राणाकालदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा समर्पित परिवार हो तनहुँ रुपाकोट खाल्टेको जोशी परिवार । सोही परिवारका सदस्य गोविन्दराज जोशीको पार्टी संगठनमा आफ्नो तीन पुस्ताको त्याग र समर्पण रहेको दावी विभिन्न सञ्चार माध्यम मार्फत सार्वजनिक भएकै छ ।
प्रतिबन्धित कालमा नेपाली काँग्रेसमा लागे वापत पञ्चायतले दुःख दिने, शिक्षक जागिरबाट विस्थापित गर्ने नियतबाट पटक पटक अपायक सरुवा गिरफ्तार, थुना, परिवारका सदस्यलाई दिएको मानसिक पीडा समेतको हैरानी पछि जागिरलाई भन्दा नेपाली काँग्रेसको संगठनलाई प्राथामिकतामा राखेर शिक्षक जागिर छाडेका जोशीले नेपाली काँग्रेसका कार्यकर्तालाई झुट्टा मुद्धामा फसाउने पञ्चायत प्रबृत्तिका विरुद्धमा लड्ने संकल्प गरे । कानुनका विद्यार्थी समेत रहेका जोशीले तनहुँमै वकालत शुरु गरेर आफ्ना कार्यकर्ताको कानुनी र व्यवहारिक संरक्षण गर्न थाले ।
प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने क्षमता भएका जोशीले २०३६÷०३७ सालको जनमत संग्रहमा जस्तै २०४६ सालको राजनीतिक परिवर्तन पछिको संसदीय निर्वाचनमा तनहुँको बर्चस्व देखाउन सफल भए ।
सत्ताराजनीतिमा प्रमुख सचेतकको भूमिकाबाट प्रवेश गरी आफ्नो क्षमता प्रदर्शन गरेका जोशीले शिक्षा, स्थानीय विकास, जलस्रोत, गृहमन्त्रालय समेत कूशलतापूर्वक सञ्चालन गरे । माओवादी द्वन्दले देश आक्रान्त भएका बेला प्रतिकूल परिस्थितिलाई वार्ताबाट पनि राज्यशक्तिको परिचालनबाट पनि अनुकूल बनाउन सफल भैसकेका जोशीको क्षमता देखेर देशीविदेशी राजनीतिक शक्तिहरु उनलाई लगाम लगाउन थाले ।
प्रतिकूलतालाई अनुकूलताः
नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहूँको कार्यालयमा नेपाली काँग्रेसका नेता शेखर कोईरालाले तनहुँका कार्यकर्ता माझ स्वीकार गरेको तथ्य हो कि माओवादीहरुसंग वार्ता गर्ने पहिलो समूह गोविन्दराज जोशी र शेखर कोईरालाको हो । सशस्त्र विद्रोहमा उत्रेको माओवादीसंग वार्ता गरेर केही परिमार्जन सहितको २०४७ सालकै संविधान अन्तरगत नेपालको राजनीतिको मूलधारमा आउन सहमत भएका माओवादीका लागि गिरिजाप्रसाद कोईरालाको कमजोर कुटनीति अबरोध बनेको तथ्य पछिल्ला दिनहरुमा सार्वजनिक भएकै छ । त्यसपछि पनि राज्यशक्ति परिचालन गरेर राजनीतिको शान्तिपूर्ण मार्गमा आउन बाद्य पार्ने योजनालाई जोशीले करिब करिब अनुकूल बनाई सकेका थिए । त्यो पनि राष्ट्रिय स्वार्थको विरुद्धमा प्रयोग भएको देशीविदेशी शक्तिले असफल तुल्याएका थिए । तत्कालिन राजा ज्ञानेन्द्र वीरविक्रम शाहको शाही शासन कालमा नेपाली काँग्रेसले ११औं अधिवेशन गर्नै नसक्ने अवस्था आएको थियो । त्योे प्रतिकूलतालाई पनि सहमहान्त्री रहेका जोशीको कार्यकुशलताले अनुकूल बनाएको थियो ।
प्रधानमन्त्रीलाई सहयोग गर्न २०५७ सालमा गृहमन्त्रीबाट राजीनामा दिएका जोशीको राष्ट्रवादी सोंच र सफल गृहप्रशासनको सञ्चालनबाट तर्सेका शक्तिकेन्द्रहरुले नेपाली काँग्रेसलाई कमजोर बनाउन खुमबहादुर खड्का, गोविन्दराज जोशीलाई कमजोर बनाउनु पर्ने निष्कर्ष निकाले । फलस्वरुप नेपाली काँग्रेसका जयप्रकाशप्रसाद गुप्ता, चिरिञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी समेतका नेताहरु माथि भ्रष्टाचारको मुद्धा लगाइयो । ब्प्न्द्य समूहका विजयकुमार गच्छेदार त्यतिबेला बचेपनि पछिल्लो समयमा फँसाइएको छ । त्यतिखेरको मुद्धा मध्ये गोविन्दराज जोशीको मुद्धा अहिलेसम्म अन्तिम फैसला भएको छैन ।काँग्रेस कमजोर बनाउने योजना अन्तर्गत लगाइएका ती मुद्धा र अहिले देशमा सत्ता संरक्षणमा मौलाएको भ्रष्ट्राचारहरु (३३ किलो सुन काण्ड, ललिता निवास काण्ड, ७० करोडको प्रिन्टिङ मेसिन खरिद काण्ड, अयोग्य लडाकूको नाममा भएको निकासा समेत) थुप्रै भ्रष्टाचार काण्डको तुलनात्मक अध्ययन गर्दा काँग्रेस कमजोर गराउन विदेशी शक्तिबाट प्रयोग भएको नेपालको राज्यशक्तिले नै भ्रष्ट्राचारको मुद्धा लगाएको भएर जोशी विरुद्धको मुद्धा झण्डै १८ बर्षसम्म पनि अन्तिम फैसला हुन नसकेको पुष्टि भईरहेको छ ।
गोविन्दराज जोशीले सम्हालेका मन्त्रालयहरुमा पछि मन्त्री हुनेहरुको भन्दा जोशीको बढी प्रभाव र अनुग्रहीत कर्मचारी मनोबृत्तिबाट इन्तु न चिन्तु भएका मन्त्रीहरु, ओझेलमा परेको महसुस गरेका समकक्षी काँग्रेस नेताहरु नेपाली काँग्रेसलाई कमजोर बनाउन इष्र्यालु प्रतिषोधमा विदेशीशक्तिबाट प्रयोग भए । फलतः नेपाली काँग्रेस हदैसम्मको कमजोर भएको छ । गोविन्दराज जोशी काँग्रेसको मूल धारबाट बाहिरिएपछि विदेशी शक्तिबाट प्रयोग हुने नेपाली काँग्रेसका नेताहरु माओवादीबाट पनि प्रयोग भए । नेपाली काँग्रेसको मूल सिद्धान्त छोडेर, धर्म निरपेक्षता र गणतन्त्र समेतका सिद्धान्तमा नेपाली काँग्रेसको नेतृत्व बहकियो । विधि र प्रक्रियाबाट नीतिगत निर्णय लिने भन्दा पनि नेतृत्वको ‘जंगे’ आदेशमा नीतिगत निर्णय लिने संकार काँग्रेसभित्र मौलायो ।
गोविन्दराज जोशीलाई कमजोर भएको देख्न चाहेका इष्र्यालु प्रतिषोधी संंकुचनका नेताहरु आज स्वयम् कमजोर भएका छन् । तर झण्डै १८ बर्ष सम्म निरन्तर थिचिरहँदा पनि जोशी काँग्रेसको आन्तरिक संगठनमा मात्रै होइन राष्ट्रिय राजनीतिमा समेत कमजोर देखिएका छैनन् ।
नेपाली काँग्रेसको १३औं महाधिवेशनबाट महासमितिको सदस्यमा निर्वाचित भएका जोशीलाई महासमितिको बैठकमा प्रवेश गर्नबाट रोक लगाउँदा, नेपाली काँग्रेसको साधरण सदस्यबाट निस्काशन गर्दा समेत काँग्रेसको आन्तरिक संगठन र राष्ट्रिय राजनीतिमा गोविन्दराज जोशी झनै शक्तिशाली भएर उदय भएको संकेतहरु देखिएको छ । नेपाली काँग्रेसका नेताहरु विमलेन्द्र निधि, रामचन्द्र पौडेल समेतले गोविन्दराज जोशी माथि भएको कारवाही गलत थियो । फुकुवा हुनुपर्दछ भनेर सार्वजनिक रुपमा र सभापति शेरबहादुर देउवा समक्ष समेत भनेको तथ्यले नेपाली राजनीतिमा गोविन्दराज जोशीको पुनरोदयको संकेत गरेको छ ।
राजनीतिक सम्पर्कः
नेपाली राजनीतिका जानकार विदेशी कुटनितिज्ञहरु नियमति संम्पर्कमा रहनु, नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोईराला लगायत निवासमै पुगेर अनि शेखर कोईराला नियमित सम्पर्कमा रहेर सहयोगको अपेक्षाभाव प्रकट गर्नुले नेपाली काँग्रेसको संगठन सुदृढिकरणका लागि गोविन्दराज जोशीको अभाव खड्केको महसुस नेपाली काँग्रेसले गरेको देखिन्छ । त्यति मात्रै होइन, विश्वशक्तिका रुपमा उदय भएका चीन र भारतका विरुद्ध गतिविधि सञ्चालन गर्न नेपाली भूमि प्रयोग गर्न खोज्ने साम्राज्यवादीहरुलाई असफल तुल्याउन पनि नेपालको राजनीतिमा प्रतिकुलतालाई अनुकुल बनाएर काम गर्न सक्ने राजनेता आवश्यक भएको महसुस ती उदयीमान शक्तिराष्ट्रहरुलाई भएको छ ।
जोशी विरुद्धका थिचाइहरुः
जोशीले राष्ट्रिय स्वार्थमा गृहमन्त्रीको हैसियतले चालेका कदमहरुले नेपालको स्वाभिमान माथि धावा बोलेको शक्तिको योजना विफल हुन लागेपछि गृहमन्त्रीबाट राजीनामा गर्न बाद्य पारियो । त्यसपछि, प्रयोग हुने असलपात्र पहिचान गरी गिरिजाप्रसाद कोईरालाको लगाम थमाइएको थियो । जोशीलाई अझै कमजोर बनाउन प्रमाण र तथ्यहिन झुट्टो भ्रष्ट्राचारको मुद्धालगाइयो । काँग्रेसको ११औ, १२औं र १३औं अधिवेशनबाट जोशीलाई सुनयोजित रुपमा केन्द्रिय सदस्यमा हराइयो । पछिल्लो पटक काठमाण्डौमा सम्पन्न महासमितिको बैठकमा भाग लिन दिइएन । हुँदाहुँदा नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी कारवाही गरियो ।
उर्जा पाएका जोशी
प्रतिकूल अवस्थासंग भिड्न सक्ने क्षमता भएकै कारण देशीविदेशी शक्ति लागेर निरन्तर झण्डै १८ बर्षसम्म लखेट्दा पनि गोविन्दराज जोशी भित्रको राजनीतिक उर्जा मरेको देखिदैन । झनै बढेर गएको देखिन्छ । जोशीलाई नैतिक रुपमा गिराउने प्रयास गर्नेहरुले नै आज नैतिक धरातल गुमाएका छन् । जोशीको नैतिक धरातल माथि उठेको छ । आत्मबल बढेको छ । जोशीका विरुद्धमा छाती फुलाएर सगर्व अग्रसर हुने नेताहरु आज घुँडा टेकेर हिजो गल्ति भएको स्वीकार गरिरहेका छन् ।