पृष्ठभूमिः
न्यायको रोहमा चरणमा पालना गर्न पर्ने कानुनको रुपमा मान्य सिद्धान्तहरु हुन्छन् । फौजदारी कानुनका जस्तै देवानी कानुनका पनि सर्वमान्य सिद्धान्तहरु छन् । यी सिद्धान्तहरु आमनागरिक र न्याय निरुपण गर्ने न्यायकर्ताले सामान्य जानकारीमा राख्नु पर्ने कुराहरु हुन् । देवानी संहिताले १३ वटा देवानी कानुनका सामान्य सिद्धान्तको व्यवस्था गरेको छ । ती मध्ये विशेष महत्वका सिद्धान्तहरु हाम्रा आमपाठक बर्गको सहज जानकारीका लागि प्रकाशन गरिएको छ ।
अज्ञानता क्षम्य नहुनेः
कानुनको अज्ञानताका कारणले कसुरबाट उन्मुक्ति पाउन सकिदैन । कानुन सबैले जानेको अनुमान गरिनेछ । मैले नजानेर गल्ती गरें भनेको भरमा न्यायकर्ताले कसूरबाट उन्मुक्ति दिन मिल्दैन ।
गल्ति गर्नले क्षति व्यहोर्नेः
जस्को गल्तिले गर्दा अर्को व्यक्तिलाई हानी नोक्सानी भयो, कुनै क्षति भयो भने त्यसको दायित्व गल्ति गर्ने व्यक्तिले व्यहोर्न पर्ने कानुनी व्यवस्था छ । प्रत्येक व्यक्तिले आफूले गरेको गलत कार्यको परिणाम आफैले व्यहोर्नु पर्दछ । यस प्रकारको दायित्व गर्नेले मात्रै होइन गराउनेले समेत व्यहोर्नु पर्नेछ । त्यो दाइत्व क्षतिपूर्तिको रुपमा व्यहोर्नुपने कानुनी व्यवस्था छ ।
गल्ती गर्नेले फाईदा नपाउनेः कुनै पनि व्यक्तिले आफूले गरेको गलत कार्यको फाईदा लिन पाउँदैन । अर्थात कुनै व्यक्तिको मृत्यू भएमा अपुताली पाउने व्यक्तिकै कारणले सो अपूताली पर्ने व्यक्तिको मृत्यू भएमा उसले त्यस्तो व्यक्तिको अपुतालीको सम्पत्ति खान पाउँदैन ।
असल छिमेकीपनः
हरेक व्यक्तिले आफू रहेबसेको ठाउँमा असल छिमेकीपन देखाउनु पर्दछ । आफू बसेको समुदाय वा छिमेकलाई हानि नोक्सानी हुने काम गर्नु असल छिमेकीपन होइन ।
गैह्रकानुनी प्रथा अमान्यः
कानूनी मान्यता नपाएका सामाजिक प्रथा तथा परम्परा तथा सस्कारगत कुराहरुलाई संहिता कानुन पछि अमान्य भएका छन् ।
हित विरुद्धको कार्य अमान्यः
आफ्नो संरक्षकत्व, माथवरी, अधीन वा प्रभावमा रहेको वा प्रभाव पर्न सक्ने व्यक्तिको हित विपरितको कार्यले कानुनी मान्यता नपाउने कानुनले स्पष्ट पारेको छ । आफ्नो बारेमा आफैले सही निर्णय लिन नसक्नेका हकमा यो सिद्धान्त लागू हुन्छ ।
सार्वजनिक अहित अमान्यः
सार्वजनिक हित विरुद्धको कार्य अमान्य हुने कानुनी व्यवस्था छ । कसैले पनि सार्वजनिक हित विपरित हुने गरी कार्य गर्न पाउने छैन ।
निष्कर्षः
कानुनमा भएको व्यवस्था आमनागरिकले जस्तै कानुन कार्यान्वयन गर्ने तहमा बसेका व्यक्तिहरुले पनि पालना गरिदिने पद्धति बसाल्न सके कानुनको मर्यादा कायम हुन सक्दछ । पहूँचवालाहरुले कानुन कुल्चदा, दुरुपायोग गर्दा कानुनका सिद्धान्तहरु निष्प्राभवी भएको अनुभूती हुने गरेको छ ।
देवानी कानुनका सामान्य सिद्धान्त
previous post