दमौली/समाजसेवी स्वर्गीय हरिभक्त भट्टराईको स्मृति दिवसमा पत्रकारिता अक्षयकोष स्थापना भएको छ । स्व.भट्टराईका धर्मपत्नी सीता भट्टराई, छोराहरु उत्तम र सुमन, बुहारीहरु ईश्वरी र यमुना भट्टराई तथा छोरी मञ्जु केसीले बुवाको स्मृति दिवसका दिन शनिबार रु.एक लाख १० हजारको अक्षयकोष स्थापना गरेका हुन् ।
स्थापित अक्षयकोषको रकम नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारीको उपस्थितिमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई छोरा सुमन भट्टराई र बुहारी यमुना भट्टराई हस्तान्तरण गरेका थिए ।
“बुवा समाजसेवामा लागिरहनुभएको अवस्थामा नै स्वर्गवास हुनुभयो । त्यसैले जीवन्त रहने पत्रकारिता पेशालाई प्रोत्साहन गर्ने लक्ष्य सहित अक्षयकोष स्थापना गरेका हौं । समाजको आँखा मानिएका पत्रकारलाई बुवाको स्मृतिमा सम्मान गर्न गर्नेछौं”, छोरा सुमनले बताए । पत्रकारिता क्षेत्रमा टिकाइरहन प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको उहाँका छोरा सुमनले बताए । पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारलाई वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने गरी भट्टराई परिवारले अक्षयकोष स्थापनार्थ उक्त रकम प्रदान गर्नुभएको अध्यक्ष पौडेलले बताए ।