरु त्यस्ता थिए जो के बल असार १५ को लागि खिचिएका थिए । भन्नुको तत्पर्य ती असारको चर्को घाममा छत्री ओढेर हिलाउँदा साउँदै गरेका हलिहरुको तस्विर थिएनन् ति । न त ढाड सेकाएर खन्दै गरेका बाउसेहरुको थियो । नत घामले गाला रातो बनाएर रोप्दै गरेका रोपारहरुको नै थियो । अधिकाँश तस्विरहरु ती व्यक्तिहरुको थियो । जस्ले खेतमा टेक्ने र हिलो छुने भनेको असार पन्ध्रमा मात्रै हो । त्यो पनि सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्नको लागि मात्र । मैले यसो भन्नुको अर्थ कोही कसैलाई व्यक्तिगत रुपमा चित्त दुखाउनु विल्कुल होइन र कोही कसैलाई भावनात्मक रुपमा ठेस पुगेमा माफि चाहन्छु । मेरो भनाईको अर्थ के मात्रै हो भने असार पन्ध्रमा सामाजिक सञ्जालको भित्तामा सजिएका तस्विरहरुमा मौलिकता भन्दा कृतिमता ज्यादा थियो भन्नु मात्र हो । पंक्तिकारलाई पनि राष्ट्रिय धान दिवस र दही च्यूरा खाने दिनको शुभकामना सामाजिक सञ्जाल मार्फत सबैमा बाडौं कि भन्ने लागेको थियो । तर शुभकामना सन्देशको शब्दहरु टाईप गर्न औंला नै चलेनन् । जब झल्यास्स याद आयो, बार्षिक रुपमा आयात हुने खवौंको खाद्य सामाग्रिहरु ।
असार कृषकहरुको लागि अत्यन्तै महत्वपूर्ण महिना हो । हरेक किसानलाई असारमा पाकेको बाली भित्र्याउने र नयाँ बाली रोप्ने चटारोले छोएको हुन्छ । बर्खायाममा विहान छिट्टै उज्यालो हुने र दिन लामो हुने हुँदा विहानदेखि साँझसम्म किसानहरु खेतवारीमा खटिएको देख्न सकिन्छ । कतिलाई त खाना खाने फूर्सदसम्म हुँदैन । सायद त्यसैले होला असारलाई मानो खाएर मुरी भित्र्याउने महिनाको रुपमा पनि लिईन्छ । असारको महिना वेशीतिर झर्दा खेतमा लहलह झुलेका पहेंलपुर सुनको बालाहरु देख्दा साँच्चै नै अदभूत आनन्दको महसुस हुन्छ । शिरीशिरी चल्ने चिसो वाताससंग धानका बालाहरुले बहेली खेल्दा धर्ति मुस्कुराई रहेको आभास हुन्छ । साँच्चै नै खेतभरी लहलह झुलेको धानको बाला देख्दा जो कोही पनि भावनामा हर्ष विभोर हुन्छ । यदि कृषिकर्मप्रति उसको पुस्तौंदेखि कुनै नाता नभएपनि । यस पटक कोरोना महामारीको कारणले बन्दाबन्दी भएको र विद्यालय पनि सञ्चालनमा नआएको कारणले गर्दा पंक्तिकारलाई पनि विगतका बर्षहरुमा भन्दा यो बर्ष असारे खुशीसंग साक्षात्कार हुने सौभाग्य बढी नै प्राप्त भयो । अरु दाजूभाईसंग धान काट्ने, पराल सुकाउने, काममा रमाउने मौका मिल्यो । असारे हिलोको सुगन्धमा भिज्ने अवसर जु¥यो । जुन सायद असारभरिनै चलिरहला । वेशीमा धान परालसंग खेल्दै गर्दा आली हिलो गर्दै गर्दा अनुपम आनन्द प्राप्त भयो । तर संगसंगै मष्तिष्कमा बारम्वार आईरहेको एउटा तस्विरले केही न्यास्रो पनि बनायो । राजमार्गको छेउछाउमा सुन फल्ने खेतहरु प्लटिङ्ग गरेर घडेरीमा परिणत भएको तस्विर र काम गर्ने मान्छेको अभावमा बाँझै बसेका खेतवारीको तस्विर ।
वास्तवमै हाम्रो देश नेपाल प्रकृतिको वरदान पाएको देश हो । यति सानो भूगोल भित्र पनि हिमाल, पहाड र तराई जस्तो तीन भिन्न भिन्नै किसिमको हावापानी हुनु आफैमा अदभूत कुरा हो । यी तीन किसिमको हावा पानीमा उत्पादन हुने फरक फरक प्रकारका अन्नपात र पाईने औषधीजन्य जडिबुटीहरु । अहो, प्रकृतिको यस्तो अमूल्य वरदान धेरै कमलाई मात्र प्राप्त हुन्छ । कृषिको लागि प्राकृतिक रुपमै नेपाल स्वर्णिम भूमि हो । यदि तराई मधेशका हरेका फाँटहरु सिंचिने हुन भने नेपाल मात्र होइन, आदि एशियालाई खान पुग्ने खाद्यान्न उब्जाउन सकिन्छ । तर विडम्बना कुनै समय दक्षिण कोरियालाई खाद्यान्न सहयोग गर्न सक्ने क्षमता भएको नेपाल आज बार्षिक रुपमा खर्बौं रुपयाको दाल चामल भारतबाट आयात गर्न पर्ने अवस्थामा पुगेको छ । यसबाट प्रष्ट हुन्छ, हामी कहि न कहि अवश्यक चुकेका छौं । यदि अब पनि हामीले आफू कहाँनेर चुके भनेर लेखाजोखा गर्न सकिएन र गल्ति सुधार गर्न सकेनौं भने धेरै ढिलो हुन्छ ।
हामीले सबैभन्दा ठूलो गल्ति के ग¥यौं भने कृषिलाई तल्लो दर्जाको काम हो भन्ने मानसिकता विकशित ग¥यौं । हामीले कहिल्य पनि आफ्नो छोरा छोरीलाई कृषिकर्म तर्फ लाग्न प्रेरित गर्न सकेनौं । हामीले चाह्यौं कि आफ्नो छोरा छोरी बरु आठ दश हजारकै भएपनि जागिर खाउन, तर खेतीपातीमा नलागून । अझ यदि पढेलेखेका छोरा छोरी छन् भने त झन कुरा बेग्लै भैहाल्यो । पढे लेखेको मान्छेले खेतबारीमा काम गर्न हुन्न भन्ने गलत मानसिकता जो हामीसंग छ, हामी बरु शौचालय सफा गर्ने काममा विदेश जान तयार हुन्छौं तर खेतीपातीमा लागेर आफ्नो स्वाभिमान गिराउन सक्दैनौं । विश्वमै अब्बल दर्जाका स्याउहरु हाम्रै मनाङ्ग, मुस्ताङ्ग, हुम्ला र जुम्लामा पाईन्छ, तर फलफूल पसलका तख्ताहरु नेपाली भन्दा धेरै चाइनिज स्याउले भरिएका हुन्छन् । आधि यशियाको पेट भर्न पुग्ने तराईको मलिलो माटो हामीसंगै छ, तर दैनिक उपभोग हुने दालचामल खुर्सानी, प्याज, लसुन र अदुवाको लागि भारतसंग निर्भर हुनुपर्ने अवस्थामा छ । गाउँगाउँमा पाखा बारीहरु बाझै छन् तर तिहारमा करोडौंको सयपत्री र मखमली भारतबाट आयात गर्नु पर्दछ । हामी नेपाललाई कृषि प्रधान देश भन्दछौं, तर दशैमा यदि भारतबाट खशी बोका लगायतका मासुजन्य पदार्थ अयात नगर्ने हो भने धेरै भान्सामा पकाउन मासुको भाग नै पुग्दैन । आयात गर्ने बानीले हामीलाई यतिसम्म विगारी सक्यो कि अहिले अधिकाँश नेपालीले खाने दाना दाना विदेशबाट आयात गरिने हुन् । कृषिमा हाम्रो अवस्था यति विकराल छ, अनि के को खुशीले पन्ध्र असारको शुभकामना बाँड्नु र खै ?
हाम्रो अर्को गल्ति के पनि हो भने नेपालको कुनै पनि सरकारले कृषिलाई प्रवर्धन गर्ने काम गर्न सकेन । जुन सुकै सरकार पनि भाषण गर्दा कृषिमा क्रान्ति ल्याउँछौं त भन्ने तर देशलाई कृषिमा स्वालम्वी र आत्मनिर्भर बनाउने भन्दा पनि आयात गरेरै काम चलाउने मानसिकताबाट उठ्न सकेन । कृषि प्रधान देशमा अहिलेसम्म एउटै सितल भण्डारण गृह (कोल्ड स्टोर) छैन । जसका कारण किसानहरुको तरकारी वस्तुलाई ख्वाउने कुँडोमा परिणत हुन बाद्य छ । अझै पनि किसानहरु खेतीपातीको लागि आकाशको पानीमा निर्भर हुनुपर्ने बाद्यता छ । यस्ता अनगिन्ति समस्याबाट पिडित छन् नेपाली कृषकहरु । अनि कसरी हुन्छ कृषि क्रान्ति ?
हामीले नेपाललाई विकशित बनाउन त चाह्यौं तर विकशित कसरी हुन्छ र हामीसंग उपलब्ध स्रोत साधनलाई अधिकतम रुमा कसरी उपयोग गर्न सकिन्छ भन्ने लेखाजोखामा सँधै नै चुकीरह्यौं । नेपालका अरु सबै क्षेत्रलाई छोडेर कृषि क्रान्तिमा मात्र ध्यान दिने हो भने पनि पाँचबर्ष भित्र नै नेपाल अब्बल राष्ट्रहरुको सूचीमा आउन सक्छ । त्यसैले अब ठूला ठूला गफ मात्रै गर्ने भन्दा पनि सबै मिलेर कृषिलाई प्रवर्धन गर्ने तर्फ ध्यान दिउँ । नागरिक स्तरबाट पनि र सरकारले पनि ।
जुन दिन नेपालले खर्बौको कृषिजन्य उत्पादन आयात गर्नुको सट्टा निर्यात गर्ने क्षमता राख्दछ, त्यस दिन पन्ध्र असार शुभकामना बाँड्दा पनि अहिलेको कृतिमता र औपचारिकता भन्दा ज्यादा खर्बौ खबर खुशीहरु प्राप्त हुनेछ ।