हिन्दुहरुको महान चाड बडा दसैं शुरु भैसकेको छ । घटस्थापनाको दिनदेखि शुरु हुने दशैं पूर्णिमाको दिनसम्म मनाइन्छ । सबैभन्दा महत्वपूर्ण दिन टिकाको दिन अर्थात विजयादशमीको दिन पनि आजको मितिले एक दिन मात्र टाढा छ । अर्थात यो बर्षको विजयादशमीको टिकाको दिन भोलि परेको छ । गाउँशहर सबैतिर दशैंको माहोल छ । गाउँघरतिर लिंगे पिङको चाचाहुई र रोटेपिङको चाईचुई शुरु भैसकेको छ । गाउँघरको बुढा बाआमालाई घर लिप्ने, सफा गर्ने हतारोेले छोपिसकेको छ । सुविधा र भविष्य खोज्दै शहर छिरेका छोरा पुस्ताहरुलाई घरफर्कने हतारोले छोएको छ । बेरोजगारीको चपेटाले विदेश भासिएका युवाहरुलाई घर फर्कने पितामाता, साथीभाई पत्निसंग भेट्ने रमाउने खुशी दिएको छ । बेरोजगारीको विदेश जाने उछार नपाई गाउँमै रुमलिएका युवाहरुलाई विदेशबाट फर्कने आफ्नो बालसखाको अनुभव सुन्न, आफ्नो योजना बनाउने, उसले दिने पार्टीमा रमाउने आकाँक्षाले मनमा छुट्टै खालको राहत दिलाएको छ । सानासाना नानीबाबुहरुलाई दसैंैमा नयाँ लुगा लगाउने, साथीहरुलाई देखाउने, मामा घर जाने खुशीयाली छ । तिनै नानीहरुको लुगा बेच्ने मसले दाईलाई यस बर्ष सोंचेजति व्यापार होला कि नहोला भन्ने तनाव छ । कोही दसैंको लागि भनेर आफ्नो गच्छे अनुसारको चौपाया खरीद गर्दैछन् भने कोहि बर्षभरि मेहनत गरेर हुर्काएको चौपाया बेचेर दसैंको गर्जो टार्ने सुरसारमा छन् । जुवा तास खेल्नेहरुलाई कहाँ खेल्ने, कस्कोमा खेल्ने, हारिएला कि मारिएला भन्ने पिर छ भने प्रहरीलाई भने दशैं तिहारको माहोलमा हुने जुवातासलाई कसरी नियन्त्रण गर्ने भन्ने तनाव । कसैलाई दसैंमा दुई छाक मिठोमसिनोको जोहो कसरी गर्ने भन्ने चिन्ता छ भने कोहि यस पाली त ढल्ने गरी पिउने हो भनेर चाँजो पाँजो मिलाउँदै छन् । समग्रमा भन्नुपर्दा सबैलाई आ–आफ्नो किसिमले दशैं लागेको छ । कसैलाई खुशीको रुपमा दशैं लागेको छ त कसैलाई चिन्ताको रुपमा ।
हामीले मनाउने हरेक चाडपर्वहरु हाम्रो संस्कृतिको अभिन्न अंग हो । नेपाल एक बहुजातीय, बहुधार्मिक देश हो । त्यसैले पनि साँस्कृतिक दृष्टिकोणको हिसाबले नेपालमा विभिन्नता पनि छ र एकताको सद्भाव पनि छ । बहुसंख्या नेपालीहरु हिन्दुधर्मावलम्बी भएको र हिन्दुहरुको महान पर्व भएकोले सांस्कृतिक रुपमा दशैं पर्वको उच्च महत्व रहेको छ । नेपालको परिप्रेक्षमा दशैं हिजो पनि मनाइन्थ्यो, आज पनि मनाईन्छ र भोलिको दिनहरुमा पनि पर्वकै रुपमा मनाईने छ । तर समयको गति र परिवर्तन संगसंगै दशैंको सन्दर्भ र मनाउने तौरतरीकाहरुमा पनि फेरबदल हुँदै आएको छ । जस्तो कि हिजो नेपालमा राजतन्त्र हुँदासम्म नेपाललाई हिन्दुराज्य भनिन्थ्यो । र दशैंलाई नेपालीहरुको महान पर्व । आजको मितिसम्म नेपाल एउटा संघीय गणतान्त्रिक राज्य हो । जुन कार्य निरपेक्ष छ । त्यसैले आज दशैंलाई नेपालीहरुको नभनेर हिन्दुहरुको महान पर्व भन्न थालिएको छ । हिजोको मितिसम्म दशैंमा घर रङ्गयाउन कमेरो र रातो माटो बोकेर लहरै हिडेका आमा र दिदीबहिनीहरु देख्न पाईन्थ्यो गाउँघरतिर तर आज तिनै गाउँघरका मानिसहरुको भिड पनि बजारको हार्डवेयर पसलतिर मात्रै देखिन्छ घर रङ्गयाउने रंग किन्न । त्यो रातो माटो र कमेरोले कति सम्झिदो हो ति आमा र दिदी बहिनीहरुलाई । तर अफसोच, अब दशैंमा तिनको महत्व छैन । हिजो गाउँघरतिर दशैंको लागि भनेर आफ्नै बारीको मकै कोदो र गहूँको जाँड रक्सीहरु बनाईन्थ्यो तर आज ति आफ्नै मौलिक र अर्गानिक उत्पादनको ठाउँ वियर, रम र भोड्काहरुले लिन थालेको छ । हिजो दशैंको बेलामा मामाघर तिर आफ्नै दौतरीहरुसंग लिंगे पिङ र रोटे पिङमा रमाउने युवा जमातहरु विस्तारै विस्तारै मामाघर भन्दा पनि डिस्को, पप हाउसतिर रमाउन थालेका छन् । समय हिजो भन्दा आज बेग्लै छ, भोलि सायद अझ फरक होला ।
दशैं निःसन्देह नेपाली संस्कृतिको फूलबारीमा एउटा उत्तम, सुगन्धित र आकर्षक फूल हो । दुई मत छैन । यो हाम्रो अमूल्य संस्कृति हो । तर समयको परिवर्तनसंगै यो हाम्रो संस्कृति शुद्ध संस्कृति रहन सकेन । यसमा विकृतिहरुले क्रमशः आफ्नो जरा केलाउँदै लगेका छन् । हिजोका दिनहरुमा हुनेले नहुनेलाई सघाएर परस्पर सद्भाव र आत्मियताको साथ दशैं मनाईन्थ्यो । अनावश्यक धन वैभावको प्रदर्शन गर्नुपर्ने न त आवश्यकता थियो, न त चलन नै हिजो, मनाउनको लागि दसैं मनाईन्थ्यो, तर आज मनाउनको लागि भन्दा पनि देखाउनका लागि दशैं मनाउने परम्परा बसेको छ । दशैंमा मायाँ ममता र सद्भावको तुलनामा अर्काको प्रभाव बढेको छ । आशीर्वादको ठाउँ पैसाले लिएको छ । धेरै पछाडी नफकौं, दुई दशक अगाडि मात्र हाम्रै बाल्यकालमा मामा घरमा टीका लगाइसकेपछि बाजे बज्यैले दिएको एक÷दुई रुपैयाँको सिक्कामै हामी मक्ख हुन्थ्यौँ । मेरो नाति धेरै पढ्नु, ज्ञानी बन्नु, भनेर आशीर्वाद पाइसकेपछि केहि चाहिंदैनथ्यो तर आज आठ÷नौ वर्षको बच्चोलाई बीस÷पचासको नोठ हातमा दिंदा पनि मुख अध्यारो बनाउँछ । आशिष भन्दा बढी महत्व पैसाको भयो । आशिष सुन्ने फुर्सदै छैन । समय धेरै बदलिएको छ ।
सामान्य लाग्ने दशैंलाई बिगार्दै लगेका अरु पात्रहरुको बारेमा पनि एकछिन कुरा गरौं दशैं भन्ने बित्तिकै बच्चामा कुरा आउँछ नयाँ लुगाको चाडवाडमा नयाँ लुगा लगाउनु राम्रै कुरा हो तर चाडवाडमा नयाँ लुगा लगाउनै पर्छ भन्ने हुन्छ र ? हुने सक्नेले त किन्लान् । लगाउलान् । तर नहुने, नसक्नेले ? त्यसैले दशैंमा नयाँ लुगा लगाउनु पर्छ भन्नुको सट्टा दशैंमा अरु दिन भन्दा पनि अझ सफा लुगा लगाउनु पर्दछ भनेर हाम्रो बालबच्चाको मनोविज्ञानमा छाप पार्न सके पक्कै राम्रो हुँदैन
र ? चाडबाड आएपिच्छे, नयाँ लुगा चाहिने हाम्रो अहिलेको बालपुस्तालाई नयाँ होइन, सफा लगाउनु पर्दछ भनेर सिकाउन सके फाईदाकै कुरा होइन र ? अर्को कुरालाई जोडें । विशेष गरी युवा पुस्तामा दशैंको बेलामा त मध्यपान गर्नुपर्दछ, तास खेल्नु पर्दछ भन्ने खालको मानसिकता पाईन्छ । दशैं नि नखाए कहिले खाने ? दशैंमा नि नखेले कहिले खेल्ने ? भन्ने खालको भावनाहरु पाईन्छ । तर दशैं मनाउन खानै पर्दछ, खेल्नै पर्दछ भन्ने छैन । जाँड रक्सी नखाइकन जुवातास नखेलिकन पनि दशैं मनाउन सकिन्छ । यदि खाने नै हो, खेल्ने नै हो भने पनि कतिसम्म भन्ने कुरा पूर्व निर्धारित हुनु पर्दछ । यी कुराहरु हल्का मनोरञ्जनको साधन मात्र
हुनुपर्दछ । खाँदै जाम, खेल्दै जाम, भन्दाभन्दै कतिको दशैं दशामा परिणत भएको छ । यी कुराहरु तर्फ युवा वर्ग सचेत हुनुपर्दछ । किनभने हरेक युवा भनेका परिवार, समाज र राष्ट्रको भविष्य हुन, परिवर्तनको संवाहक हुन् । जाँड रक्सी छुनै हुँदैन, तास खेल्नै हुँदैन भन्ने पनि कुरा होइन । तर खान, खेल्न मनलाग्ने आफूलाई, अनि निहूँ पारेर दोष चाहि किन दशैंलाई लगाउनु भन्ने मात्र हो ।
दशैंमा खानपानकै कुरा गर्दा मासुको कुरा छुट्यो भने कुरा अधुरै रहला सायद । हुन त कति मानिसहरु शुद्ध शाकाहारी पनि हुनुहुन्छ । उहाँहरुको भावनामा ठेस पु¥याउने आषय मेरो होइन । तर दशैं भनेपछि कसो कसो टन्न मासु खाने चाड भनेर पनि लिने गरिन्छ । अझै पनि कति बुढा पाकाहरु दशैंमा नी छेरिन्जेल मासु नखाए के दशैं मानेको भन्नु भन्ने गर्दछन् । हुन पनि मांसहारी परिवारमा दशैंभरि लगभग विहान बेलुकै मासु पाक्छ । मैले यहाँ मासुको कुरा उठाउनुको कारण चाहि मासु कति खाने भन्ने कुरा गर्नको लागि हो । शरीरको संरचना र बनावटको हिसाबले मानिस मांसहारी प्राणी होइन । शाकाहारी हो र पनि हामी मासु खान्छौं तर मासुजन्य पदार्थको अत्याधिक सेवन हाम्रो स्वास्थ्यको लागि फाईदा जनक हुँदैन । यस्तोमा दश पन्ध्र दिनसम्म विहानै मासु, बेलुकै मासु । खाँदै गर्दा हाम्रो शरीरलाई कति फाईदा होला ? अनि कति हानी ? कोही दश दिन खाएर बर्षभरिलाई पुग्ने त पक्कै होइन । अर्कातिर मासु किन्दा पैसा त्यतिकै सकिने, अर्को धेरै खाएर फाईदा पनि नहुने । त्यस कारण टन्न मासु खानु पर्दछ भन्ने सोंचलाई फेरेर मासुसंगै हरियो, परियो पनि खानु पर्दछ । फलफुल पनि खानु पर्दछ भनेर सोंच्ने कि । हाम्रो भावि पुस्तालाई पनि त्यसतै सिकाउने कि ?
संसारमा कुनै पनि कुरा पूर्णरुपमा राम्रो र पूर्ण रुपमा नराम्रो भन्ने हुँदैन । यो सापेक्षतामा अध्ययन गर्नुपर्ने कुरा हो । दशैंको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । दशैंलाई हामीले हाम्रो संस्कृतिको रुपमा अपनाउँदै गर्दा समयसंगै दशैंमा आउने परिवर्तनलाई पनि अपनाउनु पर्ने हुन्छ । तर सबै परिवर्तन राम्रो र अपनाउन योग्य नहुन सक्छन् र हामीले मान्दै आएको सबै कुरा पनि राम्रो नहुन सक्छन् । तसर्थ चाडबाड मनाउने सन्दर्भमा राम्रोलाई अपनाउँदै नराम्रोलाई परिमार्जित गर्दै अघि बढ्नु पर्दछ । ताकि हाम्रो सस्कृति संस्कृति नै रहोस् । विकृति नबनोस् र संस्कृतिको मौलिकता र नेपाली पन कायम रहोस् । अन्त्यमा बडादशैं २०७८ को सबै पाठक वर्गहरुमा हार्दिक मंगलमय शुभकामना ।
दसैंः हाम्रो मौलिकता र आजको सन्दर्भ
previous post