२०५२ साल भदौ २६ मा प्रधानमन्त्रीको कुर्सीमा पहिलो पटक बसेका कांग्रेस सभापति शेरबहादुर देउवा चार पटक प्रधानमन्त्री बनिसकेका छन् । गत संसदिय निर्वाचनका बेला गोरखा पुुगेर देउवा नै नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री भएको र अबको दिनमा नेपाली कांग्रेस कहिल्यै सत्तामा जान नसक्ने भाषण नेकपा अध्यक्ष केपी शर्माले गरेपछि ज्योतिषले आफुलाई सात पटक प्रधानमन्त्री बन्ने भनेको जवाफ शेरबहादुर देउवाले फर्काएका थिए । देउवाको उक्त भाषणलाई लिएर समाजिक सञ्जाल, राजनैतिक दलका कार्यक्रमहरुमा निकै खिसिट्युरी पनि भयो ।
तर पछिल्लो राजनैतिक घटनाक्रमहरुलाई नियाल्ने हो भने देउवा पाँचौ पटक प्रधानमन्त्री बन्ने अवस्था सृजना हुँदै गएको देखिन्छ । उनको दल नेपाली कांग्रेसले त उनलाई सर्वसम्मत रुपमा प्रधानमन्त्रीको उम्मेदबार बनाएको छ । अन्य विपक्षी दलहरु पनि देउवालाई प्रधानमन्त्री बनाउन लागि परेका जस्ता देखिएका छन् ।
पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्रीहुँदा सरकार टिकाउन सांसद खरिद विक्री गरेको, सांसदहरुलाई भन्सार छुट्मा गाडी खरिद सुविधा प्रदान गरेको तथा विरामी नै नभएका सांसदलाई विरामी भएको बहानामा बंैकक पठाएको भनेर देउवा निकै आलोचित भएका थिए । सरकार टिकाउन संसदमा हुने विकृत व्यवहारको सुरुवातकर्ताको रुपमा देउवाको निधारमा कलंकको टीका छ । यसका साथै २०५८ साउन ११ मा दास्रो पटक प्रधानमन्त्री बनेका देउवाले प्रजातन्त्र दरवारमा लगेर बुझाएको आरोप लोकतन्त्र बादीहरुबाट खेप्नु परिरहेको छ भने तत्कालिन राजा ज्ञानेन्द्रले उनलाई असक्षमका ट्याग भिराउँदै केही समयपछि प्रधानमन्त्रीबाट वर्खास्त गरिदिए । २०६१ जेठ १० मा उनै राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीमा पुनः नियुक्त गर्दा गोर्खाली राजाबाट न्याय पाएको भन्दै दिएको अभिव्यक्तिको पनि निकै आलोचना भएको थियो । तर देउवाले स्थानीय निकायको निर्वाचनको बीचमा २०७४ जेठ २४ मा चौथो पटक प्रधानमन्त्री नियुक्त भएर निर्वाचनका लागि रहेका थुप्रै चुनौतिहरुलाई चिर्दै स्थानीय निकायको बाँकी निर्वाचन तथा संघ र प्रदेशको निर्वाचन शान्तिपूर्ण तवरले गरेर ति कमजोरी सुधार गरेका र निधारमा लागेको कलंकलाई केही हदसम्म भएपनि मेटाएका
थिए ।
अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दलका रुपमा रहेको आफ्नो दलको साखलाई उनले २०७४ को निर्वाचनमा बचाउन सकेनन् । संसदमा सबैभन्दा धेरै सिट जितेको नेकपा एमालेलेभन्दा लोकप्रिय मत करिब तीन लाखले धेरै पाएको भएपनि सिट संख्या हिसाब गर्दा एमालेको तुलनामा झण्डै एक चौथाई मात्र सिटमा नेपाली कांग्रेसले जित हासिल गर्न सफल भयो । समानुपातिक मत पनि एमाले भन्दा झण्डै ५० हजारले कम पायो । निर्वाचनको त्यो अप्रत्यासित परिणामले मुर्छाएका कांग्रेस नेता, कार्यकर्ता अझै समान्य हुन सकेका छैनन् । सिङ्गो दलको अवस्था त्यस्तै छ । तर सभापति रहेका देउवाले त्यसको जिम्मा लिन र लज्जाजनक पराजयको समिक्षा समेत गर्न चाहेनन् ।
यतिमात्र होइन ओली सरकारले गठन भए यता गरेका जनविरोधी क्रियाकलापका विरुद्ध खरो रुपमा उत्रन देउवा कहिल्यै तयार भएनन् । सरकार विरुद्ध कांग्रेसले गर्ने कार्यक्रम कर्मकाण्डीमात्र भए । सरकारले गलत गर्दा वा आफ्नो हित प्रतिकूल काम गर्दा आवाज उठाइदिने प्रतिपक्ष छ भन्ने अनुभूति नेपाली नागरिकले गर्न पाएनन् । बरु गोविन्द केसी वा इनफ इज इनफका अभियन्ताको पछि लाग्ने अवस्थामा कांग्रेस पुग्यो । पुष ५ को ओलीको संसद विघटन विरुद्धको आन्दोलनमा पनि देउवाको रुचि देखिएनन् । अन्य अधिकांश कांग्रेस नेता, कार्यकर्ताले ओली कदम असंवैधानिक भएको र संसद पुनः स्थापना हुनु पर्ने विचार राखिरहँदा उनले भने आदर्शवादी बनेर सर्वोच्चको आदेश पर्खनु पर्ने विचार राखे र प्रतिगमनकारी ओली कदम विरुद्ध आन्दोलनलाई शसक्त तुत्याउन चाहेनन् । कार्यकर्ताको दवाव थेग्न नसकेर औपचारिकताका लागि मात्र देउवा आन्दोलनका कार्यक्रमहरुमा सहाभागी भएका जस्ता देखिन्थे । अहिले विपक्षी दलहरु नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीे अनि पार्टीका संस्थापन इतर नेताहरु रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाले समेत संयुक्त सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्न गरेको आग्रहको देउवाले वेवास्ता गरिरहेका छन् । सरकार निर्माणका बेला संसदहरुको खरिद विक्रि हुने र दलबदल हुने कुरालाई अंग्रेजीमा नाम दिइएको छ, ‘हर्ष ट्रडिङ’ । देउवा हर्ष टे«डिङ अर्थात सत्ता समिकरणका लागि सांसदलाई आफ्नो पक्षमा पार्न माहिर खेलाडी मानिन्छन् भने सत्ताकालागि जे पनि गर्न तयार हुने राजनीतिकर्मीको रुपमा पनि परिचित छन् । तर आश्चर्य यस पटक सोही कुर्सीमा बस्न विपक्षी तथा आफ्नै दलभित्रका विपक्षीले गरको आग्रहको देउवाले वेवास्ता गरिरहेका छन् । उनको कथन छ, सरकारमा जान हतारिने काम छैन तर आवश्यकता परेका बेला सरकारको नेतृत्व गर्नबाट पछि हट्ने पनि काम छैन । सत्ता र शक्तिका लागि देउवा मात्र होइन सबै जसो नेपाली नेताहरु मरिहत्ते गर्छन् । त्यसको प्राप्तीका लागि जेपनि गर्न तयार हुने दर्जनौ नेताहरु नेपाली राजनीतिमा सक्रिय छन् । तर सुखद आश्चर्य देउवाले यसपटक प्रधानमन्त्री हुनका लागि दौरा सिउन पटक्कै हतार गरेको देखिएको छैन । बरु अरुचि प्रकट गरिरहेका छन् ।
प्रधानमन्त्री बन्ने अवसर आउँदा आखिर किन देउवाले वेवास्ता गरिरहेका छन् ? यसका विभिन्न कारणहरु हुन सक्छन् । पहिलो त आफुले नेतृत्व गर्ने सरकार संयुक्त सरकार हुने र त्यसलाई टिकाउन गर्नुपर्ने अनेक अनैतिक काम गर्न फेरी आफु तयार नभएको जनाउ देउवाले दिएका हुन् कि ? संविधानले नै मन्त्रीपरिषद्का सदस्य संख्या तोकिदिएको बेला मन्त्री पद बाँडेर सरकार टिकाउने अवसर नरहेको बुझेर देउवाले यस्तो गरिरहेका पनि हुन सक्छन् । अर्काे तर्फ समय वित्दै जाँदा कम्युनिष्टहरु फेरी मिल्न सक्ने र आफ्नो पार्टीले निर्वाचनमा राम्रो स्थान ल्याउन नसक्ने बुझेर अग्रिम निर्वाचनमा जान चाहेको तर आफुले सरकारको नेतृत्व गर्दा तत्काल निर्वाचनको सम्भावना नरहेकाले देउवा यसो गरिरहेका छन् कि ? यी यस्ता थुप्रै देउवाका अरुचिका प्रश्नहरुको उत्तर समयले दिँदै जाला तर देउवाको दौरा सिउने यो अरुचिले सत्ताका लागि जे पनि गर्ने व्यक्तिका रुपमा बनेको उनको छवि भने बदलिने देखिएको छ ।