पृष्ठभूमिः
अभियोग पत्रका साथ पेश भएका दसी वा मालसामानहरुको उपभोग्य सुरक्षण प्रतिवादी र अदालतको समेत सरोकारको विषय हो । अभियोग पत्र साथ पेश भएका दसी वा मालसामानहरुको यथासमयमा न्यायोचित व्यवस्थापन राज्य र आमनागरिकको चासो विषय हो ।
यथासमयमा व्यवस्थापनका उपलब्धिः
अभियोग पत्रका साथ पेश भएका दसी वा मालसामानहरु यथासमयमा न्यायोचित व्यवस्थापनबाट उपभोग्यता बचाईदिंदा न्यायको लडाई लडि राखेको प्रतिवादीले राहत पाउँछ । राज्यलाई पनि भरपुर आर्थिक लाभ हुन्छ । जफतको दावी लिइएको दसी वा मालसामानहरु यथासमयमा व्यवस्थापन गर्दा राज्यलाई आर्थिक लाभ हुन्छ । ढिला हुँदा सो दसी वा मालसामानको उपभोग्यता नाश हुन पुग्दछ । जफतबाट पनि राज्यलाई केही आर्थिक लाभ हुँदैन । त्यसैगरी अदालत प्राङ्गणभित्रको वातावरणीय प्रदुशण पनि निराकरण हुन्छ । त्यति मात्रै होइन, अदालत हाताको दृष्यावलोकन पनि आकर्षक हुन्छ, न्यायको मन्दिरलाई नर्क जस्तो हुनबाट बचाउन सकिन्छ ।
उपभोग्यताको संरक्षणः
अभियोग पत्रका साथ पेश हुन आउने दसी वा मालसामानहरुको सुरक्षणप्रति अदालत विशेष जिम्मेवार हुनु पर्दछ । कानुनको अभाव छ भने तुरुन्त दसी वा मालसामानको यथासमयमा न्यायोचित व्यवस्थापनमा वाधा पु¥याउने कानुन संसोधनको तत्काल प्रक्रिया अगाडि बढाउनु पर्दछ । मुद्धामा सफाई पाउँदा दसीका सामानको उपभोग्यता नाश भयो भने मालधनीले त्यसको क्षतिपूर्ति कसरी पाउने न्यायको मन्दिर अदालतको पनि चासो विषय हो । जफत हुने दसी वा मालसामान रहेछ भने पनि उपभोग्यता नास नहुँदै त्यसको प्रचलन गरियो भने जफतबाट राज्यलाई हुने आर्थिक लाभको अर्थपूर्ण सुरक्षण हुन्छ ।
कानुनी व्यवस्थाः
नियमले अभियोग पत्रसाथ दाखिल भएका दसीका मालसामानको परिमाण र प्रकृतिको कारणबाट अदालतमा सुरक्षित राख्न सकिने अवस्था नभएमा अदालतले खोजेका बखत दाखिल गर्ने गरी त्यस्तो मालसामान सुरक्षित तबरले राख्न सम्बन्धित निकाय वा व्यक्तिलाई थुनछेकका बखत आदेश दिन सक्ने व्यवस्था गरेको छ । जहाँसम्म जफतको दावी लिएको दसी वा मालसामानको सवाल हो, त्यसलाई लिलामको प्रक्रिया पुरा गरेर न्यायोचित व्यवस्थापन गर्ने कार्य नियमसम्मत नै हो ।
कानुनको खोटः
संहिता पछिको कानुनले दसी वा मालसामानको स्वामित्ववालाले जिम्मा लिन वा सकार्न चाह्यो भने प्राथमिकतामा पाउने व्यवस्था हटाएर कानुनी खोट स्वीकार गरेको छ । अभ्यासतर्फ हेर्दा शुरु तहमै मुद्धा चल्दाकै बखत मालसमानको स्वामित्ववाला धनिलाई थाहा जानकारी नै नदिई लिलामको प्रक्रिया पनि पुरा गरिएको छ । त्यही कानुनको खोटले फैसला नहुँदै लिलाम गर्न सफल भएको हो ।
निष्कर्षः
अभियोग पत्रका साथ पेश भएका दसी वा मालसामान यथासमयमा न्यायोचित व्यवस्थापन तर्फ न्याय प्रशासनको विशेष ध्यान जानु जरुरी छ । दसी वा मालसामानको अभिलेख राखेर त्यसको उपभोग्यताको सुरक्षण गर्न र अदालत प्राङ्गगणको कुरुपता हटाउने तर्फ न्याय प्रशासनले विशेष सक्रियता देखाउनु पर्दछ । जफतकै दावी लिएको भएपनि शुरु तहपनि फैसला नहुँदै स्वामित्ववालाले सकारेसम्म अरुले सकार्न नपाउने कानुनी व्यवस्था यथासिघ्र हुनु पर्दछ । दसी वा मालसामानप्रति अदालत प्रशासन भित्रैको आकर्षणका कारण कानुनी प्रक्रिया पु¥याएर भित्रभित्रै लैजाने मिल्ने प्रावधानहरु सबै खारेज हुनुपर्दछ ।
दशीप्रमाणको उपभोग्य सुरक्षण
previous post