नयाँ मुलुक । बाँके, बर्दिया, कैलाली र कन्चनपुर । जंगबहादुर राणाले इष्टइण्डिया कम्पनीलाइ रिजाएर फिर्ता गरेको मुलुक । धन्य श्री ३ महाराज ! गुमेको मुलुकलाई जसरी भएपनि फिर्ता गरेकोमा । तर पुरानै मुलुकलाई नयाँ मुलुक नाम राख्ने पुर्खा कस्ता थिए कुन्नि ? जे होस्, कक्षा नौ मा इतिहास पढाउँदा रामजी सरले नयाँ मुलुकको बारेमा कुरा गर्दा मेरो मष्तिष्कमा नयाँ मुलुकको छुट्टै चित्र कोरिएको थियो । लाग्थ्यो मेरो नयाँ मुलुक मैले भोगको मेरो गाउँ ठाउँ भन्दा नितान्त सफा र फरक छ । ज्यादै नयाँ र सुकिलो पनि छ । म नयाँ मुलुकको दर्शन गर्नमा निक्कै लालायित भएको थिएँ ।
समय वित्न बेरै नलाग्ने रहेछ । स्नातक पुरा गरी म सरकारी विद्यालयमा शिक्षक बनें । अंग्रेजी विषयको माध्यमिक शिक्षक । त्यही माथि युवा जोश । खुब मेहनत गरेर पढाइन्थ्यो । विद्यार्थीहरु बीच लोकप्रिय थिएँ । ट्यूशन खुब चल्थ्यो । तलबको भन्दा ट्यूशनको पैसा ज्यादै मिठो लाग्थ्यो । शिक्षकका साथै मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलमा पनि आबद्ध हुन पुगेछु । यही संस्थाले एक हप्ताका लागि नयाँ मुलुकको अध्ययन भ्रमण सम्बन्धि कार्यक्रममा सहभागि हुनका लागि मलाई पनि निम्तो दियो । आवत जावत खुवाह, सुताहको जिम्मा संस्थाले नै लिने भएपछि ट्यूशन र विद्यालयको पढाईलाई त्यत्तिकै विसाएर म नयाँ मुलुकको सुन्दर यात्रामा सहभागि भएँ । उल्फाको धन फुपुको श्राद्ध भने झै ठाउँ ठाउँमा रमाईलो गर्दै हामी अगाडि बढ्दै थियौं ।
जीवनमा मैले पहिलो चोटो मैले तराई देखें । डाँडाकाडाँ कतै नदेख्दा कतै नयाँ मुलुक यही त होइन भनेर संगै बसेकी उर्मिला घलेलाई सोधें । हामी त नवलपरासीको गैंडाकोटमा पो रहेछौं । उर्मिलाले मलाई निकै जिस्क्याईन । तर म भने सडक किनारका रुख तथा घरहरु बस भन्दा बढी दौडिएको देखेर टोलाई रहेको थिएँ । अचानक उर्मिला मेरो काखमा सुतेर निदाईन । सत्ताईस बर्षे विवाहित ठिटो म घरिघरि निदाए झै उनिसंगै यात्रामा लागि रहें । करिब दुईघण्टाको यात्रापछि मेरो काखमा तातो पानी झरेजस्तै भयो । बसको जोल्टिङ्गसंगै उर्मिला ब्यूँझिन । उनले मेरो काखभरि वान्ता गरिछन् । बस रोकेर धुर्सेलीको पातले पुछपाछ गरी उसरी नै बसमा यात्रा गरियो । गोरुसिंगेमा खाना खाइयो । ठाउँको नाम सुन्दैमा खान मिठो लागेन । भोलिपल्ट विहान टनकपुर बाँधको अवलोकन गर्न पुगियो ।
टनकुपुर बाँधको बास्तविकता बुझेपछि मेरो मनभित्र राष्ट्रवादी भावको सञ्चरण भयो । महाकाली नदीमा पानी थोरै हुँदा प्रायः सबै पानी भारतले आफ्नो मुलुक तर्फ लाने र बर्षाको याममा पानी धेरै हुँदा नेपालतिर पानी बगाएर नेपाली बस्ती डुवानमा पार्ने गरेकोमा भारतप्रति मेरो मानसपटलमा नकारात्मक भाव पैदा भयो । तैपनि म मेरो देशको माटो सुँग्दै, साथीहरुको साथमा महेन्द्रनगर आएँ, केही समयसम्म आडैकी उर्मिलासंग पनि
बोलिन ।
धनगढी, अत्तरीया, नेपालगञ्ज, टिकापुर आदि ठाउँ घुमियो । रातको समयमा यात्रा गरेकाले धेरै ठाउँहरु निदाएको, अन्धकार भएको बेलामा छुटेका थिए । नयाँ मुलुक लगाएत जेजति ठाउँको यात्रा गरियो, रमाइलो भयो । बसभित्रको रमाइलो र बस बाहिरको रमाइलोसंगै सूदूरपश्चिम अर्थात नयाँ मुलुकको यात्रा सकेर कार्यक्षेत्र आएका थियौं ।
नयाँ मुलुकको प्रथम रसपान गरेको ठीक पच्चिस बर्षपछि अर्को साईत जु¥यो । घाँसीकुवा सामुदायिक अध्ययन केन्द्र तनहूँको आयोजनामा आतेजाते खुवाह सुताह सबैको व्यवस्थापन संस्थाले नै गर्ने गरी चारदिने यात्रा तय भयो । प्रधानाध्यापक भएका कारण विद्यालयप्रतिको जिम्मेवारी बढी भएपनि नयाँ मुलुक अहिले कस्तो भयो होला भनेर म निकै उत्सुक भए, विद्यालयमा चाँजोपाँजो, मिलाएर समितिका ११ जनामध्ये दशजना र गाडी स्टाफ दुई जना गरी बाह्र जनाको टोली सुदुर पश्चिम तर्फ लाग्यौं । अतितमा झै समय माघ नै परेछ । तर उर्मिला र उनको प्रतिनिधित्व गर्ने कोही भएनन् । हाईसको एक्लो सिटमा बसेर म भ्रमणमा सहभागि भएँ ।
तनहुँको दमौलीबाट पश्चिम पोखरा, स्याङ्जा हुँदै पाल्पा तर्फ लागियो । दमौलीबाट बुटबल जानेक्रममा हाईसको झ्यालबाट विभिन्न ठाउँहरु रमाईलो पारामा अवलोकन गर्दै हामी अगाडि बढेका थियौं । स्याङ्जाको भालु पहाड कटेपछि श्रवण कुमार र तिनका अन्धा बाआमाको शालिक देख्दा बाल्यकालमा किताब पढेको र बुबाले कथा सुनाउनु भएको याद आयो । गल्याङ्ग बजारबाट ओरालो लाग्ने क्रममा देखिने काली नदी निलो पटुका, हरियो चौरमा सुकाए जस्तै लाग्यो, काली नदीको पानी कालो नभई निलो भएकोमा यो नदीको नाम कालीनिली राखौं भन्ने प्रस्ताव पनि आए । कालीगण्डकी पारी तर्फ निर्माणधीन कालीगण्डकी करिडोर देखियो । तनहुँको देवघाट धामबाट मुस्ताङ्को मुक्तिनाथसम्म पुग्ने यो करिडोरको कल्पना गरेर म मुग्ध भएँ । यो करीडोर नेपालको समग्र विकासका लागि कोषे ढुंङ्गा सावित हुनेमा म ढुक्क भएँ ।
अनबरत यात्राको क्रममा हामी सबै निदाएका हुन्थ्यौं । म भने गाडीको झ्यालबाट देखिने, प्रकृतिक सौन्दर्य पान गर्न छिटोछिटो व्यूँझिन्थें । कर्त चालक निदाइ हालेभने बरवाद हुन्छ भन्ठानेर जोकहरु सुनाउँथे । उनि खुब रमाउथे । कतै सबै निदाई हालियो भने भ्रमण दलकी सदस्य लक्ष्मीकी सानी छोरी कहिले एम्बुलेन्स झैं कराउँथिन भने कहिले कसैले नबुझ्ने बालभाषामा गीत गाउँथिन । उनका यस्ता क्रियाकलापले प्रायः सबैको निंद्रा खुल्थ्यो । कतै वाक्लो हुस्सु, कतै उज्यालो घाँम अनि कतै वादलको छायाँ देख्दा लक्ष्मीप्रसाद देवकोटाको के नेपाल सानो छ भन्ने निवन्धको याद आयो । एकै हेराईमा फरक फरक दृष्य देखिने, हाम्रो नेपाल यानेकि मेरो नेपाल, पक्कै पनि ठूलो छ, सानो छैन । मलाई विश्वास भयो । आरेभञ्ज्याङ कट्नासाथ सल्लाका बोटहरु स्वागत गर्न ठडिएका रहेछन् । धन्यवाद दिएँ सल्लाका बोटहरुलाई । जति जति दिनहरु छिप्पिदै गयो, उतिउति विहानीको आगमन भए जस्तो लाग्यो । पर क्षितिजमा धुमिल आकाश देखेर मन फुरुङ्ग भयो ।
भिरालो पहाडमा लमतन्न भएर सुतेको, पाल्पाको तानसेन बजार निकै रमाईलो देखियो । गोर्खा बजारसंग मितेरी लगाउन मिल्ने, तानसेन बजार, श्रीनगरका सल्लाका रुखहरुको लोभलाग्दो बैंश कस्लाई मन नपर्ला र । साँझपख पाल्पाबाट देखिने सूर्यास्तको दृष्य मनै लोभ्याउने खालको थियो । मुहार पुस्तिकामा प्रदर्शन गर्नका लागि फोटो भिडियो र सेल्फि खुब खिचियो । पहिलो रात बुटबलमा वित्यो, होटल मालिक ज्यादै मिलनसार र रमाईला रहेछन् । खाना र बसाई राम्रो थियो । भोलिपल्ट विहानै टनकपुर बाँधको अबलोकन तर्फ लागियो । बाटोमा बाक्लो हुस्सु देख्दा दमौली बजार र पराशर ऋषिको कुहिरो उत्पन्न सम्बन्धी पौराणीक कथाको याद आयो । हुस्सु यति बाक्लो थियो कि कतै पराशर ऋषि नै यतै लुकेर रासलिला गर्दै होलान् भन्ने लाग्यो ।
चन्द्रौटा बजार कटेपछि सडक छेउमा देखिएका घना जंगल र जंगल बीचको सिधा फराकिलो बाटो देख्दा मन हर्षविभोर भएर आयो । बनकवास पहाड उक्लेर ओराले झर्दा देखिनै नागबेली घुम्तिहरु उत्तिकै मनमोहक थिए । तराई सकिएको अनुभूति भएपनि केही समयका गुडाई पछि पुनः तराईको अवलोकन गर्न पाइयो । राप्ती नदी पारीको भालुवाङ बजारमा पर्ने इच्छुक चोकबाट उत्तरतर्फ प्यूठानको स्वर्गद्वारी जानेबाटो रहेछ । केही समय स्वर्गद्वारीको कल्पनामा वित्यो । दाङको लमही बजार आयो, लमहीबाट दक्षिणतर्फ कृष्णपुर पर्दो रहेछ । अर्जुन खोला तरेपछि घोराही जानेबाटो देखियो, हल्का उकालो संगै बनजंगल पार गरेपछि पुनः ओरालो हुँदै अमिलिया पुग्यौं । अमिलियाबाट उत्तरतर्फ दाङको तुल्सीपुर जाने मोटरबाटो पर्दो रहेछ । बाँके जिल्लाको आगमनसंगै हाम्रो नयाँ मुलुकको यात्रा शुरु भयो । बाँकेको कोहोलपुरबाट दक्षिणतर्फ नेपालगञ्ज, उत्तरतर्फ सुर्खेत पश्चिम तर्फ महेन्द्रनगर जाने बाटाहरु लमतन्न परेर सुतेका रहेछन् । नेपालगञ्जको खाजा खाएर हामी टनकपुर तर्फ
लाग्यौं ।
सडकमा पर्ने मानखोला तरेपछि हाम्रो गाडी बर्दिया जिल्ला प्रवेश ग¥यो । नौ सय अठसठ्ठी बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको, बर्दिया राष्ट्रिय निकुञ्जलाई गाडि भित्रैबाट नियालेर हामी अगाडि बढी रह्यौं । जाँदै गर्दा सानोमा १४ अञ्चलको नाम सम्झने सुत्र– ‘मेकोसजना बागलुधरा भेसेकम’ को बारेमा मैले चर्चा गरें । साथिहरुले अर्कै तरिकाले सिक्नु भएको रहेछ । बाटोमा बबई सिंचाइ आयोजनाको काम पनि हेरियो । भुरी गाउँबाट दक्षिणतर्फ गुलरिया जाने बाटो पर्दो रहेछ । केही लंगुरे बाँदरहरु र राता बाँदरहरु बाहेक राष्ट्रिय निकुञ्जमा कुनै पनि जनावरहरु देखिएनन् । ठाउँ ठाउँमा राखिएका जंगली जनावरका तस्विरहरु हेरेर चित्त बुझाउँदै हामी अगाडि बढ्यौं ।
नेपालको सबैभन्दा लामो नदी कर्णाली नदी । कति स्वच्छ ! कति सुन्दर ! काखमा रहेको चिसापानी बजार, कर्णाली नदीको अनुपम पुल, चिसापानीको स्वादिष्ट माछा कहिल्यै भुल्न सक्दिन । कर्णाली नदी दुईभागमा विभाजित भएको । टापु बनेको । राजापुर टापु निकै रमाईलो
भयो । बीच बीचमा मधुमायाँ दिदीले पाचक र मिनराज दाइले मिठाई ख्वाउनु हुन्थ्यो । चालकले चुईगम । खुब खाइयो ।
हसाईयो । हाँसियो । यस्तो पो यात्रा । निर्माणाधिन कर्णाली नहर सडकको समानान्तर हुँदै बनिरहेको देख्दा, मैले सुन्दर भविश्यको कल्पना गरें । लम्की बजारबाट दाक्षिण तर्फ टीकापुर जानेबाटो पर्दो रहेछ । हामी पश्चिम तर्फ लाग्यौं ।
बौनिया बजार कटेपछि सिसार क्षेत्रको विहङ्गम अवलोकन गर्दै हामी कैलालीको घोडाघोडी ताल हेर्न पुग्यौं । तालका बारेमा रमाईला गफ भए । भ्यालेन्टाईन दिवसका सट्टा नेपाली युवायुवतीहरुले घोडाघोडी दिवस मनाउनु । राम्रो हुन्छ भन्ने तर्क निस्कियो । घोडा र घोडीको अवस्थितिबाट प्रेमी र प्रेमीकाले बुझ्नु पर्ने कुराप्रति छोटो बहस पनि भयो । त्यसपछिको सफा र सिघा सडक र छेउछाउका दृष्य देख्दा निवन्धकार तारानाथ शर्माको आयरल्याण्ड र ओ कोनेल शहरको याद आयो । बाटो लामा टेलर भएका ट्याक्टर, बयलगाडा, भैसी गाडा र घोडाले तान्ने एक्का पनि देखिए । सडक दायाँबायाँ देखिने पहेंलपुर तोरीवारी र गहूँवारीको हरियालीले मन लोभ्यायो ।
अत्तरिया चोकबाट उत्तरतर्फ अछाम बाजुरा, डोटी वैतडी, दार्चुला जस्ता दुर्गम क्षेत्रतर्फ जाने मोटरबाटो पर्दो रहेछ । पश्चिम तर्फ महेन्द्र नगर र दक्षिण तर्फ धनगढी । हामी महेन्द्रनगर तर्फ लाग्यौं । ठूलो फाँट ! नजरले नभ्याउने सीधा सडक ! म त तीन छक परें । मोहोना नदी पार गरेपछि कञ्चनपुर प्रवेश ग¥यौं । झुलारी फाँटको तोरी र गहूँ । कति उर्वर क्षेत्र । अन्नको भण्डार । सूर्यको गतिसंगै पश्चिमको अनवरत यात्रा । शुक्लाफाँट राष्ट्रिय निकुञ्जबाट देखिने साँझ पाखको ारतो सूर्य । नाँङलो जत्रो । हेर्दा हेर्दा जमिन भित्रै छि¥यो । साँझको समय भएकोले टनकपुर जान पाइएन । प्रशासनले रोक्यो । महेन्द्रनगरको स्वस्तिक होटलमा बास बसियो । खान विस्तरा व्यवहार सबै राम्रो, सस्तो पनि ।भोलिपल्ट बिहान टनकपुर बौद्ध अवलोकन गर्न प्र्रस्थान गरियो । अघिल्लो दिन पश्चिम तर्फ जमिनभित्र छिरेको नाङ्लोजस्तो रातो सूर्य त्यस दिन त्यसरी नै पूर्वतर्फको जमिनबाट फुत्त बाहिर निस्कियो । दङ्दास
परियो । हेर्दाहेदै सूर्यमाथि आए । अचम्म लाग्यो । जीवनमा पहिलो अनुभव । डडेलधुरा जाने मोटर मार्ग हुँदै टनकपुरतर्फ जाँदा बाटामा झिल्मिला ताल पनि हेरियो । बाटामा देखिने हरियाली गहुँबारी र पहेलपुर तोरीफाँटले मन प्रफुल्लित भएर आयो ।
टनकपुर बाँध अवलोकन पछि मन फुलेर आयो । भारतीय दादागिरीको अनुभव भयो । बाँधको पूलमा जान पनि दिइएन । फोटो खिचौँला भन्ने इच्छा थियो तुषारापात भयो । बसेर गफ गर्न पनि दिएनन् भारतीय सुरक्षाकर्मी भनाउदाहरुले । अमिलो मुख बनाएर स्वेदशतर्फ फर्कियो । ब्रहमपुर गाउँपालिकाका एक जना दाजुसँग सुरक्षा अवस्थाको बारेमा सोधियो खुव दुःख दिँदा रहेछन् भारतीयहरुले । तापनि गोर्खालीको विंडो थामेर बासेका छौँ बाबु भन्नुभयो । धन्यवाद दियौँ र मलिन अनुहार लिएर महेन्द्र नगरतर्फ लाग्यौँ । दोधा चाँदनी नगरपालिका महाकाली पारी पर्दोरहेछ भ्रमण गरियो । साढे एक किलोमिटर लामो झलुङ्गे पुल आडैमा जाँदा एक घण्टा लाग्यो । दोहोरो बाइक चलाएर झण्डै नमारेका १ डर लाग्यो, वाइकमा आउने जाने भए एक जनाको नेपाली रु २०० भाडा लाग्ने रहेछ । रमाइलोको लागि हिँडेर गइयो । नेपालको सिमाना मेची महाकाली नभइ महाकाली पारी दोधा चाँदनी नगर पालिकासम्म भन्ने किन सिकाइदैन ? सम्बन्धित सबैले सोच्नुपर्ने महसुस भएको छ ।
दोघा चाँदनीको अवलोकन पछि पुनः महेन्द्र नगरको स्वस्तिक होटलमा मिठो खाना खाइयो । होटल मालिकका अनुसार त्यहाँबाट बिहानै भारतको नैना ताल गएर बेलुका फर्कने गरी गाडीको पनि व्यवस्था रहेछ पछि मात्र थाहा भयो । नैना तालभन्दा फेवाताल राम्रो भनेर हामी टीकापुरतर्फ लाग्याँै ।
टीकापुर जाँदै गर्दा बाटोमा थारु जातिको विवाह हेर्ने अवसर जु¥यो । दुईवटा ट्याक्टरमा युवा युवतीहरु रमाइलो गर्दै गरेको देखियो । दुलाही भित्र्याउन भन्दा पहिले दुलाहाको घरमा दाइजो पु¥याउन पर्ने चलन रहेछ । कति राम्रा थरुनीहरु १ बसन्तमा फुलेका फूलहरु जस्तै । लम्की बजारबाट दक्षिणतर्फ टीकापुर पर्दो रहेछ । बाटो पुननिर्माण भइरहेकाले धुलाम्मै थियो । थारु बस्तीमा देखिने झिँगटीका छानायुक्त घरहरु देख्दा फरक महसुस भयो । गडौली बजार, भगतपुर हुँदै टीकापुर पुगियो । यात्रा गर्दा रातो प्लेटवाला गाडी सहज हुँदो रहेछ । हाम्रो गाडी कालो प्लेटवाला भएकाले ठाउँठाउँमा पटके कागज बनाउने क्रममा रोकिनु प¥यो । टीकापुर जाने सन्दर्भमा पनि यस्तै भयो ।
टीकापुरको पार्क ज्यादै सुन्दर र अनुपम रहेछ । कोरोना अर्थात कोभिट उन्नाइसका कारण राम्रो स्याहार सम्भार हुन नसकेपनि पार्क ज्यादै उत्कृष्ठ लाग्यो । दिनभर अवलोकन भएपनि नसकिने पार्क सरसरती रहेर सेल्फी खिच्दै हामी केराको परिकार खान गयौँ । टीकापुरमा केराको सर्वत, चिप्स, मम नखाने मान्छेको यात्रा अपुरो नै हुँदो रहेछ । बाकेको चम्चागौरी बजार हुँदै धानखोलामा विहानको मिठो खाना खाइयो । गोरुसिङ्गे बजारबाट उत्तरतर्फ अर्धाखाची र दक्षिणतर्फ भैरहवा जाने बाटाहरु पर्दारहेछन् । हामी भैरहवातर्फ लाग्यौँ । ठाउँठाउँमा हामी पिसाव गर्न आर्लिदा सुन्तला, स्याउ जे भेटाए पनि खान्थ्यौँ, पानी पनि पिउथ्यौँ तर हाम्रा भ्रमण दलका दुईजना महिला सदस्यहरु केही पनि खानुहुन्थेन । सोधपुछ र अनुसन्धान गर्दा पिसाव फेर्नका कठिनाइले पो रहेछ । महिलाका समस्याबारे छलफल गरियो । भगवान अर्थात प्रकृतिले पनि महिलालाई त्यति वास्ता नगरेको निश्कर्षमा पुगियो । लामो यात्रा महिलाका लागि कठिन हुने रहेछ ।
गोरुसिङ्गेबाट भैरहवातर्फ जाने सडक दायाँ बायाँ जंगल सिधा, सफा र चौडा सडक देख्दा सपना देखेको जस्तै भान भयो । बाटोमा मुस्लिम केटी देखा परी । पाकिस्तानको याद आयो । गौतम बुद्धको मावली तौलिहवा तिलौराकोटलाई गाडीबाट अवलोकन गरियो । नेपाल र भारतको सिमा बाजार सुनौलीमा सामानहरु किनेर हामी नेपालको सुनवल बजार, बर्दघाट हँुदै नारायणगढतर्फ लाग्यौँ । बर्दघाटबाट दक्षिणतर्फ त्रिवेणीधाम जाने बाटो पर्दो रहेछ । रातको खाना मुग्लिनवारीको तनहुँमा खाएर हामी आ(आफ्नो घरतर्फ लाग्यौँ ।
पच्चिस वर्ष पहिले र अहिले मैले गरेको नयाँ मुलुकको यात्रामा धेरै परिवर्तन आएको महसुस भयो । सडक, पुल र बजारको व्यवस्थापन पहिलेभन्दा व्यवस्थित बनाइएको पाइयो । नयाँ मुलुक लगायत सुदुरपच्चिममा पर्यटकीय सम्भावनालाई सरोकारवालाले समयमा नै प्रचार प्रसार गर्नुपर्ने देखिन्छ । यात्रा त्यसमाथि पनि आफ्नो देशको यात्रामा सबै नेपाली जुट्नु पर्छ । यात्राले ज्ञानको भण्डार बढाउछ । नयाँ मुलुकको यात्रापछि मलाई जङ्ग बहादुर राणा प्रति सम्मान गर्न मन लाग्यो । अहिले नेताहरु भए नयाँ मुलुकका सबै जमिन आफ्नै नाममा वा नातेदारका नाममा दर्ता गर्थे । तर जङ्गबहादुरले त्यसो गरेनन् । त्यसैले उनको फोटो किनेर मैले मेरो सुत्ने कोठामा झुण्ड्याएको छु । मलाई सुदुर पश्चिमको यात्रामा निस्कनासाथ नयाँ मुलुकको याद आउँछ र जङ्गबहादुर राणाको । यति सुन्दर नयाँ मुलुक १ जङ्गबहादुर राणाले जोगाएको मुलुक १ म त्यहाँको हावा, पानी, माटो र प्राकृतिक सौन्दर्यताबाट प्रफुल्लित भएको छु । मेरो नयाँ मुलक र जङ्गबहादुर राणा ।
नयाँ मुलुक र जंगबहादुर
previous post