मंसिर अन्तिम साता सम्पन्न १४ औं महाधिवेशनबाट प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा नेपालको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मतदानको आधुनिक प्रविधिलाई आत्मसाथ गर्न हिच्किचाउँदा झण्डै डेढसय केन्द्रीय पदाधिकारी तथा सदस्यको मत गणनामा समय लाग्यो र पुषको पहिलो साता सबै मतगणना सकिएर नतिजा आयो । पदाधिकारी लगाएत केहीमा देउवा खेमाका व्यक्तिहरु निर्वाचित भएका भएपनि केन्द्रीय समितिमा देउवा खेमाका दुइतिहाई भन्दाबढी पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन् । मतकै कुरा गर्ने हो भने देउवाले पाएको मत ६० प्रतिशत आसपास मात्रै हो ।
गिरिजाप्रसाद कोइराला तथा शुशिल कोइराला सभापति हुँदा आफुले सभापतिमा प्रत्यासी हुँदा पाएको मतको आधारमा हरेक नियुक्तिमा भाग खोज्ने देउवाले आफ्ना प्रत्याशी बनेका शेखर कोइरालालाई कसरी चित्त बुझाएर अगाडि बढ्छन्, त्यो हेर्न बाँकी छ । कोइरालाले आफुले भागवण्डा नखोज्ने बताएर देउवालाई सजिलो बनाइदिएका छन् । तर शेखरले भाग नखोजेको भन्दै आफुखुसी गर्न खोजेको खण्डमा र ६० प्रतिशतको मात्र सभापति बन्ने अभ्यासमा लागेका खण्डमा देउवाको आगामी दिनहरु अवश्य असहज हुनेछ ।
प्रारम्भिक संकेतहरु राम्रा देखिएका छैनन् । यस अघि सभापतिको निकटतम प्रतिद्वन्द्वीलाई वरियताको दोस्रो क्रममा राख्ने गरिएकोमा आफ्ना प्रतिद्वन्द्वी शेखरलाई वरिष्टताको २० औं नम्बरमा राखेर देउवाले सबैको सभापति हुने अभ्यास गर्न नचाहेको देखिएको छ ।
आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने प्रतिवद्धता जनाएका देउवाले पार्टीको आन्तरिक निर्वाचनमा दुइ तिहाई सदस्य त पाएका छन् । तर पार्टीका सबै विचार समूहलाई मिलाएर लान नसक्दा निकट विगतमा स्थानीय तथा प्रदेश र संघीय सरकार निर्माणका लागि हुने निर्वाचनमा उनले भने झैं जित्नु सहज हुने छैन । पार्टीको आन्तरिक निर्वाचनमा दुइ तिहाई पाउनु र राष्ट्रिय निर्वाचनमा बहुमत पाउनु अलग कुरा हो भन्ने कुरा बुझेर आफुलाई सच्याउँदै लैजाउन ।