भनिन्छ, अमरशक्ति नाम गरेका राजाका तीन मुर्ख छोराहरुलाई ६ महिनामा नीतिशास्त्रका जानकार बनाउन विष्णु शर्मा नामका व्यक्तिले रचना गरेका हुन पञ्चतन्त्रका कथाहरु । थुप्रै नीतिकथाहरु भएको पञ्चतन्त्रमा मित्रभेद शीर्षक अन्तर्गत हुटिट्याउँ र समुन्द्रको कथा पनि छ । पहिले कथालाई संक्षेपमा प्रस्तुत गर्न चाहन्छु अनि थप चर्चा गर्नेछु ।
कथा यस प्रकार छ । कथामा हुटिट्याउँका भाले पोथी छन् । एक दिन फुल पार्ने समय आउ्रँदा पोथीले भालेलाई सुरक्षित गुँड बनाइदिन आग्रह गर्छे । भालेले समुन्द्र छेउमा गुँड बनाएर त्यही फुल पार्न आग्रह गर्छ । पोथीले समुन्द्रले आफ्ना फुलहरु बगाएर लान सक्ने भएकाले उक्त स्थान असुरक्षित हुने बताउँछ । तर भाले समुन्द्रले त्यसो गर्न नसक्ने र यदि त्यसको गरेमा आफुले समुन्द्रलाई मरुभूमिमा परिणत गरिदिने भन्दै पोथीलाई त्यही गुणमा फूल पार्न भन्छ । भालेका आग्रह मान्दै पोथीले सोही गुणमा फुल पार्छे तर एक दिन समुन्द्रको छालले फुल बगाएर लैजान्छ । यो देखेर पोथी रिसाउ्र्रँछे । भालेले अब आफुले समुन्द्रसंग युद्ध गरेरै भए पनि फुलहरु फिर्ता ल्याउने बताउँछ । लाखौ गुण ठूलो समुन्द्रलाई युद्धमा जित्नु असम्भव भएको भन्ने पोथीको कुरामा प्रत्युतर गर्दै उसले भन्छः जोसंग उत्साहरुपी शक्ति विद्यमान रहन्छ तिनीहरु शक्तिहिन भएर भइकन पनि आफ्ना बलिया शत्रुहरुसंग प्रतिस्पर्धा गर्न सफल हुन्छन् । उ अझ अगाडि भन्छ,, कोही शरिरले ठूलो हु्ँदैमा त्यो नै ठूलो हो र त्यो नै शक्तिशाली हुन्छ भन्ने होइन् । हात्तीको शरीर ठूलो हुन्छ तर त्यसलाई एउटा सानो अंकुशले वशमा राख्छ । के त्यो अंकुश हात्तीका जिउको बराबर हुन्छ ? दियो बाल्ने वित्तिकै सारा अँध्यारो आफै नष्ट भएर जान्छ । के दियोको शरीर अन्धाकारको जत्रै हुन्छ त ? यस्तै तर्कहरु गरेर उ समुन्द्रसंग युद्ध गर्ने र आफूले समुन्द्रलाई हराएरै छाड्ने प्रतिज्ञा गर्दछ ।
भालेको दृढ प्रतिज्ञा सुनेर एक्लै युद्ध गर्नु भन्दा आफन्तहरुलाई बोलाएर समूहमा युद्ध गर्न पोथीले सल्लाह दिन्छे । सबै चरा जातिहरु जम्मा भएर यो समस्या आफ्ना राजा गरुड समक्ष राख्ने निश्चय गर्छन र गरुड सामु गएर समस्या बताउँछन् । भगवान विष्णुको बहान गरुड आफ्ना प्रजाको समस्या सुनिसकेपछि अब आफु भगवान विष्णुको सेवामा नजाने भन्दै खवर पठाउँछ । गरुड भए ठाउँ आएर विष्णुले सोधपुछ गर्दा गरुडले हुटिट्याउँको फुल समुन्द्रले फिर्ता नगरेसम्म आफु सेवामा लाग्न नसक्ने बताउँछ ।
आफ्नो बहानको आग्रहलाई स्वीकार्दै विष्णु भगवान समुन्द्र छेउ पुगेर तुरुन्त समुन्द्रले वगाएका हुटिट्याउँका अण्डाहरु फिर्ता गर्न आदेश दिन्छन् । अन्यथा अग्नेयाश्त्रको सहायताले समुन्द्रलाई सुकाईदिने समेत बताउँछन् । विष्णु भगवानको आदेश मान्दै समुन्द्रले हुटिट्याउँका अण्डा फिर्ता गर्छ ।
यतिबेला हामी नेपालीमा पनि कथाको हुटिट्याउँमा जस्तै लघुताभाष छोडेर आत्मविश्वासका साथ हामी भन्दा कयौ गुण ठूलो दक्षिणी छिमेकीसंग बलले होइन बुद्धिले लड्ने शक्ति आवश्यक भएको छ । हो समुन्द्र र हुटिट्याउँको शरीरमा जस्तै भौगोलिक र जनसांख्यिक हिसाबले हामी भारत भन्दा हामी साना छौं । तर संसारमा बीर जाति भनेर कहलिएको नेपाली जाति हामीमा आत्म विश्वासको कमि अवश्य छैन र भारतले हामीबाट हडप्न खोजेका हाम्रो भूमि फिर्ता ल्याउन हामी सक्षम हुनेछौं । हुनु पर्छ ।
यतिबेला कालापानी , लिपुलेक र लिम्पियाधुरा चर्चामा छन्, त्यहाँको सामरिक महत्वको तीनसय सत्तरी वर्ग किमी भूभाग हामीबाट खोसेर आफ्नो बनाउने दाउमा भारत लागेको छ । राम जन्मभूमि भन्ने भारतले आफ्ना छिमेकीको जग्गा हडप्न खोज्नु कति संगत कुरा हो, त्यसको विवेचना हुँदै गर्ला तर अहिले हाम्रो प्राथमिकता त्यो भूमि फिर्ता ल्याउनु हो ।
हामी नेपालको सदा हित चाहन्छौं भन्ने छिमेकीले सिमाका पिल्लरहरु सार्ने वा सीमा मिचेर छिमेकीको मन दुखाउनु पनि हुँदैनथ्यो । तर हाम्रो राजनैतिक नेतृत्व आफ्नो भूमि फिर्ता ल्याउने कुरामा संवेदनशिल देखिएको छैन । ७२ को नाकाबन्दीका बेला भारतको डटेर विरोधमा उत्रँदै राष्ट्रवादी नेताको छवि बनाएका प्रधानमन्त्री केपी ओलीले पनि सार्वजनिक मञ्चमा खपतका लागि भारतलाई तिम्रो सेना फिर्ता लैजाउ भन्ने बाहेक केहि गरेको नेपाली नागरिकले अनुभूत गरेका छैनन् ।
वास्तवमा हाम्रालागि आफ्नो भूमि फिर्ता ल्याउने यो अवसर नै हो किनभने सबै देश यो कुरामा एकताबद्ध भएर लागेको अवस्था छ । जसरी नीतिकथामा सबै चराहरु हुटिट्याउँको फुल फिर्ता ल्याउने कुरामा प्रतिवद्ध र एकतावद्ध थिए , हाम्रो अवस्था पनि त्यही छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भूमि भएको र त्यसलाई फिर्ता ल्याउन सरकारले चालेका हरेक कदममा साथ दिन सबै नेपाली तम्तयार रहेका अवस्था छ । कथाको हुटिट्याउँमा समुन्द्रलाई पराजित गरेरै छाड्ने जुन आत्म विश्वास थियो, त्यो हरेक नेपालीमा देखिएको छ । आवश्यक छ त गरुडको जसले आफ्ना प्रजाको हितका खातिर गास गुमाउन तयार भयो । के हाम्रो नेतृत्व गरुड बनेर हाम्रो भूमि फिर्ता ल्याउने कुरामा अग्रसर होलान ् ?
सर्वसाधारणको त के कुरा सत्ताधारी दलका सभासद र प्रभावशाली नेताहरुलाई पनि सरकार हाम्रो गुम्न लागेको भूमि फिर्ता ल्याउने कुरामा अग्रसर छ भन्ने लागेको छैन । सभासद तथा नेकपा नेतृ रामकुमारी झाँक्रीले ट्वीटरमा व्यक्त गरेको विचार यहाँ मननिय छ । झाँक्रीले भनेकी छन्ः सिमाबारे सरकारका मन्त्रीले भाषण गर्दै हिँड्ने की त्यो देशको राजदूतलाई बोलाएर सोध्ने ? बक्तव्य निकाल्ने की ? मन्त्रिपरिषदले तुरुन्त आफ्नो राजदूत मार्फत ध्यानाकर्षण गराउने ? कुटनीतिक पहल गर्न आफ्नो प्रतिनिधि पठाउने ? वा हामी हाम्रो भूमी एक इन्च पनि मिच्न दिन्नौं भन्ने बेतुकको भाषण दिने ? यसबाट आम मानिसमा यो सरकार खोसिएको भूमी फिर्ता गर्ने कुरामा असंवेदनशिल भएको बुझिन्छ । जनविश्वासलाई कायम राख्न पनि सरकारले अग्रसरता लिनु जरुरी छ । हामीलाई कथाको हुटिट्याउँको जस्तै सफलता मिलोस् ।