
नेपाली काँग्रेसका नेता रामचन्द्र पोख्रेलले पठाइ दिएको पुस्तक रामनाथ भट्टराई मार्फत मेरो अफिसमा आई पुगेको रहेछ । पाउनासाथ पाना पल्टाएँ । पहिलो पृष्ठमा नै ‘श्री ऋषिराम पोख्रेल ज्यूलाई उपहार’ लेखेर २०७६ पुस महिनाको २३ गतेको गरेको हस्ताक्षर देख्दा म उहाँप्रति धेरै धेरै धेरै आभारी भएँ । पहिलो त क्रान्ति पुरुषको आत्मबृत्तान्त निःशुल्क पढ्ने अवसर दिलाई दिनु भएकोमा । दोस्रो सुनेर जानेको, नदेखेको व्यक्तिको देश र जनताप्रति समर्पित जीवनशैली बुझ्ने मौका मिलेको थियो । तेस्रो म पनि तनहुँको भिरपाखामा जन्मेर हुर्केको मैले आफ्नो पुस्तकालयमा छुटाउनै नहुने पुस्तक उपलब्ध गराई दिनु भएकोमा ।
विश्वव्यापी महामारीले नेपाल र त्यस भित्रको मलाई पनि प्रभावित पारेको हुनाले मेरो आकर्षणको त्यो पुस्तकभित्र खेल्न, भुल्न, डुल्न अबसर
मिल्यो । पुस्तकभित्र प्रवेश मात्रै गरेको थिए निस्कनै मन लागेन । पुरुषोत्तम बस्नेतको टिप्पणी, गोवद्र्धन शर्मा स्मृति कोषको प्रकाशकीय, बीच बीचमा इतिहास झल्काउने फोटाहरु, १ देखि ७ सम्मका परिशिष्ट र गोवद्र्धनप्रति अभिव्यक्त उद्गार भित्र पनि मेरा नजर, चित्त, ध्यानहरु खेले, डुले र भुले । अनि मलाई लोभ लाग्यो– ‘आफ्नो जीवन संगिनी, सन्तान, घरगृहस्थी भित्रको आनन्द सुख भन्दा सामाजिक संस्कार बनेको भ्रम र राजनीतिक दमन, अन्यायका विरुद्धमा अविश्राम संघर्ष गर्ने क्रान्ति पुरुषको बारेमा सबैलाई संक्षिप्तमा बुझ्ने अवसर दिलाउँ । त्यसैले त पंक्तिकारले आफ्नो कलम अगाडि बढायो ।
मेरो जीवन यात्रा पढिसकेपछि यो पुस्तककार दिने गोवद्र्धन शर्मालाई मैले निम्न दृष्टिबाट बुझें ।
क) मृत्यूका विजेता
ख) परिवर्तनका संवाहक
ग) राजनीतिक क्रान्तिका नायक
घ) साहसका खानी
ङ) कुसल मेलमिलापकर्ता
च) देश र जनताका सेवक
छ) न्यायका पहेरदार
ज) काँग्रेसका अविश्राम सिपाही
झ) वीरांगनाका पति
पण्डित गोवर्धन शर्माको आत्मबृत्तान्तबाट पाएको ज्ञानलाइ मैले नौ विशेषणमा संक्षेपिकरण गर्ने प्रयास गरें । यो नै पूर्ण हो भन्ने मेरो भनाई रहको छैन । यो मेरो पं. गोवघद्र्धन शर्माप्रतिको फगत श्रद्धा मात्र हो । ‘मेरो जीवन यात्रा’ नपढ्दै सुनेको भरमा गोवद्र्धनप्रति जागेको श्रद्धामा पुस्तक अध्ययनले अमिलोले तामा उज्याल्याए झै उज्याल्याउने काम गरेको छ ।
क) मृत्यूका विजेताः
गोर्वधन शर्मालाई लिन धेरै पटक कालहरु आए । एक बर्ष पुरा गर्नासाथ अग्नीदेवताले अगेनामा घेल्दा देब्रे खुट्टाको औंलाहरु खुम्च्याउन सके पनि लैजान भने सकेन । गोवद्र्धन शर्माको बाल्यकालमा आएको आँठेको संक्रमणले ठूलो दाजू ज्ञानीसंकरलाई लग्यो । भोलिपल्ट विहान आमा बदनालाई लग्यो । सोही दिन पिता इन्द्रविलासलाई लाग्यो । भोलिपल्ट अर्का दाजू शुकदेवलाई कालले लग्यो । एक दिन छोडेर बहिनी महाकालीलाई लग्यो । तर गोवद्र्धनलाई लान सकेन । गोवद्र्धनका अगाडि फेरी अर्को काल बनेर आयो महालय श्राद्ध । गाउँका सबै महालय श्राद्ध गर्न मादी दोभानमा जाँदा बालक गोवद्र्धन पनि साथीहरु संगै गए । कलेस्ती दोभानको पानीमा खेल्दा खेल्दै उनलाई मादीको भेलले तानेर बीस हात तल पु¥याउँदा पनि नदीले लतारेको धगेरोको बुटो समाउन भ्याएर मृत्यूलाई जिते । मामा घरमा गएको बेला मामा घरको अदाउ घोडा चढ्दा मादीवेशीको जोर्तेठाँटीको चौतारोमा पुग्दा डोकोमा मासु बोकेको मान्छे देख्दा झस्केको घोडा भाग्दा फुत्केर पनि रिकावीमा उही पोलिएको देब्रेगोडा अड्केर बाँच्न सफल भए । २००५ सालमा पाँच महिना विरामी पर्दा दुम्सीकोटका सिंदाली बैद्यको औषधीले बचायो । २००७ सालको राणा विरोधी क्रान्तिमा धर्मध्वज गुरुङ, खड्गबहादुर गोदार, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ सन्तकुमार राना, चन्द्रबहादुर सार्कीसंगै बन्दिपुर विद्रोहको अग्रमोर्चामा रहेर अगाडि बढ्दा क्रान्ति रोक्न राणाका सेनाले चलाएको गोलीले ति सबै साथीहरुको जीवनलिला समाप्त पारिदियो । तर गोवद्र्धनलाई छलिदियो । २०१७ सालमा राजा महेन्द्रले सैनिक कू गरेर प्रजातन्त्र खोसेपछि भएको विद्रोहमा जेल जान भन्दा संगठनमा सक्रिय भै कलकत्ता पुगेर सुर्वण सम्सेरसंगबाट प्रचार सामाग्री साथै ती सामाग्री पुनः छाप्न सक्ने लिथो मेसिन ल्याएर कास्की, लम्जुङ स्याङ्जा गोरखाका गाउँवस्तीमा पुगेर प्रचार गर्दा, शाही सरकारले गोवद्र्धनलाई पक्राउ गर्न सहयोग गर्नेलाई सुब्वा दर्जाको जागिर दिने, सेना प्रहरीलाई एक तह प्रमोशन दिने, नगद १८ हजार रुपयाँ पुरस्कार दिने घोषणा गर्दा पनि उच्च मनोबलका साथ स्याले जंगल, राम्चेको जंगल, साउनेपानी डडेसापारको ओडार, फौसिङ्गको जंगल, रानीचौर माथिको जंगलमा लुगेर सेना, प्रहरी र गुप्तचरहरुलाई जिल्याएर संगठन गर्दा पनि शाही निशानाबाट बाँच्न सफल गोर्वद्र्धन मृत्यूका विजेता हुन् ।
ख) परिवर्तनका संवाहक
आत्मबृतान्त पढ्दा थाहा लाग्दछ कि गोवद्र्धन शर्मा आफ्नी बुढीआमा हरिमायाँको अभिभावकीय संरक्षकत्वमा हुर्केर शिक्षा आर्जन गरेका हुन् । १९८५ सालमा सप्ताह भन्ने काका नाता पर्ने नारायाणदत्त पोखरेलको हेपाईबाट इखालु भएका गोवर्धनले चुँदी पलयाङ्ग खोलकी कालिका देवीलाई परेवा चढाएर पण्डित हुने बर मागेका थिए । काठमाण्डौ पुगेर पढेर पण्डित पनि भए । नारायणदत्त पोखरेलले जस्तै सप्ताह भन्न सक्ने पनि भए । तर उनलाई त्यतिले आनन्द दिएन । २००५ सालमा काइली माईजुको श्रीसप्ताह यज्ञको उपवाचक भएर बस्दा मण्डप भित्रका भक्तहरु समेतका मान्छेहरुले धर्मको नामा देखाएको सामन्ती सानसौकतबाट उनि दुखित भए । मण्डप बाहिर निःस्वार्थभावले सप्ताहमा काम गर्ने गरीबहरुले देखाएको भगवानको कथा श्रवणप्रतिको भक्तिभाव, आस्था विश्वासबाट प्रभावित भएका उपवाचकी पण्डित गोवद्र्धनले मण्डपबाटै भनेका थिए–
‘बाहुनले हालो जोत्न हुन्न भन्नु,
मानिसलाई छुन हुँदैन भन्नु
शास्त्र विपरितका कुरा हुन्’
पढेको पण्डितले मण्डपको उपवाचकी स्थानबाटै २००५ सालमा त्यति भन्न सक्नुलाई ठूलो क्रान्तिकारीता मानिन्थ्यो । संस्कारवादी पण्डितहरुले श्रीभागवतको तृतिय स्कन्दमा लेखिएको श्लोक सुनाएर शास्त्र विपरित बोलेको आरोप लगाए पछि पण्डित गोवर्धन शर्माले शास्त्रको पारस्कर गृहसुत्र सुनाई अथ्र्याएर आफ्नो घोषणाको शास्त्रीय बचाउ गरेका थिए ।
शयै कृष्ठे तथा क्षत्रै धान्यैश्च
शयौ मर्जिततै, निर्पवेत पश्ज्ञाश्च
स्वकर्म कुशले द्विज
अर्थात, ‘आफ्नो खेतमा आफैले जोतेर उब्जाएको अन्नद्वारा पञ्चयज्ञ गर्नु उत्तम ब्राम्मणको लक्षण हो ।’
छुवाछुतको बारेमा
चार्तुवेवर्णे मया शिस्ठ
गुणकर्म विभागस
अर्थात, भगवान भन्नु हुन्छ– ‘कामका गुणका आधारमा चारजात बाँडिएको छ । इश्वरको नजरमा जसरी घाम सबै साझा छ त्यसरी नै साझा रुपमा खडा भएका भगवानका नजरमा मनुष्य मात्र सबै बराबर हुन् ।’ आफ्नो अध्ययनबाट सिकेको यो कुरा २००५ सालमा समानताको शास्त्रीय तर्क दिएर व्यवहारमा उतारेर देखाउन सक्ने गोर्वधन साँच्चै क्रान्तिकारी
हुन् । भूमिगत गतिविधिमा पनि समानताको अभ्यास गरेको एउटा प्रेरक प्रसंग यस्तो छ– रिसिङ्गको बाङ्गसिङ्गका ब्राम्मणको घरमा बल्लबल्ल बास पाउँदा पानी नपाएपछि त्यही घरको दुई गाग्रो मागेर पानी ल्याइ सकेपछि ब्राम्मण घरधनीले एक गाग्रा पानी भित्र पुजा गर्न दिनुहोस् भनि माग्दा काजीमान दमैले ल्याएको गाग्रो भित्र लान दिएका थिए ।
यस्ता थुप्रै गतिविधिले सामाजिक परिवर्तनमा त्यति बेलाका रिजन(दलित)हरुको विश्वास जित्न गोवद्र्धन सफल भएका थिए । हरिजनसंगै सहजभोग गर्ने पण्डित गोवद्र्धन त्यो समयमा धेरै अग्रगामी क्रान्तिकारी थिए । आज २०७६ सालसम्म आईपुग्दा पनि गोवद्र्धनले जस्तो सामाजिक रुपान्तरणको क्रान्तिकारी पहल कुनै नेताले गर्न सकेको पाईदैन । त्यसैले पण्डित गोवद्र्धन नेपाली समाज परिवर्तन अर्थात
रुपान्तरणका
संवाहक हुन् ।
ग) राजनीतिक क्रान्तिका नायक
२००६ साल जेष्ठ २२ गते क्यामीन बेलथुम्कीका पूर्णचन्द्र÷बालचन्द्र वाग्लेको घरमा ३५ बर्षको उमेरमा ‘श्री ५ को बैधानिक नायकत्वमा जनताप्रति उत्तरदायी शासन कायम गर्नु मेरो प्रथम कर्तब्य हुनेछ’ भन्ने शपथ खाएर रामप्रसाद खनालबाट नेपाली राष्ट्रिय काँग्रेसको सदस्यता लिएर १०४ बर्षे जहानीय शासन विरुद्ध २००७ को जनक्रान्ति, २०१४ को भद्रअवज्ञा आन्दोलन, २०१७ सालको शाही कु विरुद्धको प्रतिरोध आन्दोलन, २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह जस्ता कठिन राजनीतिक संघर्षका समयमा गिरफ्तारी दिएर जेल बासको यात्रा भन्दा भूमिगत कठिन यात्रालाई प्राथमिकता दिएर जीउज्यानलाई समेत जोखिममा पारेर भरतपुर कब्जा गर्दाका आफ्ना सहयात्री लालध्वज, इमानसिंह, सर्वसिंह, दिलबहादुरलाई पक्राउ गरी पोखरा पु¥याएर दुई दिन पछि काठमाण्डौ चलान गर्ने बहाना बनाई पैदल हिडाई कास्की र तनहुँको सीमाना कोत्रेमा लगि शाही सेनाले गोली हानेर मारेको खबरले झनै क्रुद्ध भै संगठित विद्रोह गर्ने गोर्वधन शर्माको आत्मबृतान्त पढ्दा उनी राजनीतिक क्रान्तिका नायक रहेको पुष्टि हुन्छ । आफ्नो जीवनलाई दाउमा लगाएर २००७ सालको जनक्रान्तिमा होमिने, २०१७ पुस १ गतेको शाही कू पछि दश बर्षको निर्वाशनमा भूमिगत भएर शाही सरकारलाई पटक पटक चुनौति दिने पद, प्रतिष्ठा र अर्थमा कहिल्यै लालच नराखी आर्थिक संकटमा खलाको तील पुजाका लागि बहाना बनाई मागेर पानीसंग खाएर प्राण धानेर पनि राजनीतिक गतिविधिमा देश भित्र र बाहिर जहाँसुकै हुने बोलावट भएको सभा, सम्मेलनमा सहभागि हुन पुग्ने सबैलाई चित्त बुझ्ने तर्क तथा विचार राख्ने बी.पी., सुवर्ण सम्सेर, गणेशमान, कृष्णप्रसाद भट्टराई जस्ता नेतालाई पनि चित्तबुझ्दो समाधान दिन सक्ने कास्की तनहुँ लम्जुङ्ग र गोरखाको नेतृत्व सम्हालेका क्रान्ति नायक थिए गोवद्र्धन शर्मा ।

घ) साहसका खानी
पोखरेल फाँटबाट काठमाण्डौ पुगेर, आर्थिक अभावमा पनि पण्डित शिक्षा आर्जन गर्ने आँट भएका गोवद्र्धनले त्यो बेलाको राणा प्रधानमन्त्रीहरुको हाईदुहाई चलेको समयमा जो कोही भेटेर विन्ति राख्न पनि सक्दैनथ्यो । चन्द्रसम्सेरसंग गरेको विन्ति चन्द्रसम्सेरले सुन्नै भ्याएनन् । बबरसम्सेरसंग विन्ती गर्दा महाराज भनेको आरोपमा पुलिसले पक्राउ गरेर जर्नेललाई किन महाराज भनिस भनेर हप्काउँदा पनि हिम्मत नहारी भिमसम्सेरको पालामा पुनः भिमसम्सेरलाई, धर्मसम्मेरलाई भेटेर आफ्नो विलाप सुनाएर तिनधारा पाठशालामा भर्ना भई पढेर बुढी आमाको इच्छा बमोजिम सप्ताह भन्न सक्ने पण्डित हुन सफल भएका थिए ।
देश र जनताको समर्पित भएर संघर्ष गर्दा शाही सरकारले गोवद्र्धनलाई पक्रन सहयोग गर्नेलाई वा पक्राउ गरेर ल्याउनेलाई जागिरमा सुब्बा दिने, नगद १८ हजार दिने, सेना प्रहरीका जवान भए एक तह प्रमोशन दिने घोषणा गरेर व्यापक खोजी गर्दा पनि लुकेर छिपेर भूमिगत विद्रोहका कार्यक्रम चलाएर हिड्दा मित्रपुर गाउँ पुगेर बयोबृद्ध गुरु दधिराम पोखरेललाई भेट गरेकै अवस्थामा हवलदार गणेशबहादुरको पक्राउमा परी पोखरा बडाहामिक समक्ष हाजिर गराउन लैजादै गर्दा अनेक उपायले साथीहरुलाई सूचना पु¥याए थिए । भतेरीको सिरानखेत नगिच पुगेपछि जंगलबाट निस्केका साथीहरुले प्रहरी कब्जाबाट साथीहरुले खोेसेको बनाएर शंकटमा बुद्धि निकालेर उम्कन सफल साहसी थिए गोवद्र्धन ।१९३ रामकोटबाट आफूहरुलाई पक्रने हवल्दारको विश्वास जिती बन्दिपुर तर्फ हिड्दै गर्दा मुच्चुकबाट पश्चिमको एक खोल्सीमा पुगेपछि पदमबहादुरको साथमा कुटपिट गरेर हात पछाडि लगेर बाँधेर खोल्सामा फाली भाग्ने हिम्मत भएका साहसी थिए । २०६ यस्ता थुप्रै साहसपूर्ण कदम देखाएका छन् गोवद्र्धन शर्माले ।
ङ) कुसल मेलमिलापकर्ता
पार्टी भित्रको विवाद, सामाजिक विवाद समाधान गर्न क्षमता भएको कार्यकर्ताका रुपमा सुवर्ण सम्सेर लगायतका काँग्रेस नेताको विश्वास गोवर्धन शर्माले जितेका थिए । २०१५ सालको निर्वाचन पछि दोलखाका विजयी गृहबहादुर र टिकट नपाएर असन्तुष्ट अंगदबहादुर खड्काको मेलमिलाप गराउन खटाईएका दुई जना नेता असफल भएपछि नेता सुवर्ण सम्सेरले गोवद्र्धन शर्मालाई कूसल ठानी खटाएका थिए । त्यो काम गोवद्र्धन शर्माले भिमबहादुर तामाङ समेतको साथ लिएर सम्पन्न गरेका थिए । आफैलाई पक्रेर लिएर हिडेको हवल्दारसंग ‘यी हुल्याहाहरुले तपाईहरुबाट मलाई छुटाए भने (सिसाघाट तर्फको भतेरी सिरान खेत नजिको जंगल) म आफै पनि गएर गोश्वारामा हाजिर हुन्छु, यदि यसो गरिन भने म सिघै दोषी ठहर्छु ।’ भनेर मेलमिलापूर्ण वातावरण निर्मण गर्ने क्षमता देखाएर प्रहरीको कब्जाबाट आफूलाई फुत्काउने साथीहरुलाई सहज बनाउने गर्दथे । तत्कालिन गृहमन्त्री सूर्यप्रसाद उपाध्याय पोखरा जाने कार्यक्रम हुँदा त्यहाँका कार्यकर्ता बीच अहंपूर्वक होड चलेपछि विवादै विवादमा समय वित्दै जाँदा कार्यक्रमको चाँजोपाँचो नै नुहने अवस्थामा गृहमन्त्रीले खटाए पछि पोखरा गै स्थानीय कार्यकर्ता र नगरपालिकाका कार्यकर्ता बीच एउटै मञ्चमा गृहमन्त्रीको अभिनन्दन र स्वागत गर्ने सहमति गराउन पनि गोवर्धन शर्मालाई सफलता हासिल भएको थियो ।१६७ गोवद्र्धन शर्मामा असन्तुष्ट पक्षलाई सम्झाउने ठूलो गुण छ भन्ने बुझेर नै सुवर्ण शम्सेर आफूले निर्वाचन जितेपछि तीन मध्ये दुई क्ष्ोत्र छोड्न पर्ने अवस्थामा बारा र गुल्मी छाडेपछि त्यो क्षेत्रका मतदाताको असन्तुष्टीले उपनिर्वाचनमा हार्न नपरोस भनेर त्यस क्षेत्रमा प्रचार प्रसारका लागि गोवर्धन शर्मालाई खटाएको तथ्यले पनि मान्छेको मनोविज्ञान बुझेर सम्झाउने क्षमता गोवर्धन शर्मामा थियो भन्ने पुष्टि हुन्छ ।
च) देश र जनताका सेवकः
गोवद्र्धन शर्माको आत्मबृतान्त र उनको व्यवहारिक जीवन बुझ्ने जो कोहीले गोवद्र्धन शर्मा देश र जनताका सेवक हुन् भन्ने सावलमा फरक मत राख्न सक्दैन । २००७ सालको जनक्रान्तिदेखि नै आफ्नो परिवार, पत्नि, बालबच्चा, घरगृहस्थी भन्दा नेपाली काँग्रेसको हरेक आव्हानमा होमिनु पर्ने कर्तब्य बोधलाई प्राथमिकतामा राखेर होमिने गोवद्र्धन शर्माले आफ्नो परिवार, पत्नि र छोरा छोरीको लागि भन्दा देश र जनताको सेवामा आफ्नो जीवन समर्पण गरेको पाईन्छ । २०१५ सालको निर्वाचनमा उम्मेदवार बन्न चाहेको भए गोर्वधन शर्माले पाउने अवस्था थियो । तर उनले आफूले पाउन भन्दा पार्टीले जित्नु पर्दछ भन्ने भावनाले काँग्रेसलाई जिताए । पार्लियामेन्ट बोर्डमा परेका श्रीभद्र शर्माले महासभामा सदस्यमा आफूले सिफारिस गर्ने एक नाममा म तपाईलाई सिफारिस गर्दछु, तपाई टिकट नलिई मेरो निर्वाचनमा सहयोग गर्न प¥यो, चुनाव जित्न प¥यो भनेर आफैले सिप्पानीको जंगलमा राती राखेको प्रस्ताव विपरित वी.पी.ले १०३ बाट निर्वाचित श्रीभद्र शर्मालाई ‘तपाईले कस्को नाम दिनु हुन्छ भन्ने प्रश्नको उत्तरमा श्रीभद्रले ‘मेरा कोही छैनन्’१४३ भनेर गोवद्र्धनकै अगाडि भन्दा पनि दुःख नमानी पद, प्रतिष्ठा र आर्थिक लाभ भन्दा जनताको सेवामा सर्मित रहन चाहन्थे गोवद्र्धन शर्मा । नेपाली काँग्रेसले चुनाव जितेर बनेको सरकारका गृहमन्त्री एवं सभापति बी.पी.ले पोखराको डि.पि.यो. मा गोवद्र्धनको नाम निधो गरिसकेपछि मिनबहादुर गुरुङको कुरा सुनेर गोवद्र्धनको ठाउँमा पेचबहादुर गुरुङ्गलाई बनाउँदा पनि गोवद्र्धनले बी.पी.संग कुनै असन्तोष पोखेनन् । गृहमन्त्रीबाट सुब्बा सरहको जागिरको लागि प्रस्ताव गर्दा ‘मेरो जागिर खाने मनसुवा भएको भए मेरो योग्यताबाटै राणाकालमै खाई सक्थें’ भन्ने जवाफ दिएर देश र जनताको जनताको सेवा गर्ने भिष्मप्रतिज्ञा गरे नेपाली काँग्रेसको सदस्यता लिएको बताउने गोवद्र्धनको आत्मबृतान्तबाट आफ्नो भिष्मप्रतिज्ञामा विचलित नभएका देश र जनताका सेवक थिए गोवर्धन ।
छ) न्यायका पहेरदार
चिसापानी चाम्रे गाउँकी विधवाले आफ्नो नावालक छोरी छोडेर दास्रो विवाह गरी गएपछि पुनः विवाह गरी गैसकेकीबाट किनि सकेको छु भनेर नावालक छोरीको भैसी लैजाने धनीमानीबाट खोसेर फिर्ता दिलाई दिने । नावालक बद्रिहरि भट्टराईको खेत नै सुकाई दिने गरी कूलो बनाएर लैजाने ठूलाठालूलाई झिकाएर बद्रहरिको खेत सिचाई गर्ने प्रबन्ध मिलाई दिने, इश्वरी प्रसाद भट्टराईकी विधवा भाउजुले गर्भ बोकेपछि गर्भ बोकाउने नै घरमा भित्र्याई सकेको अवस्थामा ठूलाठालूले फर्काएर इश्वरीप्रसादकै घरमा राख्ने व्यवस्था गरी झुटो मुद्धामा फसाउँदा इश्वरी प्रसादलाई बचाउन सक्दो प्रयास गर्ने हिम्मतिला न्यायका पहेरदार थिए गोवद्र्धन शर्मा । एक पटक नेपाली काँग्रेसको सरकार बनि सकेपछि बारा पार्सको निर्वाचन गराएर फर्कदा तौलिहवा पत्थरकोटका ठानेदारले धनिमानीहरुको कर्कटपाता लिन जान लागेको बसलाई कब्जामा लिएर आफूहरुको निर्वाचन टोलीलाई पठाउन खोज्दा ‘नेपाली काँग्रेसको शासनकालमा यस्तो अन्याय हुन दिदैनौ’१५३ भनेर बस रिजर्भ गर्ने १५÷२० जना धनीमानीहरुलाई नै जाने व्यवस्था मिलाउने न्यायकर्मि थिए गोवर्धन ।
ज) काँग्रेसका अविश्राम सिपाही
चौतीस बर्षको जोशिलो उमेरमा २००५ सालमा नेपाली राष्टिूय काँग्रेसको सदस्यता लिएर राजनीतिक यात्रामा होमिएका गोवद्र्धन शर्माको आत्मबृतान्त बढ्ने जो कोहीलाई ज्ञान हुनेछ कि उनि नेपाली काँग्रेसका अविश्राम सिपाही हुन् । आर्थिक प्रलोभनमा नपरी, सत्तासुखप्रति आशक्ति नदेखाई, पद प्रतिष्ठालाई प्राथमिकतामा नराखी राणाका सेनाको गोलीको प्रवाह नगरी, शाही सेनाको गोलीको प्रवाह नगरी जीवनभर संघर्षको बाटो रोज्ने, घरको बचेखुचेको धन सकाएर, साथीभाईको सहयोग जुटाएर २००५ सालदेखि जीवनपर्यन्त कठिन संघर्षमा होमिने देश र जनताका निस्वार्थ सिपाही थिए गोवर्धन शर्मा ।
झ) वीरांगनाका पति
पं. गोर्वधनको आत्मबृतान्त पढ्दा उनकी धर्मपत्नि द्रौपदाको दुःखलाई अनुमान गर्न सकिन्थ्यो । द्रौपदाले भोगेको दुःख एक वीराङ्गनाले मात्र झेल्न सक्दछ । ५÷६ जना लालावालालाई जन्माउँदै हुकाँउँदै गर्दा पतिको साथ कहिल्यै पाईनन् । पतिले हिडेको यात्राले राज्यसत्तालाई झस्काउँदथ्यो । त्यसैले गोवद्र्धनलाई खोज्ने सेनाले पतिलाई लुकाएको आरोपमा दिएको हण्डर, अपमान, भाग्दै घरगृहस्थी धानेर बालबच्चा हुर्काउनु द्रौपदाको साहसले मात्रै सम्भव भएको थियो । पति घरमा आउँदै पिच्छे ल्याउने १०÷१५ जना पाहुनाको सत्कार गर्ने अभिभारामा पनि द्रौपदाले कमिकजोरी आउन दिन मन लाग्दैनथ्यो । पतिले ल्याएर आर्थिक सहयोग पाउनु पर्नेमा उल्टै पतिको पल्टनलाई बाटा खर्च दिनुपर्ने अवस्थाले द्रौपदाको थियो । दौपदा एक वीराङ्गना भएकै कारण एक्लो सहास, आँट र धैर्यताले रामचन्द्र पोख्रेल, कृष्णचन्द्र पोखरेल, सुवासचन्द्र पोखरेल प्रेमवदा पोखरेल र स्वयमवादा समेतका बालबच्चा हुकाँउँन सफल भईन । छोराहरु कृष्णचन्द्र, सुवाशचन्द्रको वर्तवन्धको यज्ञ भत्काई पाकेको खाद्य लुटिदा पनि द्रौपदामा निराशा छाएन । ‘मेरा श्रीमान आएको पत्तो पाए म यहाँ खबर दिनेछु, भनी पश्चिम ३ नं. गोश्वारामा तिमीले बयान गरी छुटेकी हौ, श्रीमानसंग नभेटेको भए अहिले तैले काखमा लिएको बच्चा कसको लिएकी छस्’२२८ भनेर अपमान गर्दा पनि आफ्ना पतिलाई विद्रोहको मार्ग छ छोड्न आग्रह नगर्ने द्रौपदाको सहासको बर्णन शब्दमा गर्नै सकिदैन । गर्भवती अवस्थामा आठ जना प्रहरीले घेरा हाली पक्राउ गरेर पोखरा पु¥याउँदा पनि द्रौपदाको मन अधैर्य भएन
निष्कर्षः
सिघासफा दील भएका निस्वार्थ सहापूर्ण कदम निरन्तर चालिरहने नेपालको प्रजातान्त्रिक आन्दोलनका विभूति पण्डित गोर्वधन शर्माको चहाना अनुसार राजनीतिक अभियानमा जोडिए प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनेहरुको इतिहास लेखिनु पर्दछ१९६ । पण्डित गोवर्धन पोखरेलको ‘मेरो जीवन यात्रा’ गुटगत राजनीति गरेर संगठन कमजोर बनाउनेहरुले पनि पढुन । शिक्षा लिन सकुन । निस्वार्थ निरन्तर देश र जनताको सेवा गर्ने अविश्राम सिपाही बन्न प्रेरित हुने शिक्षा लिएको देखाउन सक्नेहरुले मात्र नेपाली काँग्रेसको इमानदार कार्यकर्ताको पहिचान पाउन सक्नेछन् ।