कस्तो होला त्यो बर्षको दशैं, कति रमामाईलो होला जब नेपालमा रोजगारीले बेरोजगारीलाई जित्नेछ । कानूनले असत्य र भ्रष्टहरु माथि विजय गर्नेछ । अन्याय न्यायसंग पराजित हुनेछ । वामेसर्दै गरेको बालक विकास जवान भएर दौडने छ । राजनीतिक अस्थिरता र मनमुटाव हाते मालोको ओझेलमा पर्नेछ । वास्तवमै सबै नेपालीको जीत भएको हुनेछ । सबै नेपाली खुशी हुनेछन् । साँच्चै कस्तो होला त्यो बर्षको दशैं । कहिले होला हामीले त्यस्तो दशै मनाउन पाउने ?
हिन्दु धर्मावलम्वीहरुको महान् पर्व दशै नजिकिंदै छ । त्यसो त हिन्दु धर्म संस्कृति अनुसार अनेकन पर्वहरु मनाईन्छन् । यी सबै चाडपर्वहरु मनाउनुको पछाडि अनेकन कारणहरु छन् । ती सबै पर्वहरु मनाउने चलन पनि भिन्न भिन्न प्रकारको छ र ती सबै पर्वहरुको आ–आफ्नो ठाउँमा धेरै ठूलो महत्व छ । तर पनि दशैलाई विशेष मानिन्छ । त्यसैले होला दशैलाई महान् पर्व वडादशै भनेर सम्बोधन गरिएको ।
दशैं ठ्याक्कै कहिलेदेखि मनाउन थालियो भन्ने कुराको जानकारी यो पङ्तिकारलाई छैन तर दशै किन मनाईन्छ भन्ने सम्म थोरबहुत जान्दछु, भन्ने लाग्छ । हिजो पङ्तिकारले विद्यालयमा गुरुहरुबाट दशैंको बारेमा जे सुनेको थियो, आज विद्यालयमा विद्यार्थीहरुलाई त्यह िसुनाउँछ । यो समय अवधिमा दशै किन मनाईन्छ भन्ने प्रसङ्गमा कहिँ कतै फेरबदल भएको सुनेको छैन, त्यसैले मलाई लागेको हो देशै किन मनाईन्छ भन्ने बारेमा थोरबहुत त जान्दछु । हुन त मेरो यो आलेख तयार गर्नुको तात्पर्य दशै किन मनाईन्छ भन्ने पक्षलाई उजागर गर्नु होइन र पनि संक्षिप्तमा समेट्न चाहन्छु । दानब महिषासुरको बध गरेर संसारलाई पाप र अत्याचारले पराकाष्ठा नाघेपछि शक्ति माता देवी दुर्गाले उसको बध गरेर संसारलाई पाप र अत्याचारबाट मुक्ति दिलाएको खुसियालीमा दशै मनाईन्छ । भनिन्छ यो महायुद्ध नौ दिनसम्म चलेको थियो र दशौ दिनमा देवी दुर्गाले दानव महिषासुरको बध गर्नु भएको हो । शायद त्यसैले होला दशैंलाई घटस्थापना देखि शुरु गरी नौ दिनसम्म विविध पुजा अर्चना गरु दिशौ दिनमा विजया दशमीको रुपमा मनाइँन्छ । हिन्दु धर्म सस्कृति अनुसार दशैैंलाइ दानव माथि देवताको असत्य माथि सत्यको विजय उत्सवको रुपमा लिईन्छ । त्यसैले पनि यसको विशेष महत्व रहेको होला ।
दशैंको समयमा सम्भव भएसम्म परिवारका सबै सदस्य भेट भइन्छ । घरमा रंग रोगन लगाउनेदेखि नयाँ लत्ताकपडा खरिद गर्ने मिठो मसिनो खाने, आफू भन्दा ठूलाको हातबाट टिका जमरा लगाइ आर्शिवाद लिने काम गरिन्छ । एक आपसमा खुशी साटासाट गरिन्छ, शुभकामना आदान प्रदान हुन्छ । समग्रमा भन्दा दशै खुशीयालीको पर्व हो ।
हिजो नेपाल अधिराज्यको संविधान २०४७ रहँदाको अवस्थासम्म यसैलाई नेपालीहरुको महान पर्व भनिन्थ्यो । तर आजको अवस्थामा संविधानले राज्यलाई धर्म निरपेक्ष घोषणा गरेको हुँदा हिन्दु धर्मावलम्बीहरुको महान पर्व भन्ने गरिन्छ । कतिपय अवस्थामा आदिवासी जनजातीहरुले दशैंको रातो टिका र जमरा खस आर्य जातिहरुले आफू माथि शासन गर्न लगाएको दासत्वको चिन्ह हो भन्दछन् र दशैं बहिष्कार गर्नु पर्ने तर्क प्रस्तुत गर्दछन् । यो दशैंसंग सम्बन्धित राजनीति पाटोको कुरा हो । यस बारेमा सबैको आ–आफ्नै तर्क होलान्, विचार होलान् । खैर यो विषय बस्तुको बारेमा यहाँ कुरा नगरौं होला किनभने मलाई यतिखेर अर्कै प्रश्नले चिमोटि रहेको छ ।
दशैंलाई हामी सत्यको जीतको पर्वको रुपमा मनाउँदछौं । खुशीयालीको पर्वको रुपमा मनाउँदछौं । तर दशैं मनाउँदै गर्दा के नेपाली नागरिक साँच्चिकै खुशी छन् ? के वास्तवमै नेपाली जनताको जीत भएको छ ? आज पनि लाखौं नेपाली युवाहरु विदेशमा आफ्नो रगत पसिना बेचीरहेका छन् । लाखौं युवाहरु हातमा स्नातक र स्नातकोत्तर तह पास गरेको प्रमाण पत्र बोकेर बेरोजगार घुमीरहेका छन् । विकासको गति आज पनि नेपालमा बामेसर्न सिक्दै गरेको कछुवाको जस्तो छ । निर्मला पन्त जस्ता बलाकृत नेपाली चेलीको आत्मा आजपनि न्यायको लागि तडपिदै छ । आज पनि नेपालमा दश बीस हजार घुस लिने कर्मचारीलाई मात्र कानूनले समाउन सक्दछ । करोडौ अरबौं भ्रष्टाचार गर्नेहरुको छेउसम्म पनि कानून पुग्न सक्दैन । नेपालको विधि र न्याय आज पनि पैसा र पावरको चेपुवामा परी निशास्सी रहेको छ । यस्तो अवस्थामा आफ्नो जीवनसंग हारेर दन्त्य कथामा देउताले राक्षस मारेको सम्झेर रमाउनुको के तात्पर्य ? म दावाका साथ भन्न सक्दछु आज पनि नेपाली नागरिकलाई रमाउन पौराणीक वा दन्त्य कथा भन्दा अर्को कुनै आधार छैन ।
के निर्मला पन्त जस्ता चेलीको बाबु आमाले नेपालमा बसेर बस्तवमै दशैलाई असत्य माथि सत्यको जीतको रुपमा मनाउन सक्लान ? टिका लगाएर आर्शिवाद दिनु पर्ने विदेशमा रहेको एक्लो सन्तानलाई सम्झिएर रुँदै कुन चाँहि बाबुआमाको दशैं रमाईलो होला ? श्रीमानको हात समाउँदै माइत जानुपर्ने दशैले बाकसमा वन्द भएर आएको आफ्नो श्रीमानको झल्को दिलाउँदा कुन चाँहि नेपाली चेलीको दशैैं खुशीमा वित्ला ? नयाँ लागुमा सजिएर ठाँटिने उमेरमा एक जोर लुगा थप्न बाबुआमाको भर पर्नुपर्ने बेरोजगारलाई दशैंको कुन रौनकताले छोला ? दशैमा आफ्ना नाति नातिनालाई दक्षिणा दिन छरछिमेकसंग सापटी खोज्नु पर्ने अवस्थाका बुढा बाजेबज्यै के साँच्चै दशैंमा खुशी होलान् ? ज्याला मजदुरी गरेर साँझ विहान हातमुख जोड्ने एउटा गरिबलाई के दशैं मनाउँन राष्ट्रपति र प्रधानमन्त्रीले दिने शुभकामना प्रयाप्त हुन्छ ? अहँ कदापि हुँदैन ।
यस्ता धेरै पक्षहरु जहाँ नेपाली नागरिकले हारेका छन् र हामी दन्त्य कथाको जीत सम्झेर रमाउनु परेको छ । शक्तिकी देवी दुर्गालाई खुशी पार्न नौ दिनसम्म पुजा गर्दा आफ्नो छोरीको न्यायको पर्खाइमा दिन रात रोईरहेकी कञ्चनपुरकी दुर्गादेवीलाई हामी कसरी भुल्न सक्दछौं र ? दशैं राष्ट्रिय पर्व होइन । यो एउटा धार्मिक पर्व नै हो । यसमा बहस गर्न जरुरी छैन सायद । र पनि बहूसंख्यक नेपाली जनताले मनाउने दशैं त्यतिखेर अझ सान्दर्भिक हुन्छ होला जब वास्तवमै सबै नेपालीको जीत भएको हुन्छ । मलाई दशैं बच्पनमै खुब रमाईलो लाग्दथ्यो । नयाँ लुगा लायो, मिठो खाएको, टिका लगाएर दक्षिणा पाएको, पास दशका नोट जतन गरेर राख्यो । स्कूल पनि जान नपर्ने, न आफ्नो चिन्ता, न परिवारको, न त देशको नै । आजकल दशैं त्यतिविधि रमाईलो लाग्न छाडेको छ । यसो सोच्दछु, कस्तो होला त्यो बर्षको दशैं, कति रमामाईलो होला जब नेपालमा रोजगारीले बेरोजगारीलाई जित्नेछ । कानूनले असत्य र भ्रष्टहरु माथि विजय गर्नेछ । अन्याय न्यायसंग पराजित हुनेछ । वामेसर्दै गरेको बालक विकास जवान भएर दौडने छ । राजनीतिक अस्थिरता र मनमुटाव हाते मालोको ओझेलमा पर्नेछ । वास्तवमै सबै नेपालीको जीत भएको हुनेछ । सबै नेपाली खुशी हुनेछन् । साँच्चै कस्तो होला त्यो बर्षको दशैं । कहिले होला हामीले त्यस्तो दशै मनाउन पाउने ?