पौष २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएसँगै प्रतिपक्षी दल कांग्रेसमाथी विभिन्न प्रश्न तेर्सिएका छन् ।
प्रतिनिधिसभालाई प्रमुख प्रतिपक्ष विहिन बनाएर कांग्रेसले परम्परागत संसदीय प्रणालीलाई चुनौती दिएको रुपमा विश्वासको मतलाई व्याख्या गर्नेहरु छन् । यो तर्ककम बलपुग्ने गरी सरकारलाई खबरदारी गर्ने मुख्य भूमिका पाएको कांग्रेसले आफ्नो संवैधानिक भूमिका माथी कुठाराघात गरेको तर्क गर्नेहरु पनि छन् । र, यि दुवै तर्क गर्नेहरुको मत कांग्रेसले सत्तामोहका कारण आफ्नो आदर्शबाट आफुलाई च्यूत गराएको भन्नेछ । दाहाललाई विश्वासको मत दिन वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले बढी नै जोडबल गरेका र उनिहरु दुवैजना राष्ट्रपतिको आकांक्षी रहेकोले विश्वासको मत सत्तामोहको परिणाम भन्ने तर्कलाई बल दिने खालको छ ।
राष्ट्रपति र सभामुख दुवै पद एमालेलाई दिन नहुने बुझाई माओवादीमा रहेको र दाहाललाई समर्थन गर्दा उक्त पद काँग्रेसको पोल्टामा आउन सकने सम्भावना रहेको देखेर पौडेल र सिटौलाले विश्वासको मत प्रदान गर्न जोड दिएको आमबुझाई छ । यतिमात्र होइन, ओली प्रधानमन्त्री हुँदा विभिन्न निकायमा भागवण्डा पाएका देउवाले दाहालसंग पनि केही अंश पाउने आशा र विश्वासका साथ विश्वासको मतमा जोड दिएको बुझ्न कठिन छैन । यद्धपि एमाले अध्यक्ष ओलीको माछा नभएको खोलामा जाल थापेर उपलब्धी नहुने भनाईले काँग्रेसलाई झस्काएको भने अवश्य छ ।
दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा प्रदीप पौडेल, अर्जुननरसिं के.सी. र प्रकाशमानसिंको असहमतिका बीच दाहाललाई विश्वासको मत दिने निर्णयमा काँग्रेस पुग्नुलाई संविधान र संसद जोगाउने महत्वपूर्ण कदमको रुपमा व्याख्या गर्नेहरु पनि छन् । संसदको अघिल्लो कार्यकालमा तत्कालिन प्रधानमन्त्री के पी ओलीले संविधान मिच्दै दुई पटकसम्म संसद विघटन गरेका थिए ।
यसपटक पनि आफ्नो टेकोमा उभिएको सरकार कुनै पनि बेला ढल्ने र संसद विघटन गर्ने जोखिम रहेकोले दाहाललाई दह्रो टेको दिन काँग्रेसको विश्वासको मत दिने निर्णय गरेको तर्क गरिएका छन् । यो तर्कमा पनि दम छ, किनभने संसदको पहिलो बैठकमै ओलीले दुई पटकको संसद विघटनको बचाउ गर्दै उक्त कदम सही रहेको बताएका थिए ।
विश्वासको मत सत्तामोहका कारण रहेछ कि संविधान र संसदको रक्षाका लागि भन्ने प्रश्नको जवाफ छिट्टै पाईनेछ । सत्तामोहका कारण भए काँग्रेसको ओरालो यात्रा अझ तिब्र बन्नेछ । तर यदि संविधान तथा संसदको रक्षाको लागि हो र यो कुरा आमनागरिकलाई बुझाउन सक्दा काँग्रेसको शक्ति संचित हुँदै जानेछ ।
दाहाललाई विश्वासको मत, कांग्रेसको सत्तामोह कि संविधान र संसद जोगाउने कदम
previous post